ठेक्का सम्झौता अवधि पुरा हुन एक महिना बाँकि रहँदा बुटवल-नारायणगढ सडक निर्माणको काम मात्र १९ प्रतिशत पुरा भएको छ।
साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि २०७५ पुसमा गरिएको ठेक्का सम्झौताअनुसार २०७९ साल साउन २२ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख थियो।
तर साढे तीन वर्षको अवधि पुरा हुँदा सडक निर्माणको २० प्रतिशत काम पनि नसकिएको हो।
२०७५ साल पुसमा ठेक्का सम्झौता गरिए पनि सोहि वर्षको चैत ८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको शिलान्यास गरेपछि मात्रै सडक निर्माणको काम अगाडि बढाईएको थियो।
ठेक्का सम्झौता गरिएको ४१ महिना पुरा हुँदा जम्मा १९ प्रतिशत मात्रै भौतिक प्रगति भएको सडकको यही गतिमा काम अगाडि बढे सडक निर्माणका लागि अझै १४ वर्ष लाग्ने देखिएको छ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवलदेखि नारायणगढ सम्मको १ सय १३ किलोमिटर सडकखण्डलाई दुई भागमा ठेक्का सम्झौता गरि विस्तारको काम थालिएको छ।
पूर्वी खण्ड अन्तर्गत गैंडाकोटदेखि दाउन्ने पहाडसम्मको ६५ किलोमिटर सडक खण्ड ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडक खण्ड ७ अर्ब ८६ करोड ३४ लाख रूपैयाँ गरि कुल १६ अर्ब ९९ करोड रूपैयाँमा ठेक्का सम्झौता गरि चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले सडक निर्माणको काम अगाडि बढाईरहेको छ।
सडक निर्माण सम्पन्न भएपछिको ४ वर्षसम्मको मर्मत सम्भारको काम पनि निर्माण कम्पनीले गर्ने गरी सम्झौता गरिएको छ।
सडक निर्माण सुरू भएसँगै कोरोना महामारी र रूख काट्ने र विद्युतका पोल सार्न ढिलाई हुँदा समयमा सडक निर्माणको काम सुरू गर्न नसकिएको आयोजनाले जनाएको छ।
आयोजनाका परामर्शदाता सुशन श्रेष्ठका अनुसार पहिले नै काम सुरू गरिएको भए पनि धेरै जंगल क्षेत्र रहेकोले दाउन्नेदेखि गैंडाकोट खण्डको ६५ किलोमिटर सडकको १८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
पश्चिम खण्ड अन्तर्गत दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकको पनि २० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
सुरूआती चरणमा वातावरणीय प्रभाव मूल्यांकनमा ९ हजार रूख काट्नुपर्ने देखिए पनि काम सुरू गर्ने बेला झण्डै ५० हजार रूख कटान गर्नुपर्ने देखिएपछि काममा ढिलाई भएको थियो।
पछि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन गर्दा देखिएभन्दा थप रुख कटानको लागि स्वीकृति दिएपछि बल्ल रुख कटानको काम अगाडि बढाईएको थियो।
त्यस्तै सडक निर्माण गर्दा झण्डै पाँच हजार विद्युतका पोल सार्नु पर्दा पनि काममा ढिलाई भएको आयोजनाले दाबी गरेको छ।
बुटवल-नारायणगढ सडक निर्माणको क्रममा पूर्वी खण्डमा २ हजार ४ सय ८५ र पश्चिम खण्डमा २ हजार ३ सय ५४ वटा विद्युत पोल सार्नुपर्ने हुन्छ।
चाइना स्टेट कन्स्ट्रक्सनका डेपुटी कन्ट्याक्ट म्यानेजर राजेश झाका अनुसार निर्धारित समयमा सडक निर्माणको काम नसक्ने भएपछि आगामी २०२४ अगस्टसम्म म्याद थपका लागि निवेदन दिएको छ।
‘२०२४ अगस्टमा काम सक्ने गरी दुई वर्षको म्याद थपको माग गरेर निवेदन दिएका छौं’, उनले भने।
१ सय १४ किलोमिटरको यो सडक सहरी क्षेत्रमा ६ लेन, जंगल तथा ग्रामिण क्षेत्रमा ४ लेन र दाउन्ने खण्डमा तीन लेनको मात्रै हुने छ।
देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मध्य भागमा पर्ने यो सडक पूर्व-पश्चिम जोड्ने एक मात्र सडक हो। यसको विकल्पमा अरू कुनै सडक नहुँदा देशका अधिकांश स्थानमा जाने हजारौं सवारी साधन सडक निर्माणकै क्रममा यही सडक भएर दैनिक ओहोरदोहोर गरिरहेका हुन्छन्।
सन् १९७२ सालमा निर्माण गरिएको यो सडक विस्तार शुरू गर्नुअघि वर्षौसम्म मर्मत सम्भार नगर्दा खण्डहरू बनेको थियो।
विगत तीन वर्षदेखि सडक निर्माणको क्रममा पुल, कल्भर्ट र सडक किनार भत्काएर अस्तव्यस्त पारिँदा यो सडकको यात्रा कष्टपूर्ण बनेको छ।
सडकको कुल लागत करिब १९ अर्बमध्ये एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोग छ भने नेपाल सरकारको १५ प्रतिशत लगानी रहेको छ।
१ दशमलव ५ प्रतिशत व्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरि एसियाली विकास बैंकले नेपाल सरकारसँग ऋण सम्झौता गरेको हो।