केही दिनदेखि सानुकान्छा महर्जन ललितपुरस्थित किष्ट मेडिकल कलेजमा बिरामी कुरूवा बसिरहेका छन्।
काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगर बस्ने उनी श्रीमती राधा र साला हरिगोपाल प्रजापतिको कुरूवा बसेका हुन्।
राधाको बुधबार मात्रै मिर्गौला प्रत्यारोपण गरिएको हो। शंखरापुर नगरपालिका-६ साँखुका भाइ हरिगोपालले राधालाई मिर्गौला दिएका हुन्।
उनको मिर्गौला प्रत्यारोपण गरेपछि सानुकान्छा अहिले ढुक्क छन्। धेरैपछि खुसी पनि छन्। राधाको मिर्गौला प्रत्यारोपण गर्न उनलाई सहज भने भएको थिएन।
राधा र हरिगोपाल एकै आमाबुवाका सन्तान हुन्। भाइले आफ्नै दिदीलाई मिर्गौला दिन चिकित्सकले हुन्छ भने पनि उनीहरूको नागरिकता बाधक बनेको हो।
राधा सुगरकी बिरामी थिइन्। उनलाई सुगर भएको १८ वर्षभन्दा बढी भइसकेको थियो। त्यसैबीच २०७६ चैत ११ गते लकडाउन भयो।
कोरोना भाइरसको महामारीले देश नै ठप्प बनेपछि राधाको उपचारमा पनि असर पर्यो। उनले नियमित खाँदै आएको औषधी पनि खान पाइनन्।
‘त्यतिबेला सबै ठप्प भयो। त्यसपछि राधाले पनि औषधी छाडेर बसेकी रहिछन्,’ सानुकान्छाले सेतोपाटीसँग भने,‘औषधी खान छाडेको नै तीन महिना भइसकेको रहेछ। मलाई पनि त्यतिबेला थाहै भएन।’
राधाले औषधी छाडेको कुरा कसैलाई पनि भनिनन्। नियमित जाँच गर्नको लागि जानुपर्ने पनि कोरोनाभाइरसको कारणले उनीहरू गएनन्।
‘चेकअप गर्न जाऔंभन्दा पनि डाक्टरहरूले पनि नजिकबाट हेर्दैनन्। टाढाबाट मात्रै हेर्ने हो भन्ने कुराहरू सुनेपछि हामी पनि गएनौं,’ उनले भने, ‘तीन महिना जे छ त्यही खाएर बस्यौं। त्यसो भएपछि समस्या हुन थाल्यो।’
सरकारले दसैंको लागि लकडाउन खुला गर्दासम्म राधाको स्वास्थ्यमा पनि समस्या आइसकेको थियो। दसैंलगत्तै सानुकान्छाले राधालाई सुमेरू अस्पतालमा लगेर भर्ना गरिदिए।
त्यहाँ गएपछि सुरूमा चिकित्सकहरूको सुझावअनुसार डायलासिस गराउन थालेको थियो। राधाले निरन्तर करिब १८ महिना डायलासिस गरेपछि उनको दुबै मिर्गौलामा समस्या देखिन थाल्यो।
त्यसो भएपछि डाक्टरहरूले उनलाई मिर्गौलाको डोनर खोज्न सुझाए। सुझावअनुसार घर परिवारमा सरसल्लाह हुन थाल्यो। त्यसको लागि हरिगोपाल मिर्गौला दिन तयार भए।
राधाका दुई जना दिदी र दुई जना भाइ छन्।
हरिगोपालले मिर्गौला दिन तयार त भए तर उनले आफ्नै दिदीलाई मिर्गौला दिन पाइरहेका थिएनन्। सुरूमा सुमेरू अस्पतालमा उपचार गराइरहँदा औषधीको अभाव भएपछि दुई महिना प्रत्यारोपण गर्ने काम रोकिएको सानुकान्छा बताउँछन्।
फेरि औषधी आएको बेलामा पनि उनीहरूले प्रत्यारोपण गराउन सकेनन्।
‘सुरूमा औषधी नभएको कारणले दुई महिना जति त प्रत्यारोपण नै गर्न सकिएन। पछि फेरि औषधी आयो भन्यो। तर उहाँ फेरि बिरामी भएर आइसियू नै बस्नुपर्ने भयो,’ उनले भने, ‘सुमेरूमै ६ दिन अस्पतालमा भर्ना हुनुभयो। फेरि डाक्टरले स्वास्थ्यको उपचार गर्दा अहिले मिल्दैन भन्नुभयो।’
डाक्टरले त्यत्तिबेला मिर्गौला प्रत्यारोपण गरे पनि कुनै अर्थ नहुने बताएपछि त्यतिबेला पनि रोकियो। डाक्टरले नै केही महिना कुर्नुस् भनेपछि उनीहरूले पनि कुरे।
दुई महिनासम्म पनि अस्पतालबाट उनीहरूलाई कुनै जानकारी आएन। त्यसो भएपछि सानुकान्छा र राधा आफैं अस्पताल पुगेर प्रत्यारोपण गर्न जानेबारे बुझ्न गए।
त्यतिबेला उपचार गराएका डाक्टरको टोली नै मेडिसिटी अस्पताल गइसकेको उनले बताए।
‘अपरेशन गर्ने बेला भयो कि भनेर अस्पताल गएका थियौं। तर डाक्टहरूको टिम नै मेडिसिटी अस्पतालमा जानुभइसकेको रहेछ,’ उनले भने।
त्यहाँ अपरेशन नहुने अवस्था आएपछि उनीहरू केही महिनाअघि किष्ट अस्पताल पुगे। सुमेरू अस्पतालमा अपरेशन गर्न तयार भएको हुँदा यता पनि अपरेशन गर्न कुनै समस्या आउला जस्तो सानुकान्छालाई लागेको थिएन।
तर त्यहाँ पुग्दा उनलाई झन् समस्या पर्यो।
मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५ अनुसार कुनै पनि बिरामीका नजिकका नातेदारले मात्रै अंग दिन सक्नेछ। त्यस्तै अंग दान दिने वा लिन चाहने व्यक्तिले नाता खुलेको व्यहोरा खोलेर स्वीकृतिको लागि समिति समक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्छ।
अस्पतालले तोकेको ढाँचामा राधा र उनका भाइ हरिगोपालले किष्ट मेडिकल कलेजको स्वीकृति समितिमा निवेदन पठायो।
उनीहरूले शंखरकापुर-६स्थित वडा कार्यालयबाट पनि साक्षी सर्जमिन गरेर नाता खुलाएका थिए।
समितिले प्रत्यारोपण गर्न स्वीकृति दिएन। किनभने निवेदनसँगै पेश भएको नागरिकतामा भाइ हरिगोपाल दिदी राधाभन्दा जेठा थिए।
राधाको नागरिकतामा जन्म मिति २०२९/१०/१५ गतेको छ। उनका भाइ हरिगोपालको नागरिकतामा भने जन्ममिति २०२९/९/ २२ गतेको छ।
नागरिकतामा एकै आमाबाट जन्मिएका उनीहरू एकै सालमा २३ दिनको अन्तरालमा जन्मिएको उल्लेख भएपछि समितिले स्वीकृति दिएन।
किष्ट मेडिकल कलेजको मिर्गौला प्रत्यारोपण स्वीकृति समितिले सिफरिसको लागि नागरिकता सच्चिनु पर्ने अडान लियो।
सानुकान्छाका अनुसार राधा २०२७/१०/१५ गते जन्मिएकी हुन्। तर नागरिकतामा राखिएको जन्म मिति नै त्रुटी भएपछि उपचारमा बाधा पर्यो।
उनी बिरामीसमेत रहेकी राधालाई लिएर पनि प्रशासन कार्यालयमा धाए। तर उनको नागरिकता प्रशासन कार्यालयले सच्याइदिएन।
‘अस्पतालले हामीलाई जन्ममिति नसच्याई हुँदैन भनेपछि ठिकै छ सच्याएर ठिक हुन्छ भनेपछि म साँखु पुगे। मेरी श्रीमतीको माइती साँखु हो। त्यहाँबाट राम्ररी नै कागजहरू सबै तयार गरिदिनुभयो। त्यहाँबाट हामी जिल्ला प्रशासन कार्यालय काठमाडौं गयौं,’ उनले भने,‘त्यहाँ जाँदा यो नागरिकता कुनै हालतमा पनि सच्चिँदैन। हुँदै हुँदैन भन्नुभयो।’
प्रशासनले नागरिकता सच्याउन नमिल्ने बतायो भने अस्पतालले पनि नसच्ची मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भन्यो।
त्यसो भएपछि सानुकान्छा पीडामा थिए। त्यहीबेला अस्पतालका चिकित्सकहरूले पनि उनलाई सुझाव दिए- अदालत जानू।
अदालतले फैसला गर्नबित्तिकै प्रत्यारोपण पनि गरिदिने चिकित्सकहरूले बताएका थिए।
अदालत जाँदा समाधान हुने सक्ने भएपछि राधा असार ७ गते उच्च अदालत पाटन पुगिन्। उनले किष्ट मेडिकल कलेज, जिल्ला प्रशासन कार्यालय, काठमाडौंसहित ६ जनालाई विपक्षी बनाएर उपचारको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन्।
राधाको तर्फबाट अधिवक्ता विनोद फुँयाल र निमराज बुढाले बहस गरेका थिए।
अदालतले भोलिपल्टै राधाको पक्षमा आदेश दियो।
रिट निवेदकको बाँच्न पाउने अधिकार र नेपालको संविधानको मौलिक हक अन्तर्गतको स्वास्थ्यसम्बन्धी अधिकार तथा मानव अधिकारको रक्षा गर्दै अदालतले समयमा रिट निवेदकले उपचार नपाएको अवस्थामा बाँच्न पाउने र स्वास्थ्यसम्बन्धी हकबाट बञ्चित हुने देखिइ अबिलम्ब बिरामीको मिर्गौला उपचार कार्य सुचारू गर्नू र निवदिकाको हकमा मिर्गौला प्रत्यारोपण कार्य नरोक्नू भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको थियो।
निवेदकको तर्फबाट बहस गरेका फुँयाल र बुढाले शंखरापुर नगरपालिका-६ साँखुबाट गत मंसिरमा नाता प्रमाणितसम्बन्धी गरेको सिफारिस पत्र, गत जेठ ३१ गते सर्जमिन मुचुल्का तथा वैज्ञानिक रूपमा परीक्षण भई आएको आरोग्य स्वास्थ्य प्रतिष्ठानमा गरेको परीक्षणको रिपोर्ट पनि पेश गरेको थियो।
सो रिपोर्टले पनि उनीहरू दिदी-भाइ हुन् भन्ने प्रमाणित गरेको छ।
त्यसलाई आधार बनाएर न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले मिर्गौला प्रत्यारोपण गर्न सक्ने देखियो भन्दै आदेश जारी गरेको हो।
‘यी रिट निवेदीका मिर्गौला ग्रहणकर्ता दिदी र मिर्गौला दाता भाइ भन्ने तथ्य वैज्ञानिक परीक्षण समेतबाट प्रमाणित भइसकेको अवस्थामा मानव शरिरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १४० को उपदफा (१) को खण्ड (क) तथा दफा २ (ठ) बमोजिम निवेदीका मिर्गौला गृहणकर्ता र मिर्गौलादाता हरिगोपाल प्रजापति दिदी भाइ भई नजिकको नातेदार भित्रको देखिइ आफ्नो अंग दान गर्न सक्ने व्यक्ति भन्ने देखियो,’ आदेशमा भनिएको छ।
सोही आदेशलाई आधार मानेर किष्ट मेडिकल कलेजले उपचार प्रक्रिया अगाडि बढाएको हो। आदेश आएपछि सबै प्रक्रिया सकाएर किष्ट मेडिकल कलेजले बुधबार उनमो मिर्गौला प्रत्यारोपण गरेको छ।
किष्टका प्रमुख प्रशासकीय अधिकृत अक्षयप्रसाद गौतमका अनुसार मिर्गौला प्रत्यारोपण कुशलतापूर्वक सम्पन्न भएको छ। दुबै बिरामीहरूको स्वास्थ्यमा पनि उल्लेख्य रूपमा सुधार भएको उनले बताए। उनले दुबै जना केही दिनमा नै घर जानसक्ने बताए।
अस्पतालका चिकित्सकहरूले पनि मुद्दा हारे पनि प्रत्यारोपण गर्न पाउँदा आफूहरू खुसी नै भएको बताएका छन्।
‘अपरेशन पछि डाक्टरहरूले अपरेशन एकदमै राम्रो भएको बताउनुभयो। हामी पहिलो पटक मुद्दा हारे पनि अपरेशन गर्न पाउँदा खुसी नै भएको बताउनुभएको थियो,’ उनले भने।
अहिले बिरामी हिँड्न थालिसकेको सानुकान्छाले बताए।
‘अघि बिरामीलाई यसो हेर्नुपर्यो भनेर अघि गएको थिएँ। हेर्न जाँदा त बिरामी शौचालयबाट हिँडेर आउनुभएको देखेँ मैले,’ उनले भने,‘त्यो देखेपछि यत्ति धेरै खुसी लाग्यो कि केही भन्नै सक्दिनँ।’