‘आजको प्रश्नबाट प्राविधिक मित्र र म टीकाराम घिमिरेको नमस्कार!’
‘तिलोत्तमा एफएम रेडियो’ मा यसरी सुमधुर आवाज दिएर टीकारामले दिन सुरू गर्छन्। उनको आवाज सुनिन थालेको ठ्याक्कै १० वर्ष भयो।
उनलाई ७१ वर्षका बुबाले स्कुटरमा पछाडि राखेर हरेक दिन बिहान छ बजे रेडियोमा पुर्याउँछन्।
टीकारामको रेडियो प्रेम चार वर्षको उमेरमै सुरू भएको हो। त्यो समय अहिले जसरी छ्यापछ्याप्ती एमएम रेडियो थिएनन्। उनी जन्मेको गुल्मीको मालिका गाउँपालिका, ह्वाँदीमा रेडियो नेपाल सुनिन्थ्यो।
बुबा दामोदर उपाध्याय पिँढीको एउटा खम्बामा रेडियो झुन्ड्याउँथे, सबैले सुन्ने गरी बज्थ्यो। टीकारामलाई पनि रेडियो सुन्ने बानी पर्यो।
रेडियो नेपालबाट बज्ने समाचार, घटना र विचार, साथीसँग मनका कुरा उनका प्रिय कार्यक्रम थिए। बिबिसी नेपाली सेवा पनि सुन्थे। टीकाराम ध्यान दिएर रेडियो सुन्थे र केहीबेरमा जस्ताको तस्तै सुनाउँथे। उनको बालसुलभ शैली सबैलाई मन पर्थ्यो।
रेडियो धेरै सुनेको भनेर बुबा कहिलेकाहीँ सजायको डर देखाउँथे।
उनले भने, ‘मैले रेडियो धेरै बजाएँ भनेर बुबा रेडियोसँगै सिस्नो लगेर राखिदिनुहुन्थ्यो। मेरोचाहिँ साथी भनेकै रेडियो थियो।’
२०५३ सालमा जन्मेका टीकाराम जन्मजात दृष्टिविहीन हुन्। उनीका दाजु दधिराम पनि दृष्टिविहीन नै थिए।
हुर्किंदै जाँदा जति बेला पनि बोलिरहने घरको रेडियो नै साथी भयो।
टीकाराम भन्छन्, ‘आँखा नदेख्ने भएपछि घरबाहिर गएर खेल्न सक्ने भएन। घरमा खेल्ने साथी पनि भएन। एक्लै बोलिरहने रेडियो नै मेरो साथी भयो।’
बाल्यकालको साथी त्यही रेडियो अहिले भने परिवार पाल्ने माध्यम बनेको छ।
टीकाराम १५ वर्षको उमेरमा २०६८ सालमा पहिलो पटक ‘रेडियो लुम्बिनी’ मा ‘बाल कार्यक्रम’ मार्फत् रेडियोकर्ममा प्रवेश गरे। अहिले उनी तिलोत्तमा एफएमको स्टेशन म्यानेजर छन्।
सानै उमेरमा रेडियो सुन्ने बानी परेर रेडियोमा बोल्ने सपना देखेका टीकाराम सपनाले मात्रै स्टेशन म्यानेजरको जिम्मेवारीसम्म पुगेका होइनन्। यसमा उनले धेरै संघर्ष गर्नु परेको छ।
टीकाराम पढाइमा तेज थिए। दामोदर एउटालाई काँधमा र एउटालाई पिठ्युँमा बोकेर दृष्टिविहीन दुबै छोरालाई स्कुल पुर्याउँथे। स्कुल छुट्टी भएपछि उसै गरी घर लैजान्थे। हुर्कंदै गरेका छोराहरूलाई यसैगरी दिनहुँ स्कुल पुर्याउनु सहज थिएन।
तिलोत्तमाको मणिग्राममा दृष्टिविहीनले पढ्ने स्कुल छ, शान्ति नमुना मावि। यसबारे थाहा पाएपछि दामोरदर दम्पती २०६० सालमा त्यतै बसाइँ सरे। बाबुआमा शिवपुरमा बसे। टीकाराम शान्ति स्कुलमा भर्ना भएर छात्रावासमा बस्न थाले।
रेडियो सुन्ने आदत झन् गाढा हुँदै थियो। त्यो समय स्कुलका होस्टल इन्चार्ज थिए कृष्ण केसी। उनी रेडियो लुम्बिनीका प्राविधिक पनि थिए। कृष्णले दृष्टिविहीन विद्यार्थीहरूका लागि छात्रावासमा सबैले सुन्ने गरी रेडियो राखिदिएका थिए।
छात्रावास पुगेपछि टीकारामले नजिकै रेडियो स्टेशन छ भन्ने थाहा पाए। उनलाई रेडियोमा बोल्न पाए हुन्थ्यो भन्ने लाग्यो, चाहना प्रबल हुँदै गयो।
शान्ति माविमा भर्ना भएको चौथो वर्ष चार कक्षामा पढ्दै गर्दा २०६४ सालको एक दिन उनी रेडियो लुम्बिनी पुगे। बाल कार्यक्रममा सहभागीको रूपमा बोल्ने चाहना थियो। अरू साथी पनि थिए तर उनीहरू रेडियोमा बोल्न पाएनन्।
टीकाराम रेडियो धाउन छाडेनन्। दुई महिनापछि एकदिन बोल्ने अवसर पाए।
‘दुई महिना धाएपछि २०६४ साल भदौ ४ गतेको बाल कार्यक्रममा सहभागीको रूपमा बोल्ने अवसर पाएँ तर रेडियोको माइकनेर बोल्दा डरले आवाज नै निस्किएन,’ उनले भने, ‘नमस्कार, मेरो नाम टीकाराम घिमिरे हो भन्नेबाहेक केही पनि बोल्न सकिनँ।’
पहिलो दिन बोल्न डराए पनि रेडियोमा जान छाडेनन्। यसै क्रममा एक पटक रेडियो तालिममा भाग लिने अवसर पाए। नियमित भेटघाट र छोटो तालिमले उनलाई म पनि कार्यक्रम चलाउन सक्छु भन्ने हिम्मत आयो।
दिन बित्दै गयो। रेडियोमा जाने र भेटघाट गर्ने काम जारी रह्यो। चार वर्षपछि २०६८ मा साताको एक दिन शुक्रबार बाल कार्यक्रम चलाउने अवसर पाए।
‘२०६८ सालको चैत १२ गते पहिलो बाल कार्यक्रम चलाएँ। मेरो बसाइ, माइक्रोफोन र अन्य कुरा प्राविधिक दाइहरूले मिलाइदिनुहुन्थ्यो,’ टीकारामले भने, ‘तीन वटा कार्यक्रम रेकर्ड गरेर चलाएँ। चौथो कार्यक्रममा लाइभ चलाउन सुरू भयो।’
यसरी बाल कार्यक्रमबाट सुरू भएको उनको रेडियो यात्रा समाचार, अपांगता सरोकार, आजको सन्दर्भ हुँदै अहिले स्टेशन म्यानेजरको जिम्मेवारीमा पुगेको छ। नौ कक्षामा पढ्दा आफूजस्तै दृष्टिविहीनहरू कसरी पढ्छन् भनेर उनले पहिलो पटक रेडियो रिपोर्ट तयार गरेका थिए।
२०६९ साल वैशाखको एक दिन ‘हाम्रा प्रशिक्षार्थी पत्रकार टीकाराम घिमिरेले तयार गरेको रेडियो रिपोर्ट’ भनेर प्रसारण भयो। टीकारामको खुसीको सीमा रहेन। उनले भने, ‘रेकर्ड गरेर धेरै पछिसम्म सुनें। समाचार बुलेटिनमा आफ्नो आवाजमा रिपोर्ट बज्दा संसार जितेजस्तै भान परेको थियो।’
टीकारामले दश वर्ष रेडियो लुम्बिनीमा काम गरे। विभिन्न कार्यक्रम चलाए, समसामयिक विषयमा जानकारहरूसँग अन्तर्वार्ता लिए। रेडियोबाटै उनी ‘टीकाराम’ भनेर समाजमा चिनिए।
उनी भन्छन्, ‘म आँखा नदेख्ने भए पनि रेडियोको माध्यमबाट सबैको घरघरमा पुग्न पाएको छु, समुदायसँग प्रत्यक्ष जोडिन पाएको छु, समाज बुझ्ने र समाजलाई आफूजस्तै फरक क्षमता भएका व्यक्तिका भावना बुझाउन पाएको छु।’
रेडियो लुम्बिनीको दश वर्षको अनुभवले उनलाई रेडियो तिलोत्तमाको स्टेशन म्यानेजर बन्ने बाटो बनाइदियो। अहिले रेडियोमा कार्यक्रम चलाउने मात्रै होइन, रेडियो सञ्चालनको जिम्मेवारी उनको काँधमा छ।
‘दश वर्ष पहिले रेडियो प्रवेश गर्दा मेरो उद्देश्य र सपना नै रेडियोबाट आवाज सुनाउने मात्रै थियो,’ टीकाराम भन्छन्, ‘अहिले रेडियोले उठाउने विषयवस्तु खोजी गर्ने, रेडियोको स्तरोन्नति गर्ने र सहकर्मीहरूलाई तलब खुवाउनुपर्ने जिम्मेवारी पनि ममाथि छ।’
सानो उमेरदेखि संघर्षका पहाड छिचोल्दै आएका टीकारामले धेरै ठूला सपना देखेका छैनन्।
भन्छन्, ‘ठूला सपना देखियो र पूरा हुन सकेन भने मन दुख्छ, पुरा नहुने सपना देख्नुहुन्न भन्ने लाग्छ। बुबाआमाले पनि त्यही सिकाएर हुर्काउनुभयो।’
रेडियोप्रति टीकारामको लगाव निकै गहिरो छ। उनी भन्छन्, ‘सुत्दा पनि रेडियो, उठ्दा पनि रेडियो सम्झन्छु। बिहेको अघिल्लो दिन पनि म रेडियोकै काममा थिएँ।’
कसैकसैले टीकारामलाई आँखा नदेख्ने मान्छे रेडियोमा कसरी काम गर्छौ भनेर सोध्छन्। कोहीचाहिँ स्टेशन म्यानेजर भएकोमा अचम्ममा पर्छन्।
यस्ता कुराले उनको मन अलिक अमिलो भइदिन्छन्। भन्छन्, ‘मैले १० वर्ष रेडियोमा गरेको कामले अपांगताबारे केही बुझाउन त सकेको छु। अब नेतृत्व पनि लिन सक्छु भनेर पुष्टि गर्नु छ।’
आफ्नो चर्चा दृष्टिविहीन भएकोले होइन, दृष्टिविहीन भइकन पनि आफ्नो कामका कारणले चिनिऊँ भन्ने चाहना छ।
भन्छन्, ‘मलाई चर्चा कमाउनु छैन, काम गर्नु छ। चिन्नेले कामबाटै चिनून्।’
बुबा दामोदर र आमा धनीको चाहना थियो- छोराहरू दृष्टिविहीन भए पनि बुहारीहरू भने आँखा देख्ने नै आऊन्। तीन वर्षअघि, २०७६ सालमा आमाको मृत्यु भयो। गत वर्ष टीकारामको बिहे भयो धनगढीकी गीता जोशीसँग।
टीकारामले स्नातक तहसम्मको पढाइ पूरा गरेका छन्। कतिपयले सरकारी जागिरमा जान सुझाब दिने गरेका छन्। उनी भने रेडियोमै
रमाउने बानी परेको बताउँछन्। टीकाराम पत्रकारितामा स्नातकोत्तर गर्न चाहन्छन्।उनलाई रेडियो पुर्याउने र घर लैजाने जिम्मेवारी चाहिँ बाबु दामोदरकै छ।