बुधबार अपराह्न ५ बजिसकेको थियो। मुगुको छायाँनाथ रारा नगरपालिका-२ गमगढी बजारस्थित मुगु डिभिजन वन कार्यालय परिसरमा एक पुरूष आइपुगे।
उनी मुगमकार्मारोङ गाउँपालिकाका-१ चितैकुनाका ५६ वर्षीय चेम्पा तामाङ हुन्। चेम्पा कार्यालयमा पुगेपछि महिनौंदेखि राखिएको एउटा कुकुरले पुच्छर हल्लाउन थाल्यो। त्यो कुकुरको नाम छैन। चेम्पासँग उनको साइनो भने वर्षौं पुरानो छ।
चेम्पाले आफ्नो भाषामा कालो र खैरो रङको कुकुरलाई बोलाएपछि ऊ निकै खुसी देखियो। उफ्रिन थाल्यो। कुकुरसँगै चेम्पा पनि खुसी भए।
यो कुकुर आफ्नो मालिकलाई तीन महिनादेखि वन कार्यालयमा कुरिरहेको थियो। घोरल मारेको आरोपमा तीन जना मान्छेसहित कुकुर पक्राउ परेको थियो। पक्राउ परेकामध्ये २ जना मान्छे धरौटी बुझाएर छुटे पनि कुकुर निर्दोष सावित भएको थियो।
धरौटीमा छुटेका मालिकले कुकुरलाई लिन नआएपछि ऊ वन कार्यालयमै बस्नुपरेको थियो।
‘म टाढाबाटै हेरिरहेको थिएँ। आउनबित्तिकै उहाँले कुकुरलाई आफ्नो भाषामा बोलाउनुभयो,’ कार्यालयका सूचना अधिकारी प्रनिल देवकोटाले सेतोपाटीसँग भने, ‘धेरै समयपछि एक-अर्कालाई भेट्दा उनीहरू दुबै निकै खुसी थिए।’
कुकुरलाई गत फागुन २६ गतेदेखि वन कार्यालयमै राखिएको थियो। लामो समयसम्म पनि वन कार्यालयले आफ्नो कुकुरको हेरचाह गरिदिएकोमा चेम्पा थप खुसी थिए।
‘राम्रोसँग सुरक्षित राखिदिएको भन्दै उहाँले धन्यवाद दिनुभयो,’ देवकोटाले भने।
चेम्पा बस्ने ठाउँ र वन कार्यालय एउटै जिल्लाभित्र भएपनि दुरी पनि टाढा छ। साँझ परिसकेकाले उनले कुकुरलाई हिजै घर लग्न पाएनन्।
वन कार्यालयले पनि कानुनी प्रक्रिया सकाउनु पर्ने हुँदा चेम्पाले कुकुरलाई घर लग्न पाएनन्। चेम्पा रित्तो हात नै फर्किए। उनी नजिकै रहेको आफन्तको घरमा बसे।
कार्यालयले उनलाई बिहीबार कार्यालयमा बोलाएको थियो। त्यसपछि पत्रकारहरूलाई समेत बोलाएर कुकुर चेम्पालाई हस्तान्तरण गरिएको छ।
कार्यालयसँग कुकुरको हेरचाह गर्ने कुनै बजेट पनि थिएन। वनरक्षक टेकबहादुर रोकायाले उसको हेरचाह गरिरहेका थिए।
कुकुरको हेरचाहमा के कति खर्च भयो कार्यालयले यकिन गरिसकेको छैन।
‘हाम्रा वनरक्षकले नै हेर्नुभयो सबै। अहिलेसम्म के-कति खर्च भयो भन्ने हेरिसकेका छैनौं। अब हेर्छौं,’ देवकोटाले भने।
आफूले तीन महिनासम्म पालेको कुकुर छोडेर जाने भएपछि रोकाया अलि निराश देखिएको देवकोटाले बताए।
‘सबै उहाँले नै हेर्नुभएको हुँदा पनि उहाँ अलि दु:खी देखिनुभयो,’ उनले भने।
आफैंले हेरचाह गरिरहेको कुकुर मालिकलाई बुझाउन कार्यालयले विभिन्न माध्यमबाट सम्पर्क गर्न खोजेको थियो। तर चेम्पा लगायत सम्पर्कमा आउन सकेका थिएनन्।
कार्यालयका कर्मचारीले चेम्पा र उनका छोरासमेत रहेका दावा छोर्देनलाई फोन गरी बोलाउन खोजेको थियो। उनीहरूसँग सम्पर्क हुन सकेको थिएन।
‘उहाँहरू भौगोलिक हिसाबले निकै टाढा बस्नुहुन्छ। हामीले फोन गरेर पनि बोलाउन खोजेका थियौं,’ देवकोटाले भने, ‘थाइल भन्ने ठाउँमा रहेको मुगु सब डिभिजन कार्यालयबाट पनि सम्पर्क गर्न खोज्यौं।’
कार्यालयले चेम्पाको घर नजिकैको वन सब डिभिजन कार्यालयलाई पनि पत्राचार गरिएको थियो। तैपनि सम्पर्क हुन सकिरहेको थिएन। धेरै दिनपछि खबर पाएपछि चेम्पा बुधबार आफ्नो कुकुरलाई लिन आएका हुन्।
उनलाई कुकुर कार्यालयमा राखिएको छ भन्ने थाहा थियो तर लिन जाने/नजाने भन्ने विषयमा अन्यौल भएको देवकोटा बताउँछन्।
चेम्पासहित तीन जनालाई तीन महिनाअघि मुगमकार्मारोङ-१ चितैकुनास्थित जंगलमा घोरल सिकार गरिरहेको अवस्थामा फेला परेका थिए। घोरल मार्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी पुग्दा तीन जना पक्राउ परे भने एक जना फरार भए। ती फरार हुने व्यक्ति चेम्पाका छोरा दावा छोर्देन हुन्। उनी भागे पनि कुकुर चेम्पाहरूसँगै थियो। प्रहरीले तीन जना सँगसँगै कुकुर पनि समातेर ल्याएको थियो।
वन्यजन्तुसम्बन्धी मुद्दामा अनुसन्धानको काम डिभिजन वन कार्यालयले गर्छ। घोरल सिकारको घटनामा पनि अनुसन्धान गर्न आरोपित व्यक्तिहरूलाई फागुन २६ गते डिभिजन वन कार्यालयको जिम्मा लगाएको थियो।
वन कार्यालयले कुकुर पनि सिकारमा प्रयोग भएको हो कि भन्ने शंका गरेको थियो। तर कुकुर सिकारी ठहरिएन।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ अनुसार सिकारी कुकुर प्रयोग भएको खुलेमा मुद्दा किनारा लाग्नुभन्दा अगाडि नै मार्न सकिने उल्लेख छ। वन कार्यालयले आफ्नो अनुसन्धान क्रममा कुकुरलाई प्रतिवादी पनि बनाएन।
‘हामीले घोरलको पोष्टमर्टम पनि गर्न लगाएका थियौं। त्यसबाट पनि केही खुलेको थिएन। त्यसैले प्रतिवादी बनाएनौं,’ देवकोटाले भने।
यदि कुकुरले कुनै वन्यजन्तुलाई मारिरहेकै अवस्थामा फेला पारेको भए उसलाई सिकारी ठहर्याउन सकिने बताए।
‘हामी फिल्डमा गइरहेका छौं र त्यति बेला कुकुरले कुनै वन्यजन्तुलाई मारिरहेको देख्यौं भने वास्तविक तस्बिर पनि खिच्न सकिने भयो, प्रत्यक्ष आँखाले पनि देखिने भयो भने त्यसो हुँदा ऊ सिकारी ठहरिन्छ,’ उनले भने, ‘यसमा पुष्टि भएन। हामीले प्रतिवादी नै बनाएका थिएनौं।’
वन कार्यालयले पक्राउ परेका तीन र फरारसमेत गरी चार जनाविरूद्ध मुद्दा चलायो। उनीहरू चेम्पा तामाङ, टासी तामाङ, छिमेक तामाङ र दावा छोर्देन तामाङ हुन्।
जिल्ला अदालत मुगुले जेठ १२ गते ती चारै जनालाई छाडिसकेको छ।
डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाका अनुसार फरार अभियुक्त दावा अदालतमा उपस्थित भएका थिए। अदालतले उनी र चेम्पालाई ७० हजार रुपैयाँ धरौटीमा र अरू दुई जनालाई साधारण तारेखमा छाडेको थियो।
धरौटीमा छुटेका उनीहरू सम्पर्कमा नआएपछि कुकुरलाई वन कार्यालयमै राख्न बाध्य भएको थियो। सरकारी वकिल कार्यालय मुगुले पनि त्यो कुकुर मालिककै जिम्मा लगाउन राय दिएको थियो।
त्यसरी राय दिएपछि कार्यालयले कुकुरलाई बेवारिसे छाड्न र अरू कसैको जिम्मा लगाउन पनि मिलेको थिएन।
वन कार्यालयले कुकुरलाई सिकारी ठानेर थुनामा राखेको हो कि भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। देवकोटाले सो कुराको यसअघि नै अस्वीकार गरेका थिए।