शान्तादेवी महतो जापानबाट काठमाडौं आएको एक महिना भयो। उनी २४ वर्षदेखि सपरिवार जापानमै बस्दै आएकी थिइन्।
काठमाडौं आएदेखि उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) धाइरहेकी छन्। किनभने उनको जग्गा थाहापत्तो नदिई अरू कसैले बिक्री गरेको छ।
शान्ताले २०६१ माघ १३ गते नेपाल आउँदा कीर्तिपुर नगरपालिका- २ मा ११ आना २ पैसा जग्गा किनेकी थिइन्।
जग्गा किनेर उनी फेरि जापान फर्किइन्।
यसपटक आउँदा उनले बायोमेट्रिक प्रणालीमार्फत् आफ्नो जग्गाको अभिलेख राख्ने सोचेकी थिइन्। त्यही सिलसिलामा जेठ १३ गते उनी कलंकी मालपोत कार्यालय पुगिन्।
त्यहाँ पुगेपछि थाहा भयो, उनलाई मृत करार गरेर उनको नामको जग्गा अर्कैका नाममा पास भइसकेको रहेछ।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार कित्ता नम्बर ३४४ को उक्त जग्गा २०७७ पुस १५ गते शान्ताकै श्रीमान तारानिधि लोहनीका नाममा पास गरिएको थियो।
त्यसै वर्ष फागुन १० गते लोहनीका नामबाट सुनिता कर्माचार्यको नाममा गयो। भक्तपुर नगरपालिका-११ बस्ने कर्माचार्यले ३ करोड ७० लाख रूपैयाँमा उक्त जग्गा किनेको कागजपत्रबाट देखिन्छ।
यहाँ अनौठो के भयो भने, जग्गा लोहनीका नाममा सार्दा शान्तालाई मृत घोषित गरिएको थियो। जबकि उनी जिउँदै छिन्।
लोहनी पनि धेरै समयदेखि विदेशमै छन्। उनलाई जग्गामा भएको चलखेलबारे अत्तोपत्तो थिएन।
यही सबै कुरा थाहा पाएपछि शान्ता उजुरी लिएर सिआइबी पुगिन्।
‘उहाँ आफ्नो जग्गा नक्कली लालपुर्जा बनाएर अरू कसैले बिक्री गरेको उजुरी लिएर आउनुभयो,’ प्रहरी उपरीक्षक महतोले भने, ‘सुरूमा त हामीसँग अरू केही जानकारी थिएन। अनुसन्धान गर्दै जाँदा कुराहरू खुल्दै गए।’
अनुसन्धान क्रममा प्रहरीले थाहा पायो, तारानिधि भनिएका व्यक्तिले आफ्नी श्रीमती शान्तादेवीको मृत्यु भइसकेको भन्दै जग्गा नामसारी गराएका रहेछन्। यसका लागि ती व्यक्तिले शान्तादेवीको मृत्यु प्रमाणपत्र कीर्ते गरेका थिए।
ती व्यक्तिले आफ्नी छोरी भन्दै पवित्रा लोहनीको कीर्ते कागजात पनि बनाएका छन्। छोरीको विवाह भइसकेको हुँदा आफू एक मात्र हकवाला भएको उनले साबित गराएका रहेछन्। यसका लागि नागरिकतादेखि नाता प्रमाणपत्र नक्कली बनाएको खुलेको छ।
शान्तादेवीकी वास्तविक छोरी पनि विदेशमै बस्छिन्।
यो घटनामा प्रहरीले जेठ १ गते बुधबार पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दार्चुला, मालिकार्जुन गाउँपालिका-७ घर भई काठमाडौंको टोखा नगरपालिका-८ बस्ने ५६ वर्षीय महावीर चन्द एक हुन्। उनले यो ठगीमा नक्कली तारानिधि लोहनीको भूमिका खेलेको प्रहरी उपरीक्षक महतो बताउँछन्। उनलाई प्रहरीले मनमैजुबाट पक्राउ गरेको थियो।
‘महावीर चन्दले नक्कली तारानिधि बनेर आफ्नी श्रीमतीको मृत्यु भइसक्यो र छोरीको विवाह भइसक्यो भन्दै नक्कली कागजपत्र पेस गरेका छन् र त्यसै आधारमा जग्गाको एक मात्र हकवाला आफू भन्दै नामसारी गराएका छन्,’ उनले भने।
महावीर नक्कली जग्गाधनी बने पनि उनलाई यो काम गराउने व्यक्ति अर्कै भएको प्रवक्ता महतोले जानकारी दिए।
महावीरले तारानिधिकै नामबाट सक्कली बैंक खाता खोलेर कारोबार गरेको खुलेको छ। नक्कली नागरिकता बनाएको हुँदा त्यसै आधारमा बैंक खाता खोल्न सकेको प्रहरीको भनाइ छ।
यो घटनामा प्रहरीले दुई जना मुख्य योजनाकारलाई समातेको छ। सिन्धुपाल्चोक घर भई ललितपुरको सुनाकोठी बस्ने ४१ वर्षीय गणेशबहादुर खनाल र सोलुखुम्बु घर भई बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४० वर्षीय बाबुराम कार्की पक्राउ परेका छन्।
उनीहरू दुवैलाई प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको हो। उनीहरूकै योजनामा कागजात कीर्ते गरी ठगी गरिएको प्रहरी उपरीक्षक महतोले बताए।
उनीहरूले खरिदकर्ता खोज्ने, आर्थिक कारोबार व्यवस्थापन गर्ने, नक्कली कागजात मिलाउने र मालपोत कार्यालयमा समन्वयसमेत गरेको ब्युरोले जनाएको छ।
खरिदकर्ता खोज्ने र बिचौलियाको काम गरेको भन्दै अरू दुई जनालाई पनि पक्राउ गरिएको छ। उनीहरू नुवाकोट घर भई काठमाडौंको वनस्थली बोहोराटार बस्ने ४६ वर्षीय प्रेमप्रसाद खनाल र ५८ वर्षीया ममता भन्ने डासीमाया श्रेष्ठ हुन्।
यो गिरोहले विदेशमै भएको व्यक्ति कसरी रोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक महतो बताउँछन्।
‘बयान लिइसकेका छैनौं। त्यसबारे खुलिसकेको छैन। जग्गाधनीको परिवार विदेशमा छ भन्ने थाहा पाएर नै उनीहरूले यस्तो गरेको हुनुपर्छ,’ उनले भने।
प्रहरीले पक्राउ परेका व्यक्तिबाट अरू पनि कीर्ते कागजातहरू फेला पारेको छ। उनीहरू अर्को चार बिगाहा जग्गा बेच्ने तयारीमा रहेको खुलेको छ। ती जग्गाका धनीहरू प्रहरीको सम्पर्कमा आइसकेका छैनन्।
महतोका अनुसार चार बिगाहा जग्गा एउटै जिल्लाको भए पनि फरकफरक ठाउँका छन्। कुन जिल्लाको भन्ने प्रहरीले खुलाएको छैन।
‘उनीहरूले अरू व्यक्तिलाई पनि त्यसरी नै ठग्ने तयारी गरिरहेको खुलेको छ,' महतोले भने, 'समयमै पक्राउ नगरिएको भए अरू पनि ठगिन सक्थे।’
प्रहरीले पक्राउ परेका व्यक्तिबाट चारवटा नक्कली नेपाली नागरिकता बरामद गरेको छ। नक्कली तारानिधि लोहनीको नामको जग्गाधनी पुर्जाको प्रतिलिपि पनि फेला परेको छ।
अन्य व्यक्तिका नामको नक्कली जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नागरिकताको फोटोकपी र जग्गाधनी पुर्जाको फोटोकपी सातवटा बरामद गरेको प्रहरीले जनाएको छ।
त्यस्तै विभिन्न व्यक्तिका नाममा जारी भएका १२ थान जग्गाधनी दर्ता श्रेस्ता पुर्जा तथा जग्गाको नक्साको फोटोकपी, विभिन्न व्यक्तिहरूको अटो र पासपोर्ट साइजका ६० वटा फोटो, १४ वटा फोन र २९ वटा विभिन्न कम्पनीका सिमसमेत बरामद गरिएको छ।
सिममध्ये एउटा वास्तविक तारानिधि लोहनीकै नामको भएको ब्युरोले जनाएको छ। यी सिमबाट उनीहरूले एक-दुई जनासँग मात्रै सम्पर्क गरेको खुलेको छ। एक-दुई जनासँग कुरा गरिसकेपछि सिम भाँचेर फाल्ने गरेको ब्युरोले जनाएको छ।
‘एउटा सिमबाट एक-दुई जनासँग कुराकानी गरिसकेपछि फेरि अर्को सिम निकालेर प्रयोग गर्ने रहेछन्,’ एक प्रहरी अधिकृतले भने, ‘उनीहरूको तरिका नै यस्तै रहेछ।’
ब्युरोका अनुसार बायोमेट्रिक प्रणालीबाट जग्गाको अभिलेख राख्यो भने यसरी ठगिनबाट बच्न सकिन्छ।
‘बायोमेट्रिक प्रणालीमा जग्गाधनीको औंठाछाप, तस्बिरहरू सबै हुन्छन्। त्यसमा गयौं भने जग्गा सुरक्षित हुन सक्छ,’ प्रहरी उपरीक्षक महतोले भने, ‘अनधिकृत व्यक्तिहरू आएर छरछिमेकको जग्गा नापजाँच गरेको देख्दा अलिकति चासो राखिदिए यस्ता ठगी योजना भताभुंग हुनसक्छ।’
यो घटनामा मालपोत कार्यालय वा अरू निकायका कर्मचारीको पनि संलग्नता छ कि भनेर अनुसन्धान भइरहेको उनले बताए।
‘मालपोत कार्यालयको पनि संलग्नता छ कि भन्ने थियो। तर कागजातहरू सबै बाहिर नक्कली बनाएको पाइएको छ,’ उनले भने, ‘सबै तथ्य केलाएर जो जो दोषी देखिन्छन्, उनीहरू अनुसन्धानको दायरामा आइहाल्छन्।’
पक्राउ परेका व्यक्तिलाई अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।