काठमाडौंबाट लागु औषध नियन्त्रण ब्युरोले सेतो हेरोइनसहित सात दक्षिण अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ परेका सात जनालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरू सबै जना दक्षिण अफ्रिकन हुन्।
उनीहरूबाट प्रहरीले ठूलो मात्रामा लागु औषध हेरोइन बरामद गरेको हो।
ब्युरो प्रमुख तथा प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार ५१ किलो हेरोइन बरामद भएको हो। ४९ किलो सेतो र दुई किलो खैरो हिरोइन बरामद भएको हो।
यो नेपाल प्रहरीको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै मात्रामा बरामद भएको उनको भनाइ छ।
ब्युरोले नेपाल प्रहरीका विभिन्न इकाइसँग समन्वय गरी अपरेसन सञ्चालन गरेको छ।
प्रहरीले यस घटनाको अनुसन्धान गर्न पछिल्ला केही घटनाक्रमलाई केलाएको थियो। प्रहरीले ‘क्रिमिनल प्रोफाइलिङ’ गरेको थियो। त्यसैलाई आधार बनाएर प्रहरीले ‘अपरेसन ह्वाइट डस्ट’ सञ्चालन गर्यो।
यो अपरेसन अझै पनि जारी नै रहेको ब्युरोले जनाएको छ।
‘विगतमा पक्राउ गरिएका अनुभवका आधारमा हामीले निगरानी राख्दै आएका थियौं,’ उनले भने,‘त्यसरी हामीले अपरेसन नै सञ्चालन गर्यौं। त्यसपछि अहिलेसम्मकै सबैभन्दा धेरै मात्राको लागुऔषध हेरोइन बरामद भयो। सात जना दक्षिण अफ्रिकी महिला पक्राउ परे।’
प्रहरीले सातै जनालाई काठमाडौंबाटै पक्राउ गरेको हो।
पक्राउ पर्नेमा २९ वर्षीया सिबिसी ठान्डिकिले, ४६ वर्षीया मुरेल क्वेडुकवाजी थेम्बेनी एनसाम्बा, ३९ वर्षीय साबालाला खान्यिसिलि भोन्नी र ३६ वर्षीया रोजिना नोन्क्ले जान्त्जिइ छन्।
यस्तै २९ वर्षीया महलाको मौरिन मथिबा, ३७ वर्षीय मोरोसी सुजान कोफु र ३० वर्षीया मार्लिस बाडेनहोर्स्टलाई पनि पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरू सबै जना महिला नै छन्।
महिलालाई नै किन प्रयोग गरियो त भन्ने प्रश्नमा श्रेष्ठले भने,‘यी महिलाहरू आफ्नो देशमा मार्केटिङ, सामान डेलिभरी गर्ने जस्ता काम गर्ने देखियो। एक जना कूक समेत देखिन्छ। महिला सहभागी हुँदा सुरक्षाको हिसाबले सजिलो हुने। पुरूषलाई भन्दा कम शंकास्पद रूपमा हेरिने। ओसारपसारमा सहयोग हुने हुँदा प्रयोग भएको हुनसक्छ।’
उनीहरू भिजिट भिसामा काठमाडौं आएको देखिएको छ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार जेठ २९ गते दक्षिण अफ्रिकाको जोहान्नेसबर्गबाट दुबई हुँदै सिबिसी र मुरेल काठमाडौं आइपुगेका थिए।
साँझ पौने ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रहरीले उनीहरूको गतिविधिमाथि शंका गर्यो।
त्यसपछि प्रहरीले उनीहरूलाई पछ्याउँदै गयो। उनीहरू सो दिन काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित होटलमा बसेका थिए।
ब्युरोको टोलीले भोलिपल्टै एउटै होटलबाट उनीहरूलाई पक्राउ गर्यो। दुबैबाट आठ/आठ किलो हेरोइन बरामद गर्यो।
ब्युरोले अपरेसनलाई त्यतिमै टुंगाएन। अनुसन्धान अघि बढाउँदै सोही दिन ठमेलकै होटलबाट साबालालालाई पक्राउ गर्यो।
उनी सोही दिन साँझ साढे ६ बजेमात्रै काठमाडौं आइपुगेकी थिइन्। उनीबाट पनि प्रहरीले आठ किलो हेरोइन बरामद गर्यो।
ठमेलकै अर्को होटलबाट रोजिनाको साथबाट आठ किलो र मौरिनकोबाट सात किलो हेरोइन बरामद गरेको हो।
मौरिन भने जेठ २६ गते नै दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौं आइपुगेकी थिइन्। उनी नेपाल आएर सुकुटेको रिसोर्ट समेत पुगेको खुलेको हो।
प्रहरीले जेठ ३१ गते सुजन भन्नेलाई पनि ठमेलको होटलबाट पक्राउ गर्यो। उनीबाट सेतो हिरोइन ४ र खैरो हेरोइन २ गरी जम्मा ६ किलो बरामद गर्यो। त्यही साँझ ६ बजे मार्लिसलाई प्रहरीले पक्राउ गरेको थियो। उनीबाट पनि सेतो हिरोइन ६ किलोग्राम बरामद गर्यो।
उनीहरू सबैलाई प्रहरीले ठमेलकै होटलबाट पक्राउ गर्यो। प्रहरीका अनुसार उनीहरू बस्नको लागि भनेरै अनलाइन बुकिङ गरिएको थियो। केहीले भने नेपाल आइसकेपछि मात्रै बुकिङ गरेको खुलेको हो।
मुरेल नेपाल आएको पहिलो पटक होइन। उनी यसअघि फेब्रुअरी र मार्चमा पनि आएकी थिइन्। तेस्रो पटकमा भने उनी पक्राउ परेकी हुन्।
यसरी ठूलो मात्रामा एकैपटक पक्राउ पर्नु पछाडिको कारण भने यसअघि पक्राउ परेको घटनाले हो। यसअघि ब्युरोले सात किलो सेतो हेरोइनसहित केही मानिसलाई समातेको थियो। त्यसैलाई नै पछ्याएर अनुसन्धान गर्दा यो पनि सफल भएको प्रहरी उपरीक्षक श्रेष्ठ बताउँछन्।
सुटकेशहरूमा फल्सबटम, ल्यापटपका कभरहरूमा लुकाएर उनीहरूले नेपाल ल्याएको देखिएको छ।
उनीहरूले नेपाल ल्याइसकेपछि आफूले ल्याएको सामान सुरक्षित छ भन्दै फोटो समेत पठाउन भ्याएका थिए।
प्रहरीका अनुसार उनीहरूले सो फोटो दक्षिण अफ्रिकाकै एक व्यक्तिलाई पठाएको देखिन्छ।
तर नेपाल ल्याइएका लागुऔषध भने नेपालकै लागि भने होइन।
‘ट्रेन्ड हेर्दा यी लागुऔषध नेपालका लागि होइनन्। यी सबै भारतमै लग्नको लागि ल्याइएका हुन्,’ श्रेष्ठले भने,‘यसअघि हामीले भारतबाट लिन आएका मानिससहित समातेका थियौं। त्यसकारणले पनि हामी भन्न सक्छौं। यो भारतकै लागि हो। नेपाललाई ट्रान्जिट मात्रै बनाइएको हो।’
उनले थपे, ‘हाम्रो नेपालमा लागुऔषध प्रयोगकर्ताहरूको यो खालको मात्रामा प्रयोग गर्ने हुँदैनन्। बाहिर नै लग्ने हो।’
सो लागुऔषध लिन पनि अर्कै व्यक्ति आउने र ती व्यक्तिसँग सुटकेश साटेर ओसारपसार गर्ने गरेको देखिन्छ।
गत वर्ष भदौ ३ गते २ र वैशाख ३ गते ब्युरोले केही मानिसलाई पक्राउ गरेको थियो। त्यसैलाई नै आधार बनाएर प्रोफाइलिङ गरेको उनले बताए।
‘प्रोफाइलिङ गर्दा कस्ता व्यक्तिहरूलाई पठाउँछन्। कस्तो ट्रेन्डबाट ल्याउँछन् भन्ने अध्ययन गर्दा यो भेटियो,’ उनले भने।
उनका अनुसार विश्वमा लागुऔषधको कारोबार धेरै हुन्छ। नेपालको लागि धेरै मात्रा बरामद भए पनि अरूको राष्ट्रको लागि भने यो मात्रा थोरै नै भएको उनले बताए।
बरामद भएको हेरोइनको अवैध बजारमा मूल्य एक अर्ब दुई करोड रुपैयाँ रहेको उनले बताए। एक ग्रामकै २० हजार पर्ने उनको भनाइ छ।
यसरी बरामद भएको हेरोइनलाई प्रहरीले केही मात्रा राखेर अन्य जनप्रतिनिधिको रोहबरमा नष्ट गर्ने कानुनी प्रावधान रहेको ब्युरोले जनाएको छ।
‘बरामद भएको सेतो हेरोइनमा मोर्फिन भन्ने पाइएको छ। यो अफिमबाट बन्छ। यो एकदमै कडा खालको लागुऔषध हो,’ प्रहरी उपरीक्षक श्रेष्ठले भने,‘केही सीमित प्रयोगमै यसले लत बस्छ। शारिरीक तथा मानसिक रूपमा असर पुर्याउँछ। अपाङ्गता हुने समेतको असर देखिन्छ।’
प्रहरीले उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। उनीहरूबाट बरामद भएको मात्रा अनुसार उनीहरूलाई जन्मकैद सम्मको सजाय हुने कानुन छ।