मुगुको डिभिजन वन कार्यालय परिसरमा केही दिनदेखि कालो र खैरो रङ मिसमास भएको कुकुरले डेरा जमाएको छ।
ऊ धेरैजसो समय एकैठाउँ चुपचाप बस्छ। बेलाबेला वरिपरि घुम्छ। तर कार्यालय परिसर छाडेर कहीँ जाँदैन।
चौबीसै घन्टा वन कार्यालयमा बस्न थालेको यो कुकुरलाई यहाँका कुनै कर्मचारीले पालेको होइन। कार्यालय रखवारी गर्न राखिएको पनि होइन। तर जुन दिनबाट ऊ यहाँ आइपुग्यो, यहीँको भयो।
उसको रेखदेख वनरक्षक टेकबहादुर रोकायले गरिरहेका छन्। बिहान-बेलुकी मासु-भात खुवाउने जिम्मा उनकै छ। आवश्यक पर्दा औषधिसमेत खुवाउँछन्।
टेकबहादुरलाई कुकुरको नाम थाहा छैन। यत्ति थाहा छ, ऊ आफ्नो मालिकको पर्खाइमा छ।
फागुन २६ गते पहिलोपटक वन कार्यालयमा आइपुगेको यो कुकुरको मालिक को हो जसलाई ऊ तीन महिनादेखि कुरिरहेको छ?
कार्यालयका अनुसार तीन महिनाअघि प्रहरीले घोरल सिकार गर्ने तीन जनालाई मुगमकार्मारोङ गाउँपालिका–१, चितैकुनाबाट पक्राउ गरेको थियो। घोरल मार्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी पुग्दा तीन जना पक्राउ परे भने एक जना फरार भए। ती फरार व्यक्तिले आफ्नो कुकुर अरू साथीहरूसँगै छाडेका थिए। प्रहरीले तीन जना सँगसँगै कुकुर पनि समातेर ल्याएको थियो।
वन्यजन्तुसम्बन्धी मुद्दामा अनुसन्धानको काम डिभिजन वन कार्यालयले गर्छ। घोरल सिकारको घटनामा पनि अनुसन्धान गर्न आरोपित व्यक्तिहरूलाई फागुन २६ गते डिभिजन वन कार्यालयको जिम्मा लगाइयो। त्यसै दिन कुकुर पनि वन कार्यालय आइपुग्यो।
वन कार्यालयले कुकुर पनि सिकारमा प्रयोग भएको हो कि भन्ने शंका गरेको थियो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ अनुसार सिकारी कुकुर प्रयोग भएको खुलेमा मुद्दा किनारा लाग्नुभन्दा अगाडि नै मार्न सकिने उल्लेख छ। तर त्यो कुकुर सिकारमा प्रयोग भए-नभएको खुलेन। वन कार्यालयले आफ्नो अनुसन्धान क्रममा कुकुरलाई प्रतिवादी पनि बनाएन।
वन कार्यालयले पक्राउ परेका तीन र फरारसमेत गरी चार जनाविरूद्ध मुद्दा चलायो। उनीहरू त्यही गाउँका चेम्पा तामाङ, टासी तामाङ, छिमेक तामाङ र दावा छोर्देन तामाङ हुन्। कुकुर चाहिँ दावा छोर्देन तामाङको हो।
जिल्ला अदालत मुगुले जेठ १२ गते ती चारै जनालाई छाडिसकेको छ।
डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाका अनुसार फरार अभियुक्त दावा अदालतमा उपस्थित भएका थिए। अदालतले उनी र चेम्पालाई ७० हजार रूपैयाँ धरौटीमा र अरू दुई जनालाई साधारण तारेखमा छाडेको थियो।
धरौटीमा छुटेपछि पनि दावा सम्पर्कमा नआएकाले उनको कुकुर अझै वन कार्यालयमै रहेको देवकोटा बताउँछन्।
'सरकारी वकिल कार्यालय मुगुले त्यो कुकुर मालिककै जिम्मा लगाउन राय दिएको छ। तर दावा सम्पर्कमै नआएपछि हामीले कार्यालयमै संरक्षण गरेर राखेका छौं,' उनले भने।
‘सरकारी वकिल कार्यालयले कानुनी प्रक्रिया पूरा गरेर कुकुर जिम्मा लगाउनू भनेको छ। यसअनुसार हामीले मालिकलाई नै जिम्मा लगाउनुपर्ने हुन्छ। अरूलाई जिम्मा लगाएर पछि मालिकले खोज्यो भने समस्या आउन सक्छ।’
वन कार्यालयले कुकुरलाई सिकारी ठानेर थुनामा राखेको हो कि भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको छ। देवकोटा भने यो अस्वीकार गर्छन्।
‘सिकारी कुकुर हो भने मार्न सकिनेसम्मको कानुन छ। तर हामीले अनुसन्धान गर्दा घोरलको सिकार कुकुरले नै गरेको हो भन्ने खुलेन। त्यसैले हामीलाई जिम्मा लगाइयो। फरार मालिक पनि कुकुर लिन आउनुभएको छैन,’ उनले भने, ‘अहिले हामीले उपचार गराएर राखेका छौं। मालिकलाई सम्पर्क गर्न पनि खोजिरहेका छौं।’
मालिक फेला नपर्दासम्म कुकुरको जिम्मा वन रक्षक रोकायले सम्हालेको उनले जानकारी दिए। उसको हेरचाहमा अहिलेसम्म के कति खर्च भयो भन्ने यकिन भइसकेको छैन।