रुपन्देहीको गैडहवा गाउँपालिका–७, सूर्यपुरामा रहेको अभिषेक आयल सप्लायर्समा २०७७ साल चैत २९ गते आगलागी भयो भलवारीस्थित आयल निगमको डिपोबाट तेल बोकेर गएको लु२ख २८७५ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा अचानक आगो सल्कियो। ट्यांकरको तीन नम्बर च्याम्बरबाट चार हजार लिटर पेट्रोल अन्डर ग्राउन्ड ट्यांकीमा खन्याएर दुई नम्बर च्याम्बरमा रहेको थप चार हजार लिटर खन्याउने क्रममा आगलागी भएको थियो। तत्कालै दमकल आइपुग्न सकेकाले केही बेरमा आगो नियन्त्रण भयो।
यसअघि २०७७ साल कात्तिक ३ गते सिद्धार्थ नगरपालिका–८ स्थित एभरेस्ट आयल सप्लायर्समा आगो लाग्यो। राति करिब ८ बजेतिर पेट्रोल खन्याउने क्रममा ट्यांकरमा आगलागी भएको थियो। ट्यांकरमा लागेको आगो इन्धन भण्डारमा सल्किन नपाउँदै नियन्त्रणमा गर्न सकेकोले धेरै ठूलो क्षति हुन पाएन। बस्तीको बीचमा रहेको उक्त पम्पको भूमिगत ट्यांकीमा आगो सल्किएको भए त्यसबाट अकल्पनीय क्षति हुन सक्थ्यो।
जेठ १३ गते रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपोभित्र दुई वटा ट्यांकरमा आगलागी भयो। घटना दिउँसो भएकाले बुटवल, तिलोत्तमा र भैरहवाबाट पुगेका दमकलले आगो नियन्त्रणमा लिएका थिए।निगमका ट्यांकीमा तेल खनाउने क्रममा आगलागी हुँदा लु२ख २६५६ नम्बरको ट्यांकर जलेर पूर्णरूपमा क्षति भयो। लु२ख ५६८५ नम्बरको ट्यांकरमा सामान्य क्षति भयो। ट्यांकरका हेल्पर तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरी घाइते भए।
भलवारी डिपोभित्र २०७७ साल कात्तिक ६ गते पनि इन्धन बोकेको ट्यांकरमा आगो लागेको थियो। लु१ख ८१४५ नम्बरको ट्यांकर भारतबाट ल्याएको पेट्रोल डिपोमा जाँच गरेर निस्कने क्रममा गेटमै आगलागी भएको थियो। दिउँसो दुई बजेतिर लागेको आगो डिपोभित्रै रहेको दमकलले नियन्त्रणमा लिएको थियो। ट्यांकरको क्याबिन पूर्णरूपमा जले पनि पेट्रोल भने जोगिएको थियो।
उल्लिखित घटनाहरू प्रतिनिधि मात्र हुन्। यस्तै आगलागीका अन्य घटना पनि भएका छन्। सरकारले बनाएको मापदण्ड मिचेर सञ्चालित डिपो र पेट्रोल पम्पमा ठूलो आगजनी भए खुद व्यापारी मात्र होइन सिंगो सहर र सर्वसाधारण समेत दुर्घटनामा पर्ने देखिन्छ।
तर व्यवसायीहरू र आयल निगम भने सम्भावित दुर्घटनाप्रति उदासीन देखिन्छन्।
नेपाल आयल निगमको पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ को विनियम १६ (क) बमोजिम पूर्व–पश्चिम राजमार्गको हकमा ३ हजार ३ सय वर्ग मिटर वा १० कठ्ठा र राजमार्गतर्फको मोहडा ५० मिटरको हुनुपर्ने प्रावधान छ। राजमार्ग र अन्य सडक तथा स्थानहरूका लागि भिन्न भिन्न मापदण्ड तोकिएको छ।
बुटवल–भैरहवा ६ लेन सडकखण्ड अन्तर्गत तिलोत्तमा–७, भलवारीमा रहेको आयल निगमको डिपो नै यो मापदण्ड भित्र सञ्चालित छैन।
यो डिपोलाई सार्नु पर्ने भन्दै स्थानीयवासीले माग गर्दै आएका छन्।
२०३९ सालमा आयल निगमको डिपो स्थापना हुँदा वरिपरि बस्ती पातलो थियो। बितेका चालीस वर्षमा बस्ती निकै बाक्लो भएको छ। सडक ६ लेनमा बिस्तार भई आयल निगमको प्रवेशद्वारमै पुगेको छ।
बस्ती बाक्लिएपछि भलवारी डिपो स्थानान्तरण गर्न स्थानीयवासीले माग गर्दै आएका हुन्। तिलोत्तमा नगरपालिकाले स्थानीय बस्तीको सुरक्षाका लागि डिपो स्थानान्तरण गर्न आग्रह गर्दै आएको छ।
नगरपालिकामा जनप्रतिनिधिको नयाँ नेतृत्व निर्वाचित भएको पहिलो महिनामै दुई वटा ट्यांकरमा आगलागी भएको छ। यी घटनापछि डिपो सार्न फेरि आवाज उठ्न थालेको छ। यसमा आयल निगमले चासो दिएको छैन।
नेपाल आयल निगम, भलवारी डिपो प्रमुख नवविनोद पोखरेल डिपो अन्यत्र सार्ने योजना रहे पनि तत्काल सार्ने अवस्था नरहेको बताउँछन्।
उनले भने, ‘एउटा घर सारेजस्तो होइन। अहिले यसैलाई सुरक्षित बनाएर सञ्चालन गर्दै बिस्तारै अन्यत्र लैजाने प्रक्रिया अघि बढाउन सकिएला।’
निगमको डिपो स्थानान्तरणका लागि स्थानीयवासीले संघर्ष समिति बनाएर दबाब दिन थालेका छन्।
तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले निगममा शनिबार यही विषयमा छलफलमा भएको बताए। डिपो प्रमुख पोखरेलले निगमका महाप्रबन्धक र आपूर्ति मन्त्रालयका सचिव आएपछि छलफल गरेर स्थानान्तरणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको मेयर खाँणले जानकारी दिए।
स्थानान्तरणका लागि रोहिणी खोलानजिकै साढे १४ बिघा जमिन व्यवस्था भएको छ।
खाँणले जग्गा व्यवस्था भए पनि पूर्वाधार निर्माण गर्न समय लाग्ने भएकोले त्यतिन्जेल सुरक्षित रूपले डिपो सञ्चालन गर्न आग्रह गरिएको बताए। उनले भने, ‘डिपो अहिले नै स्थानान्तरण गर्नु पर्यो भनेर सारिहाल्ने अवस्था छैन, यहाँ रहँदा पनि सुरक्षित उपाय अपनाइयोस् भनेका छौं।’
भलवारी डिपोमा पेट्रोल, डिजल र मट्टीतेल गरी झन्डै ३७ लाख लिटर इन्धन भण्डारण हुने क्षमता छ। सबैभन्दा धेरै ३० लाख ४० हजार लिटर डिजल, पेट्रोल ५ लाख १९ हजार लिटर र मट्टीतेल १ लाख ४० हजार लिटर भण्डारण गर्ने क्षमता छ।
कुल चार बिघा चार कठ्ठा जग्गामा रहेको भलवारी डिपोबाट अहिले दैनिक ३ लाख लिटर पेट्रोल, १२ लाख लिटर डिजेल र ६ हजार लिटर मट्टीतेल वितरण हुने गरेको छ। डिपोले रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङ र स्याङ्जाका गरी करिब साढे तीन सय पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ आपूर्ति गर्ने गरेको छ।
आयल निगमको डिपो मात्र होइन बुटवल, भैरहवा लगायत बजारका अधिकांश पेट्रोलपम्पहरू आयल निगमले तोकेको मापदण्डविपरीत सञ्चालित छन्।
नेपाल आयल निगमको पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ को विनियम १६(क) बमोजिम पूर्व–पश्चिम राजमार्गको हकमा ३ हजार ३ सय वर्ग मिटर वा १० कठ्ठा र राजमार्गतर्फको मोहडा ५० मिटरको हुनुपर्ने प्रावधान छ। राजमार्ग र अन्य सडक तथा स्थानहरूको लागि भिन्न भिन्न मापदण्ड तोकिएको छ।
यसअघि २०५४ सालमा लागु गरिएको मापदण्डमा पनि पेट्रोल पम्प र सडकको दूरी कम्तीमा २५ मिटर हुनु पर्ने, आवासीय क्षेत्रनजिक राख्न नपाइने, पम्पमा सार्वजनिक शौचालय, प्राथमिक उपचारको व्यवस्था, स्नानगृह लगायत सुविधा भनिएको थियो।
बुटवल र भैरहवाका कतिपय पेट्रोल पम्पहरू भने घरको सटरमा राखिएका छन्। सडक बिस्तार भएर ६ लेन हुनुपूर्व सडक किनारामा रहेका पेट्रोल पम्पहरू सडक बिस्तारसँगै घरको सटरमा पुगेका हुन्। नियमनकारी निकायहरू भने यसतर्फ मौन छ।
बजार क्षेत्रमा रहेका अधिकांश पेट्रोल पम्पले पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ अनुसारको कुनै पनि मापदण्ड पालना गरेको देखिँदैन। उक्त नियमावलीमा पम्प परिसरमा चियाफकी पसल, एटिएम, हावा भर्ने, पार्किङ लगायतका सुविधा हुनु पर्ने मापदण्ड तोकिएको छ।
रुपन्देहीका बुटवल, भैरहवा, सैनामैना, तिलोत्तमा, देवदह, लुम्बिनी लगायत विभिन्न बजार तथा सडक किनारमा गरी १८१ वटा पेट्रोल पम्प छन्। तीमध्ये सबैभन्दा धेरै र जोखिम पनि बुटवल, तिलोत्तमा र भैरहवामा छ।
लहरै जोडिएका घरको बीचमा अति प्रज्वलनशील पदार्थको ओसारपसार र बिक्री–वितरणका कारण आगलागीको घटनाले ठूलो क्षति हुने जोखिम रहेको छ।
पेट्रोल पम्प सञ्चालनको मापदण्ड र सुरक्षा अनुगमन गर्ने जिम्मेवारी नेपाल आयल निगम र स्थानीय तहको रहे पनि दुबै निकाय निष्प्रभावी देखिएका छन्। आयल निगमको भलवारी डिपोप्रमुख पोखरेल बस्तीको बीचमा पेट्रोल पम्पहरू हुनु देशकै समस्या भएकोले यसलाई केन्द्रीय तहबाटै सम्बोधन गर्नुपर्ने बताउँछन्।
तिलोत्तमा नगरपालिकाका प्रमुख खाँणले आफू भर्खरै निर्वाचित भएर आएकोले अनुगमनपछि केही भन्न सक्ने बताए। ‘भलवारी डिपोमा हालै आगलागी भएकोले अहिले हाम्रो ध्यान त्यता गएको छ,’ उनले भने, ‘नगरभित्रका पेट्रोल पम्पहरूको अनुगमन गरेपछि सोही अनुसार निर्देशन दिने छौं।’
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले पनि पेट्रोल पम्पहरूको अनुगमनपछि मात्रै तिनको व्यवस्थापनबारे भन्न सकिने बताइन्। पेट्रोल पम्पहरूमा आगलागीका घटना बढ्न थालेकोले व्यवसाय र बजारको सुरक्षामा ध्यान दिनु पर्ने उनको भनाइ छ।