रूपन्देहीको तिलोत्तमा नगरपालिकामा अमृता खत्री टण्डनको शंकास्पद मृत्युको घटना सेलाउन नपाउँदै तिलोत्तमा वडा नं. ६ की सुविना गिरीको पनि शंकास्पद मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया गिरी सोमबार राति करिब १ बजेतिर आफ्नै होटलमा झुण्डिएको अवस्थामा फेला परेको उनको परिवारले जनाएको छ।
होटलमा झुण्डिएको अवस्थामा फेला परेको भनिएकी गिरीलाई परिवारले राति २ बजेतिर तिलोत्तमा मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक गिरीका माइती पक्षले भने परिवारले झुण्डिएको बताए पनि आफन्त र छिमेकी कसैलाई जानकारी नगराई अस्पताल लगिएको भन्दै घटना शंकास्पद रहेको बताएका छन्।
मृतक गिरीका मामा अमृत गिरीले परिवारले सुविनालाई झुण्डिएको अवस्थामा फेला पारेको बताए पनि आफन्त र छरछिमेकी कसैले नदेखेकोले घटना शंकास्पद रहेको बताए।
मृतककी फुपू क्षमा गिरीका अनुसार झुण्डिएको भनिएकी सुविनाको शरीरभरि नीलडाम रहेकोले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।
माइती पक्षले सुविनाका परिवारले उनलाई कुटपिट गरेर हत्या गरी झुण्डिएको बहाना बनाएको दाबी समेत गरेका छन्।
माइती पक्षले दुई जना नाबालक छोराछोरीलाई छोडेर सुविनाले आत्महत्या गर्न नसक्ने भन्दै यो सुनियोजित हत्या नै भएको दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सुविनाको शवलाई अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ।
तिलोत्तमा नगरपालिकामा मात्रै १० महिनाको अवधिमा तीन जना युवतीको शंकास्पद मृत्यु भएको छ। यसअघि गत चैत ३० गते तिलोत्तमा २ जानकीनगरकी २६ वर्षीय अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको थियो।
तीन चार सय मिटरकै दुरीमा रहेको माइतीबाट घर गएकी अमृताको एक घण्टापछि नै मृत्यु भएको भन्दै उनका श्रीमान प्रेम टण्डनले अस्पतालबाट माइतीलाई फोन गरेका थिए।
माइती पक्षले अमृताको आत्महत्या नभई परिवारले हत्या गरेको दाबी गर्दै आएको छ।
अमृताको शव ६२ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालकै शव गृहमा रहेको छ।
त्यस्तै, गत भदौ २० गते तिलोत्तमा ५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेल पनि शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्। श्रीमानसँगै कोठामा सुतेकी सीता झुण्डिएको अवस्थामा बिहान फेला परेकी थिइन्।
भण्डारीको मृत्यु पनि शंकास्पद भएको भन्दै माइती पक्षले आन्दोलन गरेपछि ४६ दिनपछि मात्रै उनको अन्त्येष्टि भएको थियो।
भौतिक विकास तथा सुशासनमा दुई पटकसम्म देशकै उत्कृष्ट नगरपालिका घोषित भएको तिलोत्तमामा महिला हिंसाका घटना बढिरहेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ।