सोमबार बिहानै सिंहदरबार प्रहरी वृत्तमा फोन आयो। फोनमा बोल्नेले भन्दै थिए, अनामनगरको सुन पसलमा लुटपाट भयो।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित अनामनगरको एक सुन पसलमा लुटपाटको जानकारीपछि तत्कालै प्रहरीहरू घटनास्थलतर्फ गए।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ घर भई ललितपुरमा बस्दै आएका अविराज दूतराजले आफ्नो सुनचाँदी पसल लुटपाट भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। उनी अनामनगरमा श्री मनकामना सुनचाँदी तथा गरगहना पसल चलाउँछन्।
पसलको भित्ता फोडेको अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका हुन्। मनकामना सुनचाँदी पसलसँगै जोडिएको पान पसलतर्फबाट भित्ता फोडेर प्वाल बनाइएको थियो।
पान पसलबाट भित्ता फोडेर सुनचाँदी पसलमा लुटपाटको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। मान्छे छिर्न मिल्ने गरी भित्तामा प्वाल बनाइएको प्रहरी स्रोत बताउँछ।
‘एक जना मान्छे छिर्न मिल्ने गरी भित्तामा प्वाल बनाइरहेको रहेछ,’ एक प्रहरीले भने, ‘तर भित्र पसेर सुनचाँदी भने लुट्न भ्याएको रहेनछ।’
घटनाबारे अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक पान पसल सञ्चालक भारतको बिहार मोतिहारी जिल्लाका २३ वर्षीय सन्दिप जैसवाल हुन्। उनीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।
यो घटनाको मुख्य योजनाकार भने जैसवाल नभएको प्रहरी बताउँछ। पान पसलमै काम गर्ने कामदार यो घटनाको योजनाकार रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ।
भारतको रक्सौल घर भएका २१ वर्षीय राहुल सर्राफ फरार छन्। उनी दुई महिनादेखि पान पसलमा काम गर्दै आएका थिए।
सर्राफलाई पान पसलका सञ्चालक जैसवालले सामान किन्नको लागि ६० हजार रुपैयाँ दिएका थिए। उनले जैसवालको बा ६६ प ७२८६ नम्बरको बाइक पनि चलाउने गर्दथे। राहुल पैसा लिएर फरार छन्।
‘पान पसल सञ्चालकको पैसा लिएर राहुल भागेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो।
यसैबीच वीरगन्जको वडा प्रहरी कार्यालय बिर्ताले भारतसँगको सीमा नाकाबाट अर्का एक जनालाई यो घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।
भारतको बिहारस्थित मोतिहारी जिल्लाका ३० वर्षीय सुनिल रजाक पक्राउ परेका हुन्। उनलाई राहुलले पैसा दिएर मोटरसाइकल सीमा पार गर्न लगाएको खुलेको छ। पर्सा प्रहरीले यो घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पनि सहयोग लिएको थियो।
रजाकको साथबाट प्रहरीले सात हजार र बा ६६ प ७२८६ नम्बरको मोटरसाइकल बरामद गरेको छ। उनले सात हजार राहुलले नै दिएको बयान दिएका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अनामनगर चुनचाँदी पसलको यो घटनामा एक जनाको साथबाट मोटरसाइकल बरामद गरिएको बताए। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ।