माइतीघरमा शनिबार खुट्टा राख्ने ठाउँ थिएन।
सधैं हक-अधिकारका लागि आन्दोलन हुने यो चोकमा शनिबार भने कोही आन्दोलन गर्न आएका थिएनन्। त्यहाँ हर्ष र उल्लास थियो– यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरूको। तर यो हर्ष र उल्लास आफैंमा एउटा आन्दोलन नै हो।
उनीहरूले माइतीघरको सडकमा आफ्नो खुसीको इन्द्रेणी छरिदिए। त्यो इन्द्रेणी उनीहरूको समुदाय झल्काउने चिह्न हो।
अंग्रेजी क्यालेन्डरको जुन महिना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विशेष महिना हो। त्यही भएर उनीहरू गर्वसाथ यो महिनालाई 'प्राइड मन्थ' भन्छन्।
पारिलो घाम, सिरसिर चलेको हावाले माइतीघरका रूखका पात हल्लाइरहेका थिए। पातसँगै उनीहरू ठूलो इन्द्रेणी झन्डा पनि फहराइरहेका थिए। झन्डामुनि उनीहरू 'ह्याप्पी प्राइड परेड' भन्दै चिच्याइरहेका थिए।
चारैतिर प्रहरीले सुरक्षा दिइरहेका थिए। त्यहाँ आउनेहरू रमाइरहेका देखिन्थे। त्यही हुलमा बाटोमा हिडिँरहेका मान्छे पनि खुसी साट्न मिसिन्थे। यस्तो लाग्थ्यो, इन्द्रेणी रङमा उनीहरू पनि मिसिन चाहन्थे।
इन्द्रेणी झन्डामा मात्र थिएन, कसैको गालामा चित्रका रूपमा, कसैले झोलामा त कसैले लुगाका रूपमा लगाएका थिए। घाम छेक्न ल्याइएको छातामा समेत इन्द्रेणी रङ देखिन्थ्यो।
माइतीघर र त्यहाँ उपस्थितहरू सबैको इन्द्रेणीमय अनुहार।
इन्द्रेणी ब्यानरमा यौनिक तथा लैंगिक समुदायलाई माया गर, सम्मान गर लगायत लेखिएको थियो। उनीहरू नारा लगाइरहेका थिए– यो समुदाय रोग नभई प्राकृतिक स्वरूप हो।
जसरी इन्द्रेणी प्राकृतिक हो, यो समुदाय पनि प्राकृतिक हो। जसरी यसमा फरकफरक रङ छन्, यो समुदायले पनि फरक देश, जात, धर्म, लिंग, उमेरका व्यक्तिलाई प्रतिनिधित्व गर्छ।
जसरी इन्द्रेणी सुन्दर देखिन्छ, यो समुदाय पनि सुन्दर छ।
माइतीघरमा यो सुन्दरता नियाल्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय मात्रै थिएन। विभिन्न संघसंस्थाका व्यक्ति, सामाजिक अभियन्ता, युवा, किशोर–किशोरी, गर्भवती महिला सबै खुसी महोत्सव मनाउन आएका थिए। कोही सडकको डिलमा उभिएर नियालिरहेका थिए। कोही भीडमै आएर आफूलाई खुलाइरहेका थिए।
सबै रमाइरहेका बेला दुई युवती इन्द्रेणी टिसर्ट लगाएर प्लाकार्ड बोक्दै तस्बिर मोबाइलमा कैद गर्दै थिए।
हामीले उहाँहरूको नजिक पुगेर सोध्यौं, 'कस्तो लाग्दै छ आजको दिन?'
युवतीहरूले भने, 'एकदम रमाइलो। हेर्नुस् न हामीले त टिसर्ट नपाएर अनलाइनबाट बल्लबल्ल मगाएर लगायौं।'
यो प्राइड मन्थ मनाउन जुन महिनाको पहिलो दिनदेखि उत्साहित भएको उनीहरूले बताए। खुसीको महोत्सव मनाउन जाँदा के कपडा लगाउने, कस्तो प्लाकार्ड बनाउने, कसरी जाने भनेर तयारीको हतारमा थिए।
'यही दिनका लागि भनेर हामीले इन्द्रेणी टिसर्ट खोजेका थियौं तर कतै पाएनौं। अनि अनलाइनबाट महोत्सवकै दिन किनेर लगायौं,' उनीहरूले भने।
उनीहरूजस्तै खुसीको महोत्सव मनाउन आएका व्यक्तिहरूले गीत गाए, कविता वाचन गरे, नाचे।
यो महिना यौनिक तथा अल्पसंख्यक समुदायका लागि विशेष हो। यो महिनालाई उनीहरू आफ्नो मनले चाहेअनुसार चाड, पर्व, महोत्सव, स्वतन्त्रताको प्रतीक जेको पनि अर्थ दिन सक्छन्।
ट्रान्सम्यान (पारलैंगिक पुरुष) एलेन भण्डारीका अनुसार नेपाली यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूले यो महिनालाई उत्सव बनाउन थालेको सन् २०१९ बाट मात्र हो।
जुन महिनालाई किन उनीहरूले गौरवको यात्रा भनेर मनाउन थाले भन्ने लामो इतिहास छ। यसलाई यो समुदायको ठूलो विद्रोहको आन्दोलनका रूपमा चित्रण गर्न सकिन्छ।
६०औं दशकमा विश्वभरि समलैंगिकतालाई घृणाको दृष्टिले हेरिन्थ्यो। मानसिक रोग भनेर व्यवहार गरिन्थ्यो। समाजले अस्वीकार्य ठानेर हेर्थ्यो। त्यो बेला अहिलेजस्तो यौनिकताका विभिन्न आयाम र पहिचानहरू खुलिसकेका थिएनन्।
अमेरिकामा त्यो बेला समलैंगिकहरूले जन्मे-हुर्केका ठाउँमा खुल्न पाउने अवस्था थिएन। त्यसकारण उनीहरू आफ्नो पहिचान खुलाउन न्युयोर्क सहर पुग्थे। न्यूयोर्कको ग्रीनविचमा समलैंगिकहरू खुल्न सक्थे। आफ्ना समुदायका मान्छेहरूसँग बस्न सक्थे।
आफूले भोगेका दुःखपीडा भुल्न र रमाइलो गर्न उनीहरू 'स्टोनवाल' नामको बारमा गएर मदिरा पिउँथे, नाच्थे, खुसी मनाउँथे। यो बार विशेषगरी यही समुदायका व्यक्तिहरूका लागि भनेर प्रख्यात थियो। यहाँ आफूलाई बाँधेर बस्न नपर्ने भएकाले पनि धेरै मान्छे यहाँ आएर बसेका थिए।
त्यति बेला सार्वजनिक रूपमा समलिंगी व्यवहारमा संलग्न हुन (एउटै लिंगको कसैसँग हात समात्ने, चुम्बन गर्ने वा नाच्ने) नपाइने नियम थियो। त्यस कारण सन् १९६९, जुन २८ मा न्यूयोर्कको स्टोनवाल बारमा प्रहरीले छापा मार्यो। बारहरूमा मदिरा किनबेचमा धेरै संलग्न रहेको र समलिंगी व्यवहार गरेको आरोपमा केही मान्छेलाई प्रहरीले पक्राउ गर्यो।
योभन्दा अगाडि पनि प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरिरहेको थियो। तर उनीहरू केही नगरी चुपचाप सहिरहन्थे।
स्टोनवाल बारमा प्रहरीले छापा मारेर आफ्ना समुदायका मान्छेलाई पक्राउ गरेपछि भने ठूलो विद्रोह भयो। दंगा फैलियो। क्रिस्टोफर स्ट्रिटको बार बाहिर, सडकमा र नजिकैको क्रिस्टोफर पार्कमा विरोध र हिंसात्मक झडप भयो।
पक्राउ गरेको भोलिपल्टैदेखि मानव अधिकार हनन गरिएको भन्दै यौनिक तथा अल्पसंख्यक समुदायका र अरू व्यक्तिहरूले सडकमा आन्दोलन गर्न थाले। पाँच दिनसम्म चलेको आन्दोलनमा महिला अधिकारकर्मीहरूले समेत यो समुदायको अधिकार हनन नगर भन्दै राज्यलाई चुनौती दिएको थियो।
त्यसपछि विश्वका कुनाकुनामा यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिले आआफ्नै तरिकाले आन्दोलन सुरू गरे।
आन्दोलन चर्किँदै गयो। महिलावादी आन्दोलनले मिडियाबाट एकदम ठूलो विद्रोह गर्न थाले। विभिन्न संघ–संस्था खुले र यो समुदायको अधिकारका लागि प्रदर्शन र आन्दोलन गरे।
त्यो आन्दोलनमा करिब ४०० मान्छे सरिक थिए।
त्यसपछि सरकारले पक्राउ गरिएका व्यक्तिलाई रिहा गरिदियो। यो समुदायको अधिकारका लागि राज्य संवेदनशील र सजग हुन बाध्य भयो।
औपचारिक ढंगबाट न्यूयोर्कमा यस समुदायको अधिकारका लागि काम गर्ने संस्थाहरू खुल्न थाले। विश्वका विभिन्न ठाउँमा संगठन बन्न थाले।
स्टोनवाल दंगाले संयुक्तराज्य अमेरिका र विश्वभरि समलिंगी अधिकार आन्दोलनका लागि उत्प्रेरकको काम गर्यो। यसले संसारभर तरंग ल्यायो।
विद्रोहको एक वर्षपछि, जुन २८, १९७० मा यो घटनाको वार्षिकोत्सव मनाइयो।
पहिलो वार्षिकोत्सव सिकागो, लस एन्जल्स, न्यूयोर्क र सान फ्रान्सिस्कोमा भएको थियो। केही वर्षभित्रै अमेरिका र विश्वभर समलिंगी अधिकार संस्थाहरू स्थापना भए। त्यो घटना सम्झिएर हरेक वर्ष जुनमा स्टोनवाल दंगाको सम्मानमा प्राइड मन्थ मनाउन थालियो।
संसारका धेरै सहरमा जुनमै प्राइड मन्थ मनाइन्छ। केही ठाउँमा भने अन्य समयमा पनि मनाइन्छ।
सुरूमा यो उत्सव एक दिन मात्र मनाइन्थ्यो। पछि पूरा जुनलाई नै यौनिक तथा अल्पसंख्यक समुदायकाहरूले गौरवको महिनाका रूपमा मनाउन थाले।
सन् १९९९ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले यो महिनालाई 'गे एन्ड लेस्बियन प्राइड मन्थ' का रूपमा औपचारिक मान्यता दिए। यसले यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूका विभिन्न आयाम र पहिचान खुल्दै गए। बाराक ओबामा राष्ट्रपति हुँदा यसलाई 'एलजिबिटी प्राइड मन्थ' का रूपमा मान्यता दिइयो। जो बाइडेनका पालामा 'एलजिबिटिक्यू प्लस (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वेर र थपका रूपमा) प्राइड मन्थ' का रूपमा मान्यता दिइयो।
सन् २०१९ जुन महिनामा न्यूयोर्क सहरका प्रहरी आयुक्त जेम्सपीओ निलले सन् १९६९ मा भएको स्टोनवाल घटनाका लागि औपचारिक माफी पनि मागे।
त्यही वर्षदेखि नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि यो महिनालाई गौरवको महिनाका रूपमा मनाउन थालेका हुन्।
'नेपालले यो विद्रोहलाई त्यति ध्यान दिएको थिएन। बिस्तारै यसबारे थाहा भएपछि 'गौरवको महिना जुन' भनेर सन् २०१९ बाट मनाउन थालिएको हो,' शनिबार माइतीघरमा आफ्नो पहिचानमा गर्व गरिरहेका एलेन भण्डारीले भने।