धनुषाको हंसपुर नगरपालिका-३ का १८ वर्षीय मुफिद मन्सुरी जलेश्वर भिटामोडमा ग्यारेजमा गर्थे। सानै उमेरदेखि मोटरसाइकल मर्मत गर्न सिकेका मोफिद बुटवल आएर काम गर्न चाहन्थे।
बुटवलमा मोफिदकी भाउजुको माइती थियो। भाउजुका भाइ मोहम्मद हरिफ मन्सुरी पनि ग्यारेजमै काम गर्थे। एउटै क्षेत्रमा काम गर्ने मोफिद र मोहम्मदको कुरा मिल्यो, बुटवलमै मोफिदको लागि पनि ग्यारेजमै काम गर्ने व्यवस्था मोहम्मदले मिलाइदिने भए।
यसअघि बुटवलमा कहिल्यै नआएका मोफिद शनिबार साँझ ८ बजेतिर जनकपुरदेखि बुटवल आउने लु २ ख ३८४१ नम्बरको बस चढे। पहिलेदेखि नै गरिरहेको काम भए पनि ठाउँ र परिवेश नयाँ भएकाले उनको मनमा विभिन्न तर्कना खेलिरहेका थिए।
बसको पछाडिको सिटमा बसेका उनले बस रोकिएको स्थानमा पानी र चिसो किनेर खान्थे। साँझको खाना भने घरमै खाएर हिँडेका थिए। उनी चढेको रात्री बस गीत बजाउँदै गुडिरहेको थियो। एकातर्फ रातको अँध्यारो अर्कोतर्फ नारायणघाटदेखि पश्चिम पहिलो पटक आउँदै गरेका मोफिदलाई बस कहाँ आइपुग्यो भन्ने पनि थाहा हुँदैनथ्यो।
बिहान ४ बजेर १० मिनेटमा मोफिदले मोहम्मदलाई पश्चिम नवलपरासीको बर्दघाट आइपुगेको भन्दै फोन गरेका थिए। बुटवल पहिलो पटक आएकाले ५ बजेतिर बसपार्कमा लिन आउन भन्दै कुरा टुंग्याएका थिए।
गाडी सरासर गुड्न पाएको भए पाँच बजेभित्रै बुटवल बसपार्कमा पुगिसक्थ्यो। बुटवल नपुग्दै बस भैरहवा-परासी सडक खण्डको रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमास्थित रोहिणी नदीको पुलबाट खस्यो।
बसपार्कसम्म मोफिदलाई लिन जान तयार भएका मोहम्मदलाई पौने पाँच नहुँदै उनी दुर्घटनामा परेको खबर आयो। बसपार्क जान तयार भएका मोहम्मद भैरहवा मेडिकल कलेजमा घाइते भेट्न पुगे। रातभर निदाउने र जाग्ने गर्दै आएका मोफिद बस दुघर्टनामा पर्दा आँखा चिम्लिए पनि जागै थिए।
आफ्नै रफ्तारमा गुडिरहेको बस एक्कासी पुलको रेलिङलाई भत्काउँदै बगरमा बजारिँदा उनको होसहवास उड्यो। उनको अनुहारमा सामान्य चोट लागे पनि दुर्घटनाको भयंकर दृश्यले उनलाई बेचैनी बनाइरहेको छ। अस्पतालले अवस्था खतरामुक्त रहेको बताए पनि उनको मन भने अझै शान्त भइसकेको छैन।
९ जना यात्रुले ज्यान गुमाएको बस दुर्घटनामा आफू बाँच्नु भाग्यको कुरा भएको उनले बताए।
‘गाडी बगरमा बजारिँदा अब मरियो भन्ने लागेको थियो, तर भाग्यले ज्यान जोगियो,’ उनले भने।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१३ का १८ वर्षीय रोहन चौधरी पनि दुई जना साथीसँगै सोही बसमा भैरहवा आउँदै थिए। भैरहवामा फलामको वेल्डिङको काम गर्ने रोहनले यसपटक घरदेखि आउँदा साथीहरू सतेन्द्र चौधरी र वरूण चौधरीलाई पनि काम लगाइदिने भन्दै लिएर आएका थिए।
उनीहरू पनि बसको पछाडिको सिटमा बसेका थिए। बिहान उज्यालो भइसकेकाले उनीहरूको निद्रा खुलिसकेको थियो। आँखा भने बन्द थिए। बस एक्कासी पुलको रेलिङमा ठोक्किएको आवाजले उनीहरूका आँखा खुलेका थिए। आँखा खुल्दासम्म बस पुलमाथिबाट बगरमा बजारिइसकेको थियो। ‘पुलमा ठोक्किएको आवाज सुनेपछि नै अब बस खस्दैछ भन्ने थाहा पाइसकेको थिएँ, बस खस्दाखस्दै झ्यालको शिशा पनि खुलिसकेको थियो,’ रोहन भन्छन्।
बगरमा उत्तानो गरी बजारिएको बसको झ्याल खुल्ला भेटेपछि आफू नै सबैभन्दा पहिले बसबाट बाहिर निस्किएको उनले बताए।
‘नजिकैको शिशा खुला भेटेपछि सबैभन्दा पहिले बसबाट म निस्किएको थिएँ, त्यसपछि सतेन्द्र, वरूण र एउटै सिटमा बसेका मोफिदलाई तानेर निकालें,’ उनले भने।
दुर्घटनाको आधा घन्टाभित्रै घटनास्थल पुगेको प्रहरीले उद्धार गरी भ्यानमा राखेर अस्पताल ल्याएको रोहनले बताए। निद्रा खुलिसकेको भए पनि आँखा चिम्लिएकाले दुर्घटना कसरी भयो भन्नेबारे जानकारी नभएको उनीहरु बताउँछन्।
अहिले उनीहरू चारैजनाको अवस्था खतरामुक्त छ। रोहनको लागि भैरहवा पुरानै भए पनि अरू तीन जना भने पहिलो पटक आउँदा नै दुर्घटनामा परेको उनले बताए। चार जनामध्ये सतेन्द्रको छातीमा र वरूणको खुट्टामा चोट लागेको छ। रोहनको अवस्था भने सामान्य नै रहेको अस्पतालले जनाएको छ। घाइते सबैको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचार भइरहेको छ।