जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
आज बिहान करिब ४:३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको हो।
दुर्घटनाको खबर पौने पाँच बजेतिर आएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
राेहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस राेहिणी नदीमा खसेको हो।
लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पाैडेलले जानकारी दिए।
घाइतेहरुकाे उद्धार गरेर प्रहरीले अस्पताल लगेको थियो। बस दुर्घटनामा २४ जना घाइते छन्। उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेकाे छ।
बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो।
चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।
मृत्यु भएकामध्ये ८ पुरूष र एक महिला छन्।