फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई पाँच वर्षअघि सगरमाथाको आधार शिविर जाने अवसर जुर्यो। हिमाली जिल्ला गोरखामा जन्मे हुर्के पनि त्योभन्दा अगाडि उनले कहिल्यै हिमाल टेकेकी थिइनन्।
त्यसैले पूर्णिमा सगरमाथा आधार शिविर जाने कुराले हौसिएकी थिइन्। तर जुनबेला उनी आधार शिविर पुगिन्, उनलाई सेताम्मे हिमश्रृंखलाले मात्र लोभ्याएन, एक्कासि हिमाल चढ्ने हुटहुटी जागेर आयो।
'एक वर्ष त मैले सगरमाथाभन्दा अरू केही पनि देखिनँ। कसरी सगरमाथा जाने भन्ने मात्र दिमागमा थियो। त्यतिधेरै भूत चढेको थियो,' त्योबेला स्मरण गर्दै उनले सुनाइन्।
तर हिमाल चढ्न इच्छा गरेर मात्र हुँदैन भन्ने पूर्णिमालाई राम्रो थाहा थियो। किनभने हिमालमा जाँदा लाग्ने खर्चबारे उनी पहिल्यै जानकार थिइन्। त्यसमाथि सामान्य किसान परिवारमा जन्मेकी उनका लागि हिमाल चढ्ने खर्च बन्दोबस्त गर्न चानचुने कुरा थिएन। उनी दिनरात खर्च कसरी जुटाउन सकिन्छ भनेर सोच्थिन्। फोटो पत्रकारिताबाट आएको पैसा खानपानमै ठिक्क थियो। त्यसैले उनले अरूबाट सहयोग लिनुको विकल्प ठानिनन्।
त्यसका लागि उनले सुरूमा आफ्नो जिल्लालाई सम्झिइन्। आफ्नो ठाउँको चलेका नेता, व्यवसायी, समाजसेवी सबैलाई भेटिन्। तर तीमध्ये धेरैले उनलाई सहयोग गर्न चाहेनन्। पहिलो कुरा त उनले ज-जसलाई आफू सगरमाथा चढ्न लागेको भनेर सुनाइन्, उनीहरू कसैले पनि उनले हिमाल चढ्न सक्छन् भनेर पत्याएनन्। किनभने पूर्णिमा सानो गाँठीकी थिइन्।
'गोर्खाली हो, मलाई सहयोग गरिहाल्छन् नि भनेर नेता, व्यवसायीहरूलाई भेटेँ। तर चाहेर पनि उहाँहरूले सहयोग गर्नुभएन। किनभने देख्दा पनि म सानो थिएँ। अनि उहाँहरूले भोलि केही भइहाल्यो भने अपजस मात्र हुन्छ भनेर सहयोग गर्नुभएन,' उनले सुनाइन्।
तर पूर्णिमालाई भने जसरी पनि हिमाल चढ्नु छ भन्ने थियो। त्यसमाथि कसैले नपत्याइरहेको स्थितिमा झन् उनी आफूलाई प्रमाणित गर्नुपर्छ भनेर झन् कस्सिइन्। जसरी हुन्छ खर्च जुटाउनेतिर लागिन्।
खर्च जोहो गर्न त्योबेला खेपेको कष्ट सम्झिँदै उनले भनिन्, 'कसैले कफी खाम न भन्यो भने पनि त्यो कफीको पैसा बरु मलाई दिए हुने नि भन्ने लाग्थ्यो। त्यस्तोसम्म सोच आउँथ्यो।'
जेनतेन खर्च जुटेपछि पूर्णिमा सगरमाथा आरोहणका लागि तयारीमा जुटिन्। सगरमाथा चढ्नुअघि ६ हजार मिटर अग्लो हिमाल चढ्नुपर्ने नियम अनुसार कुन हिमाल चढ्ने भनेर सोच्दै थिइन्। तर त्यहीबेला उनको योजनामा फेरबदल आयो।
६ हजार मिटर हिमाल चढ्नुको सट्टा अर्को कुनै ८ हजार अग्लो हिमाल चढ्ने र पछि नेपालमा रहेका ८ मिटर अग्ला सबै हिमाल चढ्ने योजना बनाइन्।
सगरमाथा चढ्ने योजनाबाट उनको हिमाल आरोहणको सपना झन् ठूलो भयो। तर त्यसका लागि चाहिने ठूलै खर्च चाहिँ कसरी जुट्छ भन्नेमा उनलाई कुनै भेउ थिएन। जसरी हुन्छ हिमाल चढ्ने एकोहोरो सोच मात्र दिमागमा थियो।
८ हजार मिटरको हिमाल यात्रा पूर्णिमाले आफ्नै गोरखामा रहेको मनास्लुबाट सुरू गर्ने निधो गरिन्। नभन्दै उनले २०७४ मा मनास्लुको सफल आरोहण गरिन्।
मनास्लुको शिखरमा पुग्दाको खुसी पूर्णिमा आज पनि बयान गर्न सक्दिनन्।
'सात वटा हिमाल चढिसकेको खुसीभन्दा पनि मनास्लुको चुचुरोमा पुग्दाको क्षणले छुट्टै आनन्द दिन्छ। किनभने त्योबेला मलाई कसैले पत्याएका थिएनन्। यतिसम्म कि मैले मनास्लुको फोटो फेसबुकमा राख्दा कति मान्छेले हैन होला भन्दै जूम गरीगरी हेरे रे,' उनले भनिन्।
मनास्लुको सफल आरोहणपछि हिमालप्रतिको मोह पूर्णिमामा झन् बढेर गयो। लगत्तै उनले २०७५ मा सगरमाथाको आरोहण गरिन्। त्यसपछि उनले अन्नपूर्ण र धौलागिरि चढिन्। र अन्नपूर्ण र धौलागिरि चढ्ने उनी पहिलो नेपाली महिला बनिन्।
पछिल्लोपटक भने उनले कञ्चनजंघा, लोत्से र मकालुको आरोहण गरिन्। गएको महिनाभित्र उनले यी तीनवटै हिमालको आरोहण गरेकी हुन्। योसँगै उनले नेपालको ८ हजार मिटर अग्ला हिमाल चढ्ने पहिलो नेपाली महिलाको कीर्तिमान कायम गरेकी छन्।
विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छ। ती ८ मध्ये चोयु भने तिब्बततर्फबाट चढ्नुपर्छ। भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन। अब पूर्णिमाले यही एउटा चोयुको आरोहण गर्न बाँकी छ।
उनी भन्छिन्, 'नेपालबाट पनि चोयु खुलाउने कुरा भइरहेको छ। त्यो भयो भने यही वर्षमा चोयु पनि चढ्छु।'
नेपालको सबै ८ हजार मिटर अग्ला हिमाल चढिसकेपछि के गर्ने भन्नेमा अहिले कुनै योजना नरहेको पूर्णिमा बताउँछिन्। यद्यपि हिमाल आरोहण क्षेत्र र पत्रकारितालाई भने सँगसँगै लैजाने उनको सोच छ। साथै भोलिका दिनमा राम्रा सहयोग आएको अवस्थामा विदेशको हिमालहरू पनि चढ्ने सोच रहेको उनले बताइन्।
'नेपालमा यस्तो छ, विदेशमा कस्तो हिमाल होला भन्ने हुन्छ। पछि सबै कुरा राम्रो हुँदै गयो भने विदेशको हिमालहरू पनि चढ्ने सोच छ,' उनले भनिन्।