मुस्ताङमा आइतबार बिहान दुर्घटना भएको तारा एयरको जहाज पाइलट प्रभाकर घिमिरेले चलाएका थिए।
जहाजमा सहायक पाइलट उत्सव पोखरेल एयर होस्टेस कृष्मी थापा मगर पनि थिए। उनीहरू १९ जना यात्रुलाई लिएर मुस्ताङको जोमसोम जाँदै थिए।
जोमसोम पुग्न केही मिनेटमात्र बाँकी रहेका बेला बिहान १०:०७ बजे जहाज सम्पर्कविहीन भयो।
१४ हजार ५०० फिटमा उडिरहेका बेला जहाज पहाडमा ठोक्किएर दुर्घटनामा परेको थियो। सोमबार साँझसम्म जहाजमा रहेका २१ जनाको शव फेला पारिसकेको छ। त्यसमध्ये एक जनाको शव भने खोजी भइरहेको छ।
दुर्घटनामा परेको जहाज ६२ वर्षीय अनुभवी पाइलटले चलाएका थिए।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उनी सन् २००४ देखि तारा एयरसँग आवद्ध थिए।
उनले ट्विनअटरमात्रै १७ हजार ५ सय घन्टा बढी उडान गरिसकेका थिए।
उनी प्रशिक्षक पाइलट समेत थिए।
‘२००४ देखि आवद्ध हुनुहुन्थ्यो। १७ हजार ५ सय घन्टा बढी उडान गर्नुभएको थियो। उहाँ प्रशिक्षक पाइलट पनि हो। ट्वीनअटरमा मात्रै उडाउनुभएको हो,’ उनले भने, ‘हाम्रो संस्थामा आवद्ध हुनुअघि उहाँ सिभिल एभिएसनमा एटिएसी हुनुहुन्थ्यो। एभिएसनकै पाइलटको रूपमा उहाँले काम गर्नुभएको थियो। सेफ्टी डिपार्टमेन्ट (उडान सुरक्षा विभाग)मा बसेर काम गर्नुभएको थियो।’
टेबहालमा जन्मे-हुर्केका उनी पछिल्लो समय उनी कीर्तिपुरको ट्याङ्लाफाँट बस्दै आएका थिए। उनी घरका कान्छो छोरा हुन्।उनका दुई जना बहिनी र तीन जना दाइ छन्। उनका दाइ ज्योति घिमिरे गायक हुन्।
‘हामी १४-१५ वर्षको हुँदादेखि नै साथी थियौं। मैले पछि टेबहालमा बस्न छाडेँ,’ घिमिरेका साथी नवीन तन्डुकारले सेतोपाटीसँग भने, ‘उ टेबहालमै बस्थ्यो तर पछिल्लो समय ट्यांग्लाफाँटमा बस्दै थियो। भेट नभएको पनि धेरै भइसकेको थियो। छिटफुट भेट हुन्थ्यो। एक-दुई महिना अघि पछिल्लो भेट भएको थियो।’
उनका अनुसार घिमिरे सानैदेखि पढाइमा पनि अब्बल थिए। एसएलसी सकाएपछि उनले आफूहरूलाई पाइलट बन्न तिर लाग्ने कुरा सुनाएका थिए।
‘हँसीमजाक गर्नुपर्ने स्वभावका थिए। उहाँकै बुवा पनि त्यस्तै खालको हुनुहुन्थ्यो,’ उनले भने,‘हिजो घर फर्किएर सामाजिक सञ्जाल खोल्दा आफ्नो साथी दुर्घटनामा परेको सुनियो। तै पनि हामी आश गरेर बसेका थियौं तर आज शवहरू भेटिएको कुरा आयो।’
उनका अर्का साथी शैलेश शाक्यका अनुसार घिमिरे राम्रा फुटबल खेलाडी समेत थिए।
संकटा क्लबबाट उनले ए डिभिजन फुटबलसमेत खेलेको उनले बताए।
‘उनी संकटा फुटबल क्लबबाट ए डिभिजन खेलेका खेलाडीसमेत हुन्। २५-३० वर्ष अगाडि उनी संकटा क्लबको लागि खेल्थे,’ उनले भने,‘उनी एकदमै राम्रो फुटबल खेल्थे।’
पछि सन् १९९१ मा घिमिरे अमेरिकामा पाइलट अध्ययन गर्न गएको उनले बताए। त्यहाँबाट प्रशिक्षण लिएर आएपछि नागरिक उड्डयन प्राधिकरणका लागि काम गरेका थिए।
‘सिभिल एभिएसनमा २५ वर्षसम्म जागिर गरेका थिए,’ उनले भने, ‘धेरै नै काम गरिसकेको हुँदा टोलबासीले पनि अब पुग्यो भनिरहेको थिए।’
उनको र शाक्यको भेट डेढ हप्ता अगाडिमात्रै भएको थियो।
‘एक डेढ हप्ता अगाडि मात्रै न्यू रोडमा भेटेको थिएँ। पाइलट जस्तो मान्छेसँग धेरै भेट पनि नहुने। अब हिजो एक्कासी यस्तो खबर आयो। त्यसरी खबर आएपछि मैले उनका दाइलाई पनि फोन गरेको थिएँ,’ उनले भने,‘कसैको मृत्यु भएपछि हामी बिचा हेयका भन्छौं। (हार्दिक श्रद्धान्जली) तर मैले उहाँको खबर आएपछि फेसबुकमा टेबहालका छोरालाई सबैले सम्झनेछ भनेको थिएँ। एकदमै मिजासिलो मान्छे हुनुहुन्थ्यो।’
लामो समय तारा एयरमा काम गरेका उनको कुनै पनि दुर्घटनाको रेकर्ड थिएन। बरू उनी अरूको दुर्घटना हुँदा छानबिन समितिमै बसेर काम गर्थे।
‘अहिलेसम्म उहाँको कुनै दुर्घटनाको रेकर्ड थिएन। अरू-अरूको दुर्घटना हुँदा पनि उहाँ छानबिन समितिमा बसेर काम गर्नुहुन्थ्यो,’ तारा एयरका प्रवक्ता बर्तौलाले भने।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुर्घटना मौसमका कारण भएको देखिन्छ। यसबारे थप अनुसन्धान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन समेत गरेको छ।
‘अहिले हामीले प्रारम्भीक रूपमा हेर्दा मौसमकै कारणले भएको हो भन्ने देखिन्छ। तर विस्तृतमा दुर्घटना जाँच आयोगले छानबिन गरी भन्ला,’ उनले भने।
सम्बन्धित समाचार:
अमेरिकाबाट छुट्टी मनाउन आएका थिए दिदीबहिनी, आमाबाबुसहित परे दुर्घटनामा
एकल आमाले हुर्काएर एयर होस्टेस बनेकी कृष्मी
एक वर्षमै नेपाली आकाशमा अस्ताए चौरजहारीका पहिलो पाइलट
आमा-बुवा, काका-काकी र मामा-माइजुलाई मुक्तिनाथ दर्शन गराउन लैजाँदै थिए राजन गोले
'तेलको गन्ध पछ्याउँदै गएर हामीले जहाज भेट्यौं'