गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रन वेबाट नेपाल एयरलाइन्सको वाइडबडी फर्किन सकेको छैन।
रनवे बाट ट्याक्सी वेमा आउने लिंक रोडभन्दा केही अगाडि गएर रोकिएको छ। त्यहाँबाट मोड्दा डोमेस्टिक एप्रोनमा जान्छ तर त्यहाँ रोकिन ठाउँ पुग्दैन।
रन वेबाट तानेर ल्याउने तयारी गरिएको विमानस्थल प्रशासन अधिकृत विनोद सिंह रावतले जानकारी दिएका छन्।
प्रशासनिक भवनको छतमा जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकता पूर्वक पर्खिएर बसेका छन्।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ५:५५ बजे ल्याण्ड भएको थियो। तर रन वेबाट जहाज फर्किन सकेन।
दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।
जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत पूरा क्षमतामा यात्रु बोकेर उडेको हो। जहाजको सिट क्षमता दुई सय ७४ छ।
जहाजले ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गरेको हो। नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको हो।