नेपालको अध्यागमन विभागमा अमेरिकी नागरिक र उनकी पूर्व-श्रीमतीबीच छोरीलाई लिएर तानातान भएको छ।
अमेरिकी पासपोर्ट भएका करण गोयल आफ्नी ८ वर्षीय छोरीको लागि भिजिट भिसा लिन मंगलबार विभागमा पुगेका थिए।
उनी आफ्नी छोरी समेतलाई लिएर त्यहाँ पुगेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए।
त्यस्तै मंगलबार नै बालिकाकी आमा तथा ती अमेरिकी नागरिकका पूर्वश्रीमती कनिका गोयल पनि विभाग पुगिन्।
दुबै जना त्यहाँ पुगेपछि उनीहरूबीच छोरीलाई लिएर तानातान भएको थापाले बताए।
कनिका भने भारतीय नागरिक हुन्।
कनिकाले दिल्ली प्रहरी कार्यालयका आफ्ना श्रीमान र उनकी आमाविरूद्ध छोरीलाई अपहरण गरेको आरोपमा एफआइआर दायर गरेको इन्डिया टुडेले जनाएको छ। अपहरण गरी आफ्नी छोरीलाई नेपालमा ल्याएको भन्दै उनले एफआइआर दिएकी थिइन्।
दिल्ली प्रहरीले नेपालको दूतावास र अमेरिकी दूतावास समेतलाई जानकारी गराई अनुसन्धान गरिरहेको उक्त समाचारमा उल्लेख छ।
थापाले भने बालिकालाई अपहरण गरेर नेपाल ल्याएको भन्ने कुरा आफूलाई जानकारी नभएको बताए।
‘विभागले भिसा लिन आउनेलाई दिने काम गर्ने हो। त्योबाहेक अपहरण गरेको भन्ने विषय हाम्रो अधिकार क्षेत्र बाहिरको कुरा हो,’ उनले भने, ‘मंगलबार अमेरिकी पासपोर्ट भएका नागरिक आफ्नी छोरीको लागि भिसा लिन आउनुभएको थियो। अनि आमा पनि आउनुभएको थियो।’
उनले थपे, ‘त्यसबीच उहाँहरूबीच मेरो बच्चा मेरो बच्चा भनेर तानातानको स्थितिचाहिँ आएको हो।’
बच्चा तानातान भएपछि अध्यागमनले काठमाडौंस्थित अमेरिकी र भारतीय दूतावासका अधिकारीहरूलाई बोलाएको थियो।
उनीहरूलाई बोलाएर छलफल गरेको थापाले बताए।
‘दुबै देशका राजदूतावासका मान्छेलाई बोलाएर हामीले छलफल गर्यौं। छलफलपछि बालिकाको बुवाले लिएर जानुभयो,’ उनले भने, ‘त्यसबाहेक आफ्नो कार्यक्षेत्रको कुरा भएन।’
इन्डिया टुडेको समाचारका अनुसार करण र कनिका अलग भएको केही समय भइसकेको छ। दिल्लीस्थित एक अदालतको आदेशअनुसार कनिकाले आफ्नी छोरीलाई बुवा र हजुरआमालाई भेटाउन लगेकी थिइन्।
उनले पाँच तारे दिल्ली एरोसिटी होटलमा पुर्याएपछि निरन्तर सम्पर्कमै थिइन्।
एकदिन आफ्नी छोरीसँग सम्पर्क हुन नसकेपछि भोलिपल्टै कनिका होटल पुगिन्। तर उनीहरू त्यहाँ थिएनन्।
सिसिटिभी फुटेज हेर्दा उनीहरू अघिल्लो रात नै ट्याक्सी चढेर गएको देखिएको थियो।
कनिकाले प्रहरीलाई खबर गरेपछि उनीहरू नेपाल आएको खुलेको हो।
नेपाल प्रहरीको इन्टरपोल शाखा स्रोतका अनुसार उनीहरू अप्रिल १६ मा गाडीबाट सूदुरपश्चिम हुँदै काठमाडौं आइपुगेका हुन्।
‘अमेरिकामा पनि मुद्दा परेको भन्ने कुरा सुनिएको छ। आधिकारिक कुरा आएको छैन,’ थापाले भने, ‘तर बच्चालाई अदालतले बुबासँग राख्न भनेको रहेछ। फेरि बुवा भारत आउँदा आमाले पनि मुद्दा हालेको रहेछ। भारतको अदालतचाहिँ छोरी आमासँग राख्न दिने र बुवालाई भेट्न दिने भन्ने कुरा गरेको रहेछ। त्यही भेट्न दिएको बेला बुवाले नेपाल ल्याएको भन्ने बुझियो।’