रामेछाप मन्थली नगरपालिका-९ घर भई कतार रहेका वीरेन्द्र पुरी बिहीबार मध्यरातमा काठमाडौं पुग्दैछन्।
महालक्ष्मी नगरपालिका-८ लुभुमा २ वर्षीय छोरा आर्यनलाई कारले ठक्कर दिँदा बुधबार साँझ मृत्यु भयो। त्यो खबरपछि उनी काठमाडौं आउन लागेका हुन्। उनकी श्रीमती भने लुभुकै घरमा बेहोस अवस्थामा छिन्।
उनीहरू लुभुको सेराफाँटमा डेढ वर्षदेखि टहरामा बस्दै आएका छन्।
बुधबार साँझ विमला आफ्ना ५ वर्षीय जेठा छोरालाई विद्यालयबाट लिएर घर फर्किएकी थिइन्। फर्किसकेपछि आफ्ना दुबै छोरालाई लिएर नजिकै चिया पसल सञ्चालन गर्दै आएकी दिदी देवकी पुरीको घर पुगे।
त्यहाँ पुगेर आर्यनले चाउमिन खाने भनेका थिए।
‘चाउमिन खाने भनेको थियो। हामी यतै बसिरहेका थियौं। एक्कासि मेरो भाइ यताबाट दौडियो,’ उनले घटनास्थल देखाउँदै भनिन्,‘ढुंगामा अल्झिएपछि कारको छेउले मात्रै छोएको थियो। मैले प्रष्टसँग देखेँ।’
गाडीले छुँदा पनि आफ्नो भाइलाई केही नभएको उनी बताउँछिन्। तर पछि गाडीले ब्रेक नै नलगाई अघि बढेको उनले सुनाइन्।
‘छोएको मात्रै थियो। भाइ रोयो पनि, त्यसपछि जानाजान पूरै पेल्दियो। छोएको मात्रै भए केही हुँदैन थियो,’ उनले थपिन्,‘चक्काले पेलेर मेरो बाबुलाई मारिदियो। एकैछिनमा मेरो भाइलाई लास बनाइदियो।’
आर्यनलाई बा १६ च ३६८७ नम्बरको गाडीले ठक्कर दिएको हो। चालक लामाटार बस्ने ४१ वर्षीय सुजनराज शर्मा हुन्। उनी नेपाली सेनाका पूर्वजमदार समेत हुन्।
उनी बिसुन्डोलको बाटो हुँदै लामाटारतर्फ जाँदै थिए। त्यतिकैमा दुर्घटना भएको हो।
दुर्घटना भएपछि चालक शर्मा आफैंले आमा-छोरालाई गाडीमा हालेर इमाडोलस्थित किष्ट अस्पताल पुर्याएका थिए।
अस्पतालले आर्यनलाई सवा ६ बजे मृत घोषणा गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।
उनका अनुसार कार र चालक दुबैलाई नियन्त्रणमा लिइसकेको छ। तर न्याय नपाउने डरले पीडित परिवारले बिहीबार बिहान केहीबेर घटनास्थलमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए।
‘कारबाही गर्नुपर्छ भनेर भेला जम्मा हुनुभएको थियो। तर धेरैबेर भएन। अवस्था सामान्य छ,’ शाहले भने।
चालकले मापसे गरी सवारी साधन चलाउँदा दुर्घटना भएको आरोप लगाएका छन्। तर प्रहरीले भने उनले मापसे नगरेको बताएको छ।
अहिले आर्यनको शव भने पोष्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ।
उनका बुवा वीरेन्द्र आएपछि मात्रै दाहसंस्कार गर्ने देवकीले बताइन्। वीरेन्द्र विदेश गएको केही महिनामात्रै भएको थियो।
वीरेन्द्र र विमला मन्थलीको एउटै गाउँका हुन्। उनीहरूको पाँच वर्षअघि प्रेम विवाह भएको थियो।
विमला यता दुई छोरा सम्हाल्थिन्। उता विदेशमा वीरेन्द्र कमाउँथे।
आर्यनलाई पनि आउँदो वैशाखदेखि नै विद्यालय पठाउने कुरा समेत भइरहेको थियो। तर त्यतिकैमा यो घटना भएको देवकीले बताइन्।
‘आमा हिजोदेखि बेहोस छिन्। अब अस्पताल लैजान पर्यो भनेर लागेका छौं,’ उनले भनिन्, ‘हिजो अस्पतालबाट बेहोस ल्याएका थियौं। अहिलेसम्म होस आएको रहेनछ। कोठा लिएर बच्चालाई पढाउँथिन्। वैशाखमा पढाउने कुरा थियो। सधैं मेरो घर आउने उनीहरू हिजो यो घटना घट्यो।’
यस घटनामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान अघि बढाएको बताएको छ।
यो पनि: लुभुमा कारको ठक्करले दुई वर्षीय बालकको मृत्यु