सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ स्थायी घर भएका ३२ वर्षीय अनिल गुरूङ गत पुस ७ गते अफ्रिकी मुलुक कंगो गएका थिए।
नेपाली सेनाको शान्ति मिसनको सबै मापदण्ड पूरा गरेपछि उनी द्वन्द्वग्रस्त कंगोका लागि छनोट भएका थिए।
त्यसअघि मंसिरमा दिदीकी छोरीको जन्मदिन मनाउन उनी काठमाडौं आएका थिए। उनी गोकर्णस्थित आर्मीको ब्यारेकमा तालिम गर्न आएको बेला दिदीकी छोरीको जन्मदिन परेको थियो।
गुरूङ त्यसअघि नेपाली सेनाको कृष्ण दल गण इटहरीमा कार्यरत् थिए। त्यहाँ काम गर्दागर्दै शान्ति मिसनको तालिममा सहभागी हुनका लागि गुरूङ गोकर्ण आएका थिए।
काठमाडौं सोह्रखुट्टे नयाँबजारकी विद्या महर्जनसँग गुरूङको १२ वर्षअघि प्रेम विवाह भएको थियो। नेपाली सेनामा भर्ना भएको एक वर्षपछि विद्यासँग अनिलले विवाह गरेका थिए।
३३ वर्षीया विद्या अहिले नयाँबजारस्थित माइतीघरमा बस्छिन्। ९ वर्षीय छोरा टोखास्थित नेसनल मोडल स्कुलमा कक्षा ४ मा पढ्छन्। विद्या वनस्थलीस्थित उद्यमशीलता बहुउद्देश्यीय सहकारी संस्थामा गत भदौदेखि काम गर्दै आएकी छिन्।
विद्याका अनुसार चैत २१ गते छोरासँग अनिलको अन्तिम पटक कुराकानी भएको थियो। अनिलले विद्याको म्यासेन्जरमा भिडिओ कल गरेका थिए। बाबु-छोरा र श्रीमतीबीच त्यो अन्तिम संवाद थियो।
‘घर कहिले आउने भन्ने टुंगो थिएन, कुराकानी भइरहन्थ्यो, बाबुलाई राम्रोसँग पढाउनू भन्नुहुन्थ्यो,’ विद्याले सेतोपाटीसँग भनिन्, ‘खै के भन्ने र, यस्तो खबर सुन्नुपर्यो!’
अनिलको मृत्युको खबर विद्याले अझै पत्याउन सकेकी छैनन्। उनलाई यो सपनाजस्तो लागिरहेको छ।
विद्या माइतीघरमा बस्न थालेको चार वर्ष भएको छ।
‘ससुरा बुवा र परिवार सुर्खेतमै बस्नुहुन्छ, म छोरालाई पढाउन भनेर काठमाडौं बसेकी हुँ,’ विद्याले भनिन्।
गुर्भाकोटमै रहेका अनिलका बुवा लालबहादुर गुरूङले मंगलबार नै छोरो मारिएको खबर सुनेका थिए।
लालबहादुरका अनुसार अनिलसँगै सेनामा भर्ना भएका नाति पर्ने चन्द्रबहादुर गुरूङले मृत्युको खबर सुनाएका थिए।
‘लौ बा पल्टनबाट फोन आउला उठाउनू, अनिलले वीरगति प्राप्त गर्यो है,’ चन्द्रबहादुरलाई उद्धृत गर्दै लालबहादुरले भने, ‘म केही बोल्नै सकिनँ।’
लालबहादुरका अनुसार अनिललाई २०६१ सालतिर माओवादीले घरबाट जबरजस्ती धाकधम्की दिएर लगेका थिए। एकपटक फर्केर पनि आए। तर, फेरि माओवादीले घरमै आएर अनिललाई लगे।
‘त्यसपछि मैले उसलाई काठमाडौं भगाएँ,’ लालबहादुरले भने।
लालबहादुरका भान्जा पर्ने रणबहादुर गुरुङ एक जर्नेलका बडिगार्ड थिए। काठमाडौं भगाएपछि रणबहादुरको साथ लगाइदिए। रणबहादुरले अनिललाई नेपाली सेनामा भर्ना हुने चाँजोपाँजो मिलाइदिएका थिए।
अनिलको मृत्यु भएको खबर सुनाउन बुधबार बिहान सैनिक अधिकारीहरू नयाँबजार पुगेका थिए।
‘हिजो राति नै खबर त सुनेका थियौं,’ विद्याले भनिन्, ‘आज बिहान जंगी अड्डाबाट दुई जना सरहरू आउनुभएको थियो, उहाँहरूले त्यही कुरा सुनाउनुभयो।’
विद्यालाई भेट्न पुगेका सैनिक अधिकारीहरूले गुरूङको शव एक साताभित्र नेपाल आइपुग्ने बताएका थिए।
मध्य अफ्रिकामा पर्ने कंगो द्वन्द्वग्रस्त मुलुक हो। यहाँ विभिन्न किसिमका हतियारधारी विद्रोही समूहहरू अस्तित्वमा छन्।
सरकारको कमजोर उपस्थितिका कारण कंगोमा जनताको जीउधनको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघले शान्ति सैनिक पठाएको छ। नेपाली सेना त्यहाँ सन् १९९९ देखि खटिएको छ।
यसक्रममा मंगलबार हतियारधारी समूहले कंगोको इतुरी प्रान्तको बाली भन्ने क्षेत्र कब्जा गर्न खोजेको थियो। हतियारधारी विद्रोही समूहको कब्जा तोड्दै शान्ति सेनाहरूले त्यो क्षेत्र सुरक्षित गरिसकेका थिए।
‘विद्रोही समूहको कब्जा तोड्न शान्ति सेनाहरू सफल भइसकेका थिए, हतियारधारीहरू भागिसकेका थिए,’ सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले सेतोपाटीसँग भने, ‘भागेका हतियारधारी समूहले अज्ञातस्थलबाट गोली प्रहार गर्दा हाम्रा शान्ति सेनाले वीरगति प्राप्त गरे।’
कंगोमा शान्ति सेनाले थ्रुपै चुनौती मोलिरहेको छ। हतियारधारी समूहलाई परास्त गर्नु नै शान्ति सेनाको मुख्य चुनौती छ।
‘संयुक्त राष्ट्र संघले दिएको म्याण्डेटअनुसार शान्ति सेनाहरू द्वन्द्वग्रस्त मुलुकमा जनताको जीउधनको सुरक्षामा खटिएका छन्,’ सिलवालले भने, ‘यसक्रममा शान्ति सेनाहरूले हतियारधारी समूहहरूका गतिविधि निस्तेज पार्न सर्च अपरेसन, कारबाही, डोमिनेसनलगायत धेरै कामहरू गरिरहेका हुन्छन्।’
मंगलबार हतियारीधारी समूह भागिसकेपछि अचानक गोली चलेको थियो। नेपाली सेनाको टोलीलाई लक्षित गरी प्रहार भएको गोली अनिललाई लाग्यो। उनी घाइते भए। उनलाई तुरुन्तै हेलिकप्टबाट उपचारका लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा पुर्याइएको थियो। गुरूङको उपचारका क्रममा मृत्यु भएको सिलवालले बताए।
नेपाली सेनाले हालसम्म ४३ देशमा शान्ति सेना पठाएको छ। तीमध्ये शान्ति स्थापनापछि धेरै मुलुकबाट मिसन टोली फिर्ता भइसकेका छन्। यसक्रममा गुरूङसहित ६९ जना सैनिकको मृत्यु भएको नेपाली सेनाले जनाएको छ।
सिलवालका अनुसार अहिले ११ वटा देशमा १२ वटा नेपाली सेनाको मिसन टोली खटिएका छन्। ती १२ युनिटमा करिब ५५ सय सेना तैनाथ रहेको उनले बताए।
कर्तव्य पालनाको सिलसिलामा निधन भएकोमा नेपाली सेनाले गुरूङप्रति उच्च सम्मान व्यक्त गरेको छ।
गुरूङको शव नेपाल ल्याउनका लागि नेपाली सेनाको पिस सपोर्ट अपरेसन निर्देशनालयले आवश्यक पहल थालिसकेको छ।
युएनको नियमअनुसार गुरूङको परिवारले क्षतिपूर्ति तथा राहत पाउने नेपाली सेनाले जनाएको छ।
युएन मिसन चुनौतीपूर्ण रहे पनि संयुक्त राष्ट्रसंघले आकर्षक तलब-भत्ता तथा सुविधाको व्यवस्थापन गरेको छ। त्यसकारण मिसन जान फौजी संगठनमा प्रतिस्पर्धा हुने गरेको छ। लिखित, मौखिक, प्रयोगात्मक सबै परीक्षा तथा मापदण्डमा पूरा गरेपछि मात्रै युएन मिसनमा सैनिकहरू पठाइने गरिएको छ।
नेपाली सेनाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट पनि द्वन्द्वग्रस्त मुलुकमा फौज पठाइने गरिएको छ।
‘युएनले राहत तथा क्षतिपूर्तिको मापदण्ड बनाएको छ, सोही अनुसार मृत्युवरण भएका सैनिकका परिवारले पाउने छन्,’ सहायक रथी सिलवालले भने।