उदयपुरको बेलका नगरपालिका-३ की १७ वर्षीया किशोरी कविता सुनुवारलाई मंगलबार बिहान सँगै पढ्ने साथीले फोन गरेकी थिइन्।
बिहान ४:१० मा उनीहरूबीच स्कुल जाने विषयमा कुराकानी भएको थियो। सोही वडाको कोसी जनता माध्यमिक विद्यालयमा कविता १० कक्षामा पढ्थिन्।
प्रधानाध्यापक सूर्यनारायण साहका अनुसार साथीसँग फोनमा कुराकानी भएपछि कविता घरबाट निस्केकी थिइन्।
‘साथीले फोन गरेपछि उनी घरबाट निस्केकी थिइन्,’ ती साथीको बयान उद्धृत गर्दै प्रधानाध्यापक साह भन्छन्।
साथी पनि उनीसँगै हिँडेको बुझिएको साह बताउँछन्। तर, साथी शंकास्पद तरिकाले घर फर्किइन्। उनको साथमा कोही छोरा मान्छे थिए।
साहका अनुसार ती साथी कविताकी सबैभन्दा नजिक र घर पनि सँगै छ।
कविता घरबाट पैदल निस्केकी थिइन्। उनी प्राय: पैदल नै विद्यालय जाने गर्थिन्।
साहका अनुसार बेलका नगरपालिकाले स्कुलमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ। स्कुलले बिहान सवा ६ बजे अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ।
कविता यो बीचमा झन्डै २० दिन विद्यालयमा हाजिर भएकी थिइनन्। बिरामी परेकाले स्कुल नआएको बुझिएको थियो।
मंगलबार बिहान साथीले फोन गरेपछि उनी स्कुल आउन तयार भएकी थिइन्। ‘गाउँघर हो, अतिरिक्त कक्षाका लागि स्कुल ड्रेस अनिवार्य छैन,’ साहले भने।
कविता स्कुल त हिँडिन्, स्कुल पुग्नुभन्दा ६/७ सय मिटर छेऊकै जसोदा खोला मात्रै तर्न पाइन्।
वडाध्यक्ष भरतबहादुर मगरका अनुसार यसोदा खोलाको पूर्वपट्टी बाँसघारी छ। त्यहाँबाट करिब साठी मिटर तल कवितालाई घिसारेर लगिएको देखिएको छ।
‘घिसारेर लगेर केही तल पुगेपछि टाउकोमा ढुंगा प्रहार गरिएको देखिएको छ,’ वडाध्यक्ष मगरले भने, ‘घिसारेको ठाउँमा रगत छ, घिसार्दै फेरि अर्को ठाउँमा लगेर अनुहारमा ढुंगाले बेस्सरी हिर्काइएको छ।’
ढुंगा प्रहारबाट कविताको अनुहार क्षतविक्षत छ। उनको अनुहार चिन्न नसक्ने अवस्थामा छ।
‘सवा पाँचदेखि ६ बजेभित्रको घटनाजस्तो देखिन्छ,’ प्रधानाध्यापक साह भन्छन्, ‘एकदमै क्रुर ढंगले हत्या गरेको देखिन्छ, यो स्कुलमा पढ्ने विद्यार्थी कसैलाई अहिलेसम्म केही भएको थिएन, कस्तो हिंस्रक घटना भयो।’
साहका अनुसार कविता मिहेनती र इमान्दार विद्यार्थी थिइन्। उनको पढाइ एकदमै राम्रो थियो।
‘बिरामी भएर केही समय घर बसेकी मात्र हुन्, उनी एकदमै राम्रो विद्यार्थी थिइन्, कसैलाई दुर्बचन गर्दिनन् थिइन्,’ साहले भने।
नगरपालिकाले आफ्ना हरेक स्कुलमा विद्यालय सुधार कार्यक्रम ल्याइरहेका छन्। त्यसमध्ये अतिरिक्त कक्षा प्राथमिकतामा थियो।
‘वैशाखको एक महिनामा बाहेक जाडो-गर्मी दुबै मौसममा अतिरिक्त कक्षा हुन्थ्यो,’ साहले भने।
वडाध्यक्ष मगरका अनुसार बुद्धचोक, कालीखोलालगायत ठाउँका विद्यार्थी प्राय: पैदल नै स्कुल जाने गरेका छन्।
कविता घरकी कान्छी छोरी थिइन्। उनकी दिदीको त्यही वडामा विवाह भएको छ। उनका १० वर्षीय भाइ छन्।
बुवा कृष्णबहादुर सुनुवार बिहानै उठेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गएका थिए। नातिनी बिरामी भएका कारण जेठी छोरीलाई साथै लिएर सुनुवार बिहान मोटरसाइकलमा धरान हिँडेका थिए।
कृष्णबहादुर र कविता हिँडेको समय उस्तैउस्तै देखिएको वडाध्यक्ष मगर बताउँछन्। ‘आमालाई भने छोरी घरबाट हिँडेको थाहा भएको रहेनछ, बुवा र दिदीलाई थाहा रहेछ,’ मगरले भने।
घटनापछि स्थानीय र विद्यार्थी आक्रोशित छन्। उनीहरूले इलाका प्रहरी कार्यालय रामपुरमा घेराउ गरेका छन्।
शान्ति सुरक्षा र दोषीमाथि कारबाही माग गर्दै उनीहरूले केहीबेर प्रहरी कार्यालय घेराउ गरेको वडाध्यक्ष मगरले बताए।
हत्या गरिएकी छात्राको शव पोष्टमार्टमको लागि बिपी प्रतिष्ठान धरान पठाइएको छ। यो हत्या बिहान जसले फोन गरेर स्कुल जाऔं भनिन्, उनैबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराका अनुसार अनुसन्धानका लागि ती साथी र उनका दाजु नाता पर्ने विनोद ढकाललाई पक्राउ गरिएको छ।
साथीले फोन गरेर बोलाएको र विनोद पनि पछिपछि गएर दुबैले मिलेर कविताको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
‘साथी-साथीबीच केही समयअघि मनमुटाव भएको र त्यो निहुँ हत्यासम्म पुगेको बुझिन्छ,’ बोहराले भने, ‘विस्तृत अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने छ।’
घटनाको अनुसन्धान संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेका छन्।