नेपाल धितोपत्र बोर्डले १० लाख लगानी गरे १० वर्षमा १० करोड दिन्छु भन्ने गोल्डम्यान इन्भेष्टमेन्टमाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको छ।
गोल्डम्यानले ठगी गरेको आशंकामा धितोपत्र बोर्डले केन्द्रीय अनुसन्धान ब्युरोलाई छानबिनका लागि पत्राचार गरेको हो। बोर्डले छानबिनमा सहयोग गर्न अर्थ मन्त्रालयलाई पनि चिठी लेखेको छ।
‘सेयर बजारसम्बन्धी कारोबार गर्ने भनी संस्थागत सेयर भन्दै गैरकानुनी तरिकाबाट गतिविधि गरेको पाइएपछि छानबिनका लागि प्रहरीलाई पत्राचार गरिएको हो,’ धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सेतोपाटीसँग भने।
अर्थ मन्त्रालयले यसबारे के गरिरहेको छ भन्नेबारे खुलिसकेको छैन। तर, प्रहरीले गोल्डम्यानमाथि आवश्यक अनुसन्धान अघि बढाएको बताएको छ।
‘धितोपत्र बोर्डले हामीलाई अनुसन्धानका लागि पत्राचार गरेको छ, ठगीको आशंका गरेर अनुसन्धान गर्न भनिएको छ,’ ब्युरोका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंहले सेतोपाटीसँग भने, ‘यस सम्बन्धमा के कसो हो हामीले अनुसन्धान सुरू गरेका छौं।’
गोल्डम्यानले इन्भेष्टमेन्टले तीन वर्षभित्र पब्लिक सेयरमा जाने भन्दै अहिलेदेखि संस्थागत पुँजी संकलनका लागि योजना सार्वजनिक गरेको छ। त्यसबारे बोर्ड आफैंले पनि अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका सिलसिलामा व्यक्ति ठगिएको आशंका बढेपछि बोर्डले प्रहरीमा पत्राचार गरेको बोर्ड अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए।
धितोपत्र बोर्ड र कम्पनी ऐनमा संलग्न नभइकनै गोल्डम्यानले करोडौं संस्थागत सेयर संकलनको योजना बनाएको छ।
उसले आफ्नो कम्पनीको वेबसाइटमा विज्ञापन सार्वजनिक गरेको छ। त्यसमा न्यूनतम् १० लाख रुपैयाँ बराबरको संस्थागत सेयर आह्वान गरिएको छ।
सो सेयर आए १० वर्षको नाफा र प्रतिफल गरेर ५ सय प्रतिशतसम्म लाभांश दिइने भनिएको छ।
‘यसरी बन्नुस् १० वर्षमै १० लाखबाट १० करोडको मालिक’ भन्दै विज्ञापनमा कम्पनीसँग आवद्ध हुन आह्वान गरिएको छ।
नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार, सूचना प्रविधिलगायतका विभिन्न क्षेत्रमा ५० वटा कम्पनी स्थापना गरी आगामी १० वर्षमा २.५ खर्बको कम्पनी बनाउने गोल्डम्यानले प्रचार गरिरहेको छ।
गोल्डम्यानको उद्घाटन गत पुसमा भएको थियो। पाँच वर्षको अवधिमा ५० कम्पनी बनाउने भनिएको छ।
अहिले नै यो कम्पनीमा ४० जना लगानीकर्ता पुगिसकेको गोल्डम्यानका अध्यक्ष दीपेन्द्र अग्रवालको दाबी छ। पुराना लगानीकर्ता भनिएका अग्रवालको विज्ञता कुन क्षेत्रमा हो भन्ने खुलेको छैन।
अग्रवाल जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्। कम्पनी उद्घाटनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव पुगेका थिए।
२०८४ सालमा गोल्डम्यान इन्भेष्टमेन्टको ‘लकिङ’ खुल्ने र २०८६ सालमा गोल्डम्यानको एफपिओ आउने भनिएको छ।
२०८८ सालसम्म यसको नेटवर्क २५ हजार पुग्ने साथै नेपालको सबैभन्दा ठूलो कम्पनी बन्ने भनी प्रचार गरिएको छ।
गोल्डम्यानको गतिविधिमाथि शंका उठाउँदै धितोपत्र बोर्डमा उजुरीहरू आइरहेका थिए।
गोल्डम्यानले एउटा कम्पनीमा १० करोड लगानी हुने र एउटा कम्पनीको पब्लिक सेयर १ लाख कित्ता हुने दाबी गरेको छ।
धितोपत्र बोर्डमा सूचीकृतपछि प्रतिसेयरको मूल्य ५ हजार हुने भनिएको छ। सूचीकृत ५० कम्पनीको सार्वजनिक सेयर पुँजी ५०० करोड हुने दाबी गरिएको छ। ५० कम्पनीको सेयरको बजार पुँजी २५ हजार करोड हुने दाबी गरिएको छ।
गोल्डम्यान लिमिटेडले आगामी आर्थिक वर्षभित्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराउने, ५० वटा नयाँ पब्लिक कम्पनीहरू स्थापना गरी व्यावसायिक सफलता हासिल गरेर धितोपत्र बजारमा जाने भनिरहेको छ।
उसले ५० कम्पनीको विविधिकरण पनि गरिसकेको दाबी गरेको छ। गोल्डम्यानले आफ्नो चालु परियोजनामा मेगा माइनिङ लिमिटेड काभ्रेलाई देखाएको छ।
त्यसमा ६ करोड लगानी गरिएको दाबी गरिएको छ र त्यसको शतप्रतिशत काम सम्पन्न भएको भनिएको छ।
क्रसर उद्योगको फोटो राखेर मेगा माइनिङ भनिएको छ। यस्तै, एउटा काष्ठ फर्निचरलाई देखाएर आगामी योजनामा आगामी योजनामा उड प्लाष्टिक कम्पोसाइट ८ करोडको लागतमा निर्माण गर्ने भनिएको छ।
यस्तै, १० करोडको लागतमा स्मार्ट डोर लिमिटेड काठमाडौंको टोखामा सञ्चालन गरिएको र त्यसको ८० प्रतिशत काम भइसकेको भनिएको छ।
‘गोल्डम्यानले देखाएका कुनै पनि कम्पनी विश्वासलाग्दा देखिँदैन,’ बोर्डका अर्का एक अधिकारी भन्छन्।
यस्तै, ८ करोडको लगानीमा ब्रेक सु फर कार, १० करोडको लागतमा लुब्रिकेन्टस् स्थापना गर्ने भनिएको छ।
भविष्यमा समेटिने अन्य कार्यक्रममा सूचना, शिक्षा, सेयर बजार, अस्पताल र औषधी, वित्तीय सेवा, पूर्वाधार विकास, कृषि निर्माण, हाइड्रो, रियलस्टेट रहेको बताइएको छ।
यो पनि हेर्नुहोस्