चितवनको माडीस्थित कुसुमखोलामा बनाइएका टहराहरू चितवन राष्ट्रिय निकुञ्जले भत्काइदिएको छ।
माडी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कुसुमखोलामा बनाइएका २० वटा भन्दा बढी साना टहराहरू निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीले अगो लगाएर भत्काइदिएका हुन्।
यही ठाउँमा २०७७ सालको साउनमा पनि हात्तीसहित पुगेको चितवन निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले भत्काइदिएका थिए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जको क्षेत्रमा छाप्रो बनाएर बस्नेक्रम बढेपछि भत्काइएको बताए।
‘म काम विशेषले काठमाडौंतिर छु, त्यहाँ एक परिवारमात्र रहेकोमा पछिल्ला दिनमा धेरै छाप्राहरू बनेको जानकारी भएपछि भत्काइएको जानकारी मैले पाएँ,’ आचार्यले भने, ‘आगजनी पनि भयो भन्ने कुरा सुनें। मैले आगजनीचाहिँ नगर्नु है भनेको थिएँ।’
उनले सरकारले सुकुम्बासीलाई लालपुर्जा दिन लागेको थाहा पाएपछि स्थानान्तरण भइसकेकादेखि नयाँ मान्छेहरू पनि जग्गाको आशामा कुसुमखोला पुगेर छाप्रो बनाउन थालेको जानकारी निकुञ्जलाई आएको बताए।
‘त्यहाँ नयाँ मान्छेहरू बस्न थाले भन्ने सुनेपछि निकुञ्जको टोली हप्ता-दस दिनमा पुगेर छाप्रा भत्काउने गर्दै आएको थियो। आइतबार पनि त्यहीरुपमा पुगेर भत्काइएको हो,’ उनले भने, ‘आफ्नो क्षेत्रको सुरक्षा गर्ने काम त निकुञ्जले गर्ने नै भयो।’
चितवन निकुञ्जको क्षेत्रमा रहेको कुसुमखोलामा २०४८ सालतिर बस्ती बसेको हो। चितवनको पहाडी क्षेत्र, मकवानपुर, तनहुँ लगायतका ठाउँबाट आएका सुकुमबासी परिवार यो ठाउँमा बस्दै आएका थिए।
बस्तीका अधिकांश परिवारलाई माडी नगरपालिकाले राइडाँडा, परुवीलगायतका विभिन्न ठाउँमा स्थानान्तरण गरेको छ। माडीका मेयर ठाकुर ढकालकाअनुसार यहाँ रहेको १६० परिवार मध्ये १५९ वटा परिवारलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर घर बनाइदिने काम नगरपालिकाले गरिरहेको छ। यो ठाउँ पुग्न माडी-ठोरी सडकको बगईबाट एक घण्टा हिँड्नुपर्छ।
‘काजीमान प्रजाको एउटा परिवार भने अन्यत्र जान नमानेका कारण त्यहीँ रहेको थियो,’ मेयर ढकालले भने, ‘तर स्थानान्तरण भइसकेका केहीले फेरि फर्किएर टहरा बनाएर बस्न थालेका रहेछन्।’
उनले त्यहाँ पुगेका मान्छेलाई सम्झाई बुझाई गर्नुपर्नेमा एक्कासी गएर आगजनी गर्नु दु:खद विषय भएको बताए।
‘हामीले काजीमानलाई पनि सम्झाइरहेका थियौं। सबै झरे तपाई पनि झर्नुपर्यो। घर बनाइदिन्छौं भनेर सम्झाएका थियौं,’ ढकालले भने, ‘तर निकुञ्जले नगरपालिकालाई पनि कुनै जानकारी नै नदिई आगो लगाइदिएछ।’
उनले मान्छे बस्ने ठाउँमा आगजनी गर्नु निकृष्ट काम भएको बताए।
‘यो कुरा मैले निकुञ्जका वार्डेनलाई फोन गरेर पनि भनेको छु। यो निकृष्ट काम हो,’ उनले भने, ‘त्यहाँबाट बस्ती सर्दै थियो। यसरी आगो लगाइहाल्न हुन्थेन।’
उनले घटना भएको केही घण्टामा कुसुमखोला पुगेर अनुगमन गरेको बताए। निकुञ्जको टोलीले काजीमानको पक्की घरमा केही गरेको छैन। उनको खरले छाएको घर भने भत्काइएको मेयर ढकालले बताए।
‘घर भित्रका सामान बाहिर फाल भनेछन्, फालेपछि भत्काएर आगो लगाएको जानकारी त्यहाँका मान्छेले गराए,’ उनले भने।
गत वर्ष निकुञ्जले कुसुमखोला बस्ती हटाएपछि सर्वोच्च अदालतमा रिट परेको थियो। अदालतले अन्तरिम आदेश दिँदै कुसुमखोलामा बाँकी रहेको काजीमान प्रजाको घरलाई यथास्थितिमा रहन दिनु भनेको थियो।
निकुञ्जका प्रमुुख संरक्षण अधिकृत आचार्यले अदालतको आदेशअनुसार काजीमानको पक्की घरलाई नछोई अन्य छाप्रामात्र हटाउने नीति निकुञ्जको रहेको बताए।
आइतबार दिउँसो २ बजे कुसुमखोला पुगेको निकुञ्जको टोली छाप्रामा आगजनी गरेर ४ बजेतिर फर्किएको थियो। माडीका अन्य स्थानहरूमा घर बनाइदिने भनेर कुसुमखोला बस्ती स्थानान्तरण गरिएको भएपनि सबैले घर पाएका छैनन्।
नगरपालिकाले प्रतिवद्धता पूरा नगरेको भन्दै स्थानान्तरण भएका कतिपय पुनः गाउँ फर्किएर बस्न थालेका थिए।