बुधबार फागु पूर्णिमा (होली) को अघिल्लो दिन। थारू सांस्कृतिक संग्रहालय बछौली नजिकै रहेको घरको बराण्डामा पहार तापेर बसिरहेका थिए ८८ वर्षीय सुखलाल चौधरी। तीन भाइ छोरा, बुहारी, नाती, नातिना आ–आफ्ना काममा व्यस्त थिए। साना पनातीहरु आँगनमा दौडिरहेका थिए।
सुखलालकाअनुसार उनको गाउँमा पहिले पूर्णिमाभन्दा पन्ध्र दिन अघिदेखि नै होलीको रौनक सुरु हुन्थ्यो। तर अचेल उनले होलीकै दिन पनि पहिलेको जस्तो रमाइलो देखेका छैनन्।
‘यतिखेर त हामी डम्फु (बाजा) तयार पारेर नाचगानका लागि तयार भइरहेका हुन्थ्यौं। घरमा मिठा–मिठा परिकार बनिरहेका हुन्थे,’ सुखलालले विगत सम्झिए, ‘सुक्लपक्ष सुरुभएबाटै गाउँले सबै राति एक ठाउँमा भेला भएर नाचगान गरिन्थ्यो।’ थारु समुदायले होलीलाई विशेष पर्व मान्ने गर्छ। यो अवसरमा डम्फु बजाएर गीत गाउँदै नाच्ने चलन छ।
पूर्णिमा र त्यसपछिका दुई दिन विशेषरुपमा मनाइने यो पर्वका लागि घर–घरमा डम्फु तयार गरिन्थ्यो। जंगलबाट खोजेर ल्याइएको मयुरको प्वाँखले त्यो डम्फु सजाइन्थ्यो। ‘कसैको घरमा त व्यक्तिपिच्छेका डम्फु तयार हुन्थे, एक घरमा एक डम्फु त नहुने कुरै भएन,’ सुखरामले सुनाए, ‘पूर्णिमाको अघिल्लो दिन यसरी चुप लागेर घरमा को बस्थ्यो र।’
थारु समुदायमा पूर्णिमाको दिनमा ‘चीर पोल्ने’ चलन छ। यो दिन साँझ आरध्य देवताको थानमा बाँस गाडेर खर, तोरीको सुकेको नलले छोपिएको ठाउँमा पूजा गरेर बेल, पोथी कुखुरा, अण्डा राखेर आगो लगाउने चलन छ। यसलाई थारु समुदायले चीर पोल्ने भन्छन्। भोलिपल्ट बिहान त्यहाँ पुगेर खरानीको टिका लगाइ विजयको बर माग्ने चलन छ।
पूर्णिमा र त्यसपछिका दुई दिनरात गाउँका घर–घरमा गएर नाचगान गर्ने, एक अर्कालाई रंग लगाएर सद्भाव व्यक्त गर्ने, खानपिनमा रमाउने चलन रहेको उनले बताए। अन्तिमदिनलाई चैत्वारी भन्ने गरिन्छ। यो दिनले अब चैत लाग्यो भन्ने सन्देश दिन्छ।
सुखलालले पुर्खादेखि चल्दै आएको चलनले छोराको पुस्तासम्म निरन्तरता पाएपनि नाती पुस्ताबाट हराउन थालेको बताए। ‘छोराहरुले त हाम्रो सिको गरे तर नातीहरुले सकेनन्। अब पनातीहरुले त के गर्लान् र खोई?,’ उनले भने, ‘पर्वमध्येकै सबैभन्दा उल्लासको पर्व यही थियो। अब त हराउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ।’
सुखलालका छोरा बासुदेव चौधरी ६६ वर्षका भए। बछौली माविका पूर्व प्रधानाध्यापक, थारु सांस्कृतिक संग्रहालयका संरक्षक, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सल्लाहकार उनी थारु समुदायको संस्कृति जोगाउन तल्लिन देखिन्छन्। तर उनमा पनि फागुको संस्कृति जोगाउने बिषयमा बाबुमा जस्तै चिन्ता देखिन्छ। ‘हामीले त बुबाहरुले गरेको देख्यौं, उहाँहरुबाट सिक्यौं, आफूले पनि गर्यौं। तर नयाँ पुस्ताले यसतर्फ त्यति ध्यान दिएको छैन,’ उनले भने, ‘पहिले गाउँ होली मनाउने धेरै समूह हुन्थे। अचेल धेरै गाउँको एकै ठाउँमा गरेर औपचारिकता पुरा गर्न थालिएको छ।’
थारू समुदायले लौरी, डम्फु बजाएर सौराहामा पर्यटकलाई आफ्नो संस्कृति देखाउने गर्छन्। ती गीत, नृत्यहरु उनीहरुका विभिन्न चाडपर्वसँग सम्बन्धित छन्। ‘व्यवसायिकरुपमा आफ्नो संस्कृतिको प्रदर्शन गर्नेहरुले नै अचेल चाडपर्वमा गाउँमा गीत, नृत्य प्रस्तुत गर्ने गर्छन्,’ बासुदेव चौधरी भन्छन्, ‘पहिले सबै मान्छे डम्फु बोकेर निस्कन्थे, अचेल त्यस्तो हुँदैन। डम्फुलाई नै कसरी जोगाइराख्ने भन्ने चिन्ता छ।’ उनले करिब एक दशकयता धेरैले फागुका लागि भनेर डम्फु बनाउन छाडेको बताए।
बासुदेवका भतिज नरेशले थारु समुदायको होली पनि अन्य समुदायको जस्तै हुन थालेको बताए। ‘चिर पोल्ने, नाचगान गर्ने त गरिन्छ तर हामी सानो छँदा देखेजस्तो होली त अचेल देखिँदैन,’ उनले भने। सुखलालका २ पनाती, १ पनातिनी छन्। उनका बाबु बिका चौधरी पनि बछौलीमै जन्मिएका थिए। हजुरबुबा रतन फौजदार पनि यहीँ बसेका थिए।
खैरहनी–९ वैरहनीका ६० वर्षीय विरेन्द्रकुमार चौधरीले विगतमा मनोरञ्जनका कुनै पनि साधन नहुँदा थारु समुदाय होलीमा निकै रमाउने गरेको बताए। ‘सामान्य रेडियोसमेत हुन्थेन, सधैं खेतीपातीमा तल्लिन हुने समुदायले यो पर्वलाई मनोरञ्जनको पर्वकारुपमा उल्लासमय बनाउने गरेको थियो,’ उनले भने, ‘दुई हप्ता अघिबाटै मनाउन थालिन्थ्यो, यति धेरै समय अरु कुनै पर्व मनाइन्थेन।’
माघे सँक्रान्तिदेखि फागु पूर्णिमाको दुई दिनपछिसम्म थारु समुदायले निकै रमाइलोसँग बिताउने गरेको उनले सुनाए। ‘घरघरमा हली राख्ने चलन थियो, हलीले पनि यो समयमा विदा पाउँथे। यो अवधिमा रमाउँदै काम परिवर्तन गर्ने निर्णय गर्थे,’ उनले भने, ‘फागु पर्व सकिएपछि सबैको ध्यान फेरि कामतिरै जान्थ्यो।’
उनले पूर्णिमाको दिनमा होलिकाको रुपमा चीर पोल्ने गरिएको र रोटी, रक्सी, सर्वत पानी खाने, गीत, गाउने, नाच्ने गरेर करिब दुई हप्ता निकै रमाइलो गर्ने गरिएको उनले सुनाए। ‘नयाँ पुस्ताले मनोरञ्जनका लागि धेरै कुरा पाए। इन्टरनेटमार्फत मनोरञ्जन लिन थाले, आम्दानी बढ्दै गएकाले मिठो खानका लागि चाडपर्व कुर्नु परेन,’ वीरेन्द्रकुमार भन्छन्, ‘पुर्खाहरुको चलन कम हुँदै जानुको मूख्य कारण यही हो जस्तो लाग्छ।’
उनकाअनुसार होली मनाउँदा मान्छेहरुकाबीचमा झैझगडा निकै हुन्थ्यो। यो परम्परा जस्तै बनेको थियो। ‘मान्छेहरु वर्षभरीको रिस यही समयमा निकाल्थे, अरु बेलामा भएका स–साना विवादहरु होली मनाउने बेलामा निकालेर भिड्थे,’ उनी भन्छन्, ‘खेतीपातीकाक्रममा सामान्य विवाद हुँदा पनि मान्छेहरु होलीमा बदला लिन्छु भन्थे। झगडा नहुने त होली नै हुन्थेन जस्तो लाग्छ।’ थारु समुदाय वर्षभरीको कारोबार होलीकै समयमा मिलाउने।
थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य चन्द्रा चौधरी होली पर्वमा महिलाहरु पनि सकृयरुपमा सहभागी हुने गरेको बताइन्। महिलाहरु मिठा खानेकुरा पकाउने, खाने, गीत गाउने, नाच्ने गरेर रमाउने गरेको उनले बताइन्। ‘अचेल बरु रंग खेल्दा दूव्र्यवहार होला कि भनेर महिलाहरु डराउँछन्, पहिले त त्यस्तो हुन्थेन। बच्चादेखि वृद्धवद्धासम्म रमाएको देखिन्थ्यो,’ उनी भन्छिन्, ‘अचेल नयाँ पुस्ताले नयाँ तरिकाले मनाएको पनि देखिन्छ। हामी हाम्रो संस्कृति बचाउनुर्छ, चाडपर्वहरु बारे नयाँ पुस्तालाई पनि सिकाउनुपर्छ भनेर लागेका छौं।’
होलीबाहेक राम नवमी, कृष्ण जन्माष्टमी, बढ्के आइतबार, जितिया, यमोसा, ठूलो एकादसी, माघे संक्रान्ति थारु समुदायका ठूला पर्वहरु हुन्। दसैं, तिहार पनि उनीहरु आफ्नै तरिकाले मनाउँछन्।
चितवनको खैरहनी, रत्ननगर, माडी नगरपालिकामा थारु समुदायको बाक्लो बसोबास छ। पुस्तौंदेखि यहाँ रहँदै आएका उनीहरु चितवनका आदिवासी मानिन्छन्।