नेपालगञ्ज उपमहानगरपालिका-१७ की एकल महिला निर्मला कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरी टोली नेपालगञ्ज पुगेको छ।
कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कमल थापाको नेतृत्वमा चार सदस्यीय टोली नेपालगञ्ज पुगेको हो।
दुई दिनअघि नेपालगञ्ज पुगेको एसपी थापा नेतृत्वको टोलीले कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्युबारे विस्तृत अनुसन्धान गरिरहेको छ।
स्रोतका अनुसार टोलीले कुर्मीका पहिलो श्रीमानको मृत्यु र त्यसपछि उनी जीवनमाथि आइपरेका हरेक विषयवस्तुमाथि अनुसन्धान गरिरहेको छ।
कुर्मीका श्रीमान् महालु कुर्मीको २०६२ सालमा मृत्यु भएको थियो। त्यसपछि २०६६ सालमा उनका दुई छोरा पनि १० दिनको फरकमा मृत्यु भएको थियो।
एक अनुसन्धान अधिकृतका अनुसार निर्मला प्रकरणको अहिलेको अनुसन्धान विभिन्न पाटोबाट भइरहेको छ।
पहिलो, निर्मलाका श्रीमान् बितेको, चार वर्षपछि दुई जना छोराको रहस्यमय ढंगले पनि मृत्यु भएको र त्यसको ‘केही वर्षपछि’ भारतीय नागरिक अर्जुन कुर्मीसँग निर्मलाले दोस्रो विवाह गरेर गएको देखिन्छ।
ती अधिकृतका अनुसार निर्मलाले दोस्रो विवाह गरेको २०६८ सालमा हो।
‘बिहे गरेको केही समयमा निर्मला नेपाल आइन् र त्यसपछि उनी बेपत्ता भइन् भन्ने छ,’ अनुसन्धानमा संलग्न ती अधिकृतले सेतोपाटीसँग भने, ‘उनी कसरी भारत गइन्, नेपाल कसरी फर्किइन् र बेपत्तापछि उनको मृत्यु के कति कारणले भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं।’
दोस्रो, निर्मला नेपालगञ्जबाट २५ किलोमिटरको दुरीमा रहेको भारत जगन्नाथपुरका अर्जुनसँग दोस्रो विवाह गरेर गएको देखिन्छ।
निर्मलालाई २०६९ सालतिर प्रलोभनमा पारेर नेपाल ल्याइएको देखिएको छ।
‘उनलाई विवाह गर्ने भारतीय नागरिक सामान्य हुन्, उनी ज्याला मजदुरी गरेर अहिले पनि भारतमै बस्छन्,’ ती अधिकृतले भने, ‘हामी अर्जुनसम्म पुग्न खोजिरहेका छौं।’
हालसम्म फेला परेका कागजातहरूले निर्मलाको मृत्यु २०७६ साल चैत १४ गते भएको देखिएको छ।
‘त्यसअघि निर्मला उपचारका लागि नेपालगञ्जकै एउटा अस्पतालसम्म पुगेको पनि देखिएको छ,’ ती अधिकृतले भने, ‘ती सबै कुरा पत्ता लगाउने, नजिक रहेका मानिसहरूसँग सोधपुछ गर्ने, पुष्ट्याइँ गर्ने काम भइरहेको छ।’
तेस्रो, निर्मलाको मृत्युपछि उनको पोष्टमार्टम भएको छैन। पूर्वसभासद तथा नेपाली कांग्रेस बाँकेका नेता बादशाह कुर्मीले उनको पोष्टमार्टम गर्न दिएनन् भन्ने आरोप छ।
‘पहिलो त निर्मलाको मृत्यु कसरी भयो भन्नेतर्फ हामी अनुसन्धान गरिरहेका छौं, उनको मृत्युको कारण खुलेपछि कसले के कसरी अनुसन्धानमा बाधा पुर्याएको भन्नेबारे निर्क्यौल हुन्छ,’ ती अधिकृतले भने, ‘तत्कालीन अवस्थामा नेपालगञ्ज प्रहरीको मुद्दा शाखामा को थिए र उनीहरूले यो प्रकरणलाई कसरी हेरे भन्ने पनि अनुसन्धानको पाटो छ।’
चौथो,अनुसन्धानमा संलग्न टोलीले त्यसबेलाका कागजातहरू खोजिरहेको छ। त्यसबेलाको परिस्थिति, कागजातहरूका आधारमा अनुसन्धान टोली कुर्मीको मृत्यु आर्थिक कारणबाट भएको हो भन्नेमा बढी विश्वस्त छ।
निर्मलाका श्रीमान् बितेपछि उनीसँग पाँच बिगाहा जग्गा थियो। त्यो जग्गामध्ये दुई कठ्ठा छिमेकी निजामुद्दिन दर्जी (इद्रिस)की श्रीमती जुबेदा दर्जी (इद्रिस) को नाममा पास भएको देखिएको छ।
बाँकी जग्गामध्ये चार बिगाहा आठ कठ्ठा जमिन जग्गा व्यवसायी रमेश थापाकी श्रीमती रत्ना थापाको नाममा पास भएर गएको देखिएको छ।
‘जग्गा व्यवसायीकी श्रीमतीका नाममा जग्गा कसरी पास भयो भन्ने अनुसन्धानको अर्को पाटो छ,’ ती अधिकृतले भने।
त्यो जग्गाको हालको बजारभाउ पाँच करोड बढी देखिन्छ। त्यही जग्गाकै कारण निर्मलालाई अपहरण गरियो र त्यसपछि उनको शंकास्पद तरिकाले मृत्यु भयो भन्नेतर्फ अनुसन्धान केन्द्रित छ।
निर्मला कुर्मीको अपहरणपछि हत्या गरिएको विवरणको जाहेरी बाँके प्रहरीमा विचाराधीन छ। जाहेरी अधिकारकर्मी रूबी खानले दिएकी थिइन्।
जाहेरीमाथि अनुसन्धान अघि नबढेको भन्दै अधिकारकर्मी खानलगायतको समूह गत असोज तेस्रो साता नेपालगञजबाट पैदल हिँड्दै आएर माइतीघर मण्डलामा अनसन बसेको थियो।
त्यसपछि गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएर उक्त घटनाको सत्यतथ्य छानबिन गर्ने सहमति गरिएको थियो।
छानबिन समितिले कात्तिक दोस्रो साता छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको थियो। तर, छानबिन अघि नबढेको भन्दै अधिकारकर्मी रूबीको समूह माइतीघर मण्डलामा आएर पुसमा दोस्रोपटक अनसन बसे।
गत पुस २० गते गृह मन्त्रालय र खानबीच अनसन तोड्ने सम्झौता हुँदा मन्त्रालयले निर्मला प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाएको थियो। लगत्तै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो।
प्रधान कार्यालयले गृहको निर्देशनमाथि छानबिन र अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई निर्देशन दिएको थियो।
रूबी खानहरू पहिलो चरणमा पैदल आएर माइतीघर मण्डलामा बसिरहेकै बेला नेपालगञ्ज प्रहरीले सात जनालाई कात्तिक महिनामै पक्राउ गरी अनुसन्धान थालेको थियो।
प्रहरीले २४ दिनसम्म हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान गर्यो। सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पनि बुझायो।
तर, प्रमाण नपुगेपछि ती सातै जनाविरूद्ध मुद्दा अभियोजन भएन। ‘सरकारी वकिल कार्यालयबाट अनुसन्धान प्रतिवेदन फिर्ता आएपछि हामीले सामान्य हाजिरी जमानीमा सातै जनालाई छोडेका थियौं,’ बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले भने, ‘त्यसपछि अनुसन्धान अघि बढेको थिएन, अहिले केन्द्रीय अनुसन्धान ब्युरोको टोली आएर अनुसन्धान गरिरहेको छ।’