काठमाडौं-२० जैसीदेवल बस्ने २२ वर्षीया पूजाकुमारी पोदारको गत फागुन १७ गते सिरहामा शव फेला पर्यो।
पोदारको शव राति १० बजे कर्जन्हा नगरपालिका-७ स्थित कमला नदी किनारको काँसघारीमा भेटिएको थियो।
शव फेला परेपछिको प्रारम्भिक अनुसन्धानमा पूजा काठमाडौं बस्थिन् भन्नेसम्म प्रहरीले पत्ता लगायो। उनको पहिरन तराईको भेषभूषासँग मिल्थ्यो।
काठमाडौं बस्ने पूजा सिरहासम्म कसरी पुगिन्, उनलाई त्यहाँसम्म कसले डोर्यायो र हत्यासम्म गर्यो? प्रहरी अनुसन्धान यसैमा केन्द्रित थियो।
अनुसन्धान गर्दै जाँदा पूजाको हत्याको पृष्ठभूमिमा उनलाई केही समयअघि बिहे गरेका प्रेमी देखिए।
प्रहरीका अनुसार सिरहा कर्जन्हा नगरपालिका-७ प्रेमनगरका अमर राउत (प्रेमी)लाई शनिबार पक्राउ गरियो।
पक्राउ परेपछिको स्वीकारोक्ति बयानका आधारमा प्रहरीले राउतलाई मुख्य आरोपी किटान गर्यो। प्रहरीले आइतबार राउतलाई सार्वजनिक गर्यो।
राउत पक्राउ परेसँगै पूजा हत्याको अनुसन्धानले गति लिएको प्रहरीको भनाइ छ।
राउतकै बयानका आधारमा पूजाको हत्यामा सहयोगी भूमिका निभाएका सिरहा कल्याणपुर नगरपालिका-४ जमुवा बस्ने २६ वर्षीय मन्तोषकुमार साह पक्राउ परेका छन्।
सोमबार पक्राउ परेका मन्तोषकुमारलाई प्रहरीले सार्वजनिक गरिसकेको छ। मन्तोषकुमार अमरका साथी रहेको र हत्यामा उनले पूजाको खुट्टा समातेर सहयोग गरेको खुलेको छ।
सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाका अनुसार पूजाको परिवार भारत बिहारको हो।
करिब ३०/३५ वर्षपहिले भारतबाट काठमाडौंमा आएर उनको परिवार ग्यास चुल्हो, प्रेसर कुकर मर्मत तथा बिक्री वितरण गर्दै आएको थियो। उनको परिवारमा बुवा, दाजु-भाउजू र भाइ छन्।
पूजाले राउतलाई फेसबुकबाट चिनेकी थिइन्। वैदेशिक रोजगारीका लागि कतारमा रहेका राउतसँग फेसबुककै माध्यमबाट सम्बन्ध स्थापित भएको थियो।
पूजा एलएलबी पढ्दै थिइन्। ल फर्महरूमा काम गर्दै आएकी थिइन्। अमर भने प्लस टु पढ्दापढ्दै वैदेशिक रोजगारीमा गएका थिए।
‘पूजासँग राउतको एक वर्षअघि फेसबुकबाट चिनजान भएको रहेछ,’ प्रहरी उपरीक्षक तिमिल्सिनाले सेतोपाटीसँग भने, ‘अनुसन्धानमा उनीहरू नियमित सम्पर्कमा रहेको र नेपाल फर्केपछि बिहे गर्ने सल्लाह भएको देखिन्छ।’
फेसबुकबाट चिनजान हुँदै राजीखुसीमा बिहे गर्ने सल्लाह कार्यान्वयन गर्न अमर गत माघ १३ गते काठमाडौं आए। भद्रकाली मन्दिरमा पूजालाई बिहे गरे। बाफलमा छुट्टै कोठा भाडामा लिएर दुबै बस्न थाले।
यो विवाहको बारेमा अमरले आफ्नो घरमा कुराकानी गरिरहेका थिए। तर, परिवारले स्वीकार गर्न सकेको थिएन।
‘परिवारलाई सहमत गराउँछु भनी अमर फागुन पहिलो साता घर हिँडे, तर निकै दिन काठमाडौं फर्केनन्,’ एसपी तिमिल्सिनाले भने।
राउत नआएपछि पूजा शंकित भइन्। भर्खरै बिहे भएका श्रीमानलाई आफैं खोज्दै फागुन १६ गते सिरहा पुगिन्। बस्तीपुर चोक पुगेर अमरलाई फोन गरी आफूलाई लिन आउन भनिन्।
‘म अहिले बाहिर छु, लिन आउँछु,’ अमरले भने।
तिमिल्सिनाका अनुसार यता अमरको परिवारमा भने अर्कै कार्यक्रमको योजना तय भइसकेको रहेछ।
धनुषा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाकी युवतीसँग अमरको विवाहको तयारी भइरहेको थियो। फागुन १९ गते अमरको विवाहका लागि आफन्त-नातागोता निम्त्याइएको थियो।
यो माहोलमा अमर परिवारलाई धोका दिने वा प्रेमिकालाई भनी बिलखबन्दमा पर्छन्। पूजाको आगमनले बिहे भाँडिने निश्चित ठान्छन्।
बिहे गर्न लागेकी युवतीको घर, आफ्नो घर दुबैलाई समस्या पर्ने बुझ्छन्। मनमा यस्ता कुरा खेलाउँदै जाँदा पूजाको हत्या गर्नुपर्ने निष्कर्षमा पुग्छन्।
‘यो केटीले मेरो विवाह बिगार्ने भई अब यसलाई मार्नुपर्छ भनी योजनाबद्ध रूपमा उनी बस्तीपुर चोक आउँछन्,’ तिमिल्सिनाले भने, ‘साथी मन्तोषसँग सरसल्लाह गरेर हिँड्छन्। घर लैजाने बहाना बनाउँदै कमला नदी किनार पुर्याउँछन्। घाँटी थिचेर पूजाको हत्या गर्दा मन्तोषले खुट्टा समाएर सहयोग गर्छन्।’
तिमिल्सिनाका अनुसार पूजाको हत्यापछि आफ्नो बिहे सम्भव देखेका अमर शव छोडेर निर्धक्क बस्न भने सकेको देखिँदैन। पूजाको हत्यापछि अमरले युवतीको परिवारमा फोन गर्छन् - म यो बिहे गर्न सक्दिनँ। १९ गते आउन पनि सक्दिनँ।
‘टेलिफोन कुराकानीको विवरणसमेत अध्ययन गर्दा अमरले जुन योजनासाथ पूजाको हत्या गरे, अर्की युवतीलाई अंगाल्न हिच्किचाए, हत्यापछि उनको मनोविज्ञान अचानक परिवर्तन भएको देखिन्छ,’ तिमिल्सिनाले भने।
फोन कुराकानीमै युवतीको परिवारलाई ‘बिहे रोक्न’ भन्दै भागेका अमर सिरहा जिल्लामै लुकिछिपी बसिरहेका थिए। शनिबार प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले अमरलाई पक्राउ गरेको थियो।
पूजाको हत्यामा अमरका साथी मन्तोषसँगै अर्का एक जना पनि संलग्न छन् कि भन्ने आशंका प्रहरीको छ।
पक्राउ परेका दुबैलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान सुरू गरिएको तिमिल्सिनाले बताए।
‘एलएलबी पढ्दै गरेकी पूजाको धेरै सपना थिए होला, तर प्रेम सम्बन्ध स्थापित गर्न खोज्दा उनी नै रहिनन्,’ तिमिल्सिना भन्छन्, ‘यो हत्याबाट सामाजिक सञ्जालमा चिनजानकै आधारमा र कोही व्यक्ति नजिकिएकै आधारमा सम्बन्ध स्थापित गर्न तयार हुनु घातक देखिएको छ।’