के तपाईं नारायणगढ–बुटवल सडकमा यात्रा गर्नुभएको छ? गर्नुभएको छ भने अवश्य पनि तपाईंको यात्रा कष्टकर भयो होला।
यदि पहिलो पटक यात्रा गर्दै हुनुहुन्छ भने मानसिक रूपमा तयार भएर निस्कनुहोला, तपाईंले गर्न लागेको यात्रा सहज हुनेवाला छैन।
निर्माणका क्रममा भत्किएको बाटो र पक्की पुल निर्माणका लागि बनाइएका डाइभर्सनका कारण सडकको यात्रा निकै पट्यार लाग्दो हुनेछ।
यो सडक खण्डलाई एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको ३६ महिना पूरा भयो। ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकको प्रगति अहिलेसम्म करिब १५ प्रतिशतमात्रै छ ।
पानी पर्दा हिलो, घाम लाग्दा धुलो महिनौंदेखि यो सडकको पहिचान बनिरहेको छ। त्यसमाथि पटक–पटक डाइभर्सन नै बगेर भएको राजमार्ग बन्दको सास्ती त कति हो कति।
मोटरसाइकलमा यात्रा गर्दैगर्दा भेटिएका कावासोतीका शंकर आचार्यले सडकका कारण यात्रुले निकै दुःख पाउने गरेको बताए।
‘कहिलेसम्म यसैगरी सास्ती भोग्नुपर्ने हो थाहा छैन। मैले हाम्रा जनप्रतिनिधिहरूलाई पनि यो बाटो बनेर कहिले सकिने हो भनेर सोधें तर उहाँहरूलाई पनि केही मेसो रहेनछ,’ उनले भने, ‘नारायणगढ पुगेर फर्किंदा कपडा अर्कै रंगको भइसकेको छ। फोहोरले आँखै भरिन लागिसक्यो।’
उनले सरकारी निकायको निगरानी नपुग्दा काममा ढिलाइ हुँदै आएको बताए।
राजमार्ग विस्तारमा भएको ढिलाइका कारण व्यापारीहरू पनि मारमा परेका छन्।
गैंडाकोट-१० का व्यापारी विष्णु प्रसाद पौडेलले व्यापार चौपट भइरहेको सुनाए।
‘बाटोको धुलोका कारण ग्राहक नै आउँदैनन्, पसल कुर्ने बस्नेमात्रै काम भइरहेको छ,’ उनले भने, ‘कहिले बनेर सकिने हो भन्ने नै थाहा भएन।’
अर्का व्यवसायी विवेक थापाले सडक अत्यधिक जाम हुने भएकाले बिक्रीका लागि तरकारी, फलफूल समयमा पसलमा ल्याउनै नसकेको बताए।
‘बिहान पसल खोल्न आउँदा, राति पसल बन्द गरेर घर फर्किंदा कति समय लाग्छ भर हुँदैन। बाटोमा उड्ने धुवाँ, धुलोका कारण रूघाखोकी समस्या बढ्न थालेको छ,’ उनले भने।
२०१८ सालमा तत्कालीन राजा महेन्द्रले गैंडाकोटमा शिलान्यास गरेको सडक ५७ वर्षपछि फराकिलो हुन थालेको हो।
अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ।
विस्तार कार्यको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा गरेका थिए।
हाल दुई लेन रहेको नारायणगढ-बुटवल सडक खण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको छ।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ।
१६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहने छ।
यो सडकले रूपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छुन्छ। सडक विस्तारका क्रममा अहिले पुल, कल्भर्ट, निर्माण, ड्रेन निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ।
कतिपय स्थानमा सबै काम सकेर कालोपत्रे सुरू गर्ने तयारी भएको छ।
नारायणगढ–बुटवल सडक योजनाको पूर्वी खण्डका प्रमुख रमेशकुमार दिष्टीकाअनुसार पूर्वी खण्डमा १२ वटा ठूला पुल र साना २२ वटा पुल बन्ने छन्।
ठूला ६ वटा पुलको निर्माण कार्य अहिले चलिरहेको छ। १५ स्थानमा नयाँ साना पुल निर्माण भइरहेका छन्। यी पुलको काम वर्षाअघि सक्ने लक्ष्य राखिएको उनले बताए। त्यसैगरी, सडकका विभिन्न स्थानमा २१५ वटा कल्भर्टहरू निर्माण हुनुपर्नेमा अहिले १०० भन्दा बढी स्थानमा निर्माणको काम भइरहेको छ।
पूर्वी खण्डको काम अहिलेसम्म १३ प्रतिशत सकिएको दिष्टीले बताए।
पश्चिम खण्डमा ठूला ९ पुल बनाउनुपर्नेमा ३ वटाको काम भइरहेको प्रमुख प्रदीपराज शाक्यले बताए। साना २१ वटा पुलमध्ये १२ वटामा काम भइरहेको उनले बताए। यो क्षेत्रको काम १६ प्रतिशत सकिएको शाक्यले बताए।
चार लेनमा विस्तार हुने नारायणगढ-बुटवल सडकका दुई-दुई लेनको बीचमा ‘ग्रिनरी’ हुनेछ।
तीन मिटर चौडा रहने बीच भागमा बिरूवा रोपिनेछ। हाल रहेको दुई लेनको सडक बिस्तारपछि दुवैतर्फ ७/७ मिटर फराकिलो सडक हुनेछ। बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन पनि बन्नेछ। बजार क्षेत्रको २८ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन बन्नेछ। दाउन्नेको उकालो र ओरालोको १२ किलोमिटर सडक भने तीन लेनको मात्रै बनाइँदैछ। पहाडी क्षेत्र भएकाले सडक विस्तार गर्न समस्या हुने हुनाले तीन लेनको मात्र बनाइने दिष्टीले बताए।
यो सडकमा नेपालमै पहिलो पटक वन्यजन्तु वारपार गर्न ओभर पास निर्माण गरिने भएको छ।
सो सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवतजावत हुने क्षेत्रमा ओभर पास निर्माण गर्ने तयारी गरिएको हो।
सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा पर्ने होङ्सी जङ्सनमा वन्यजन्तु क्रस गर्नेगरी ओभर पास निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको हो। यहाँ ओभर पास निर्माण भयो भने यो नेपालमै पहिलो ओभर पास हुनेछ।
नारायणगढ-बुटवल सडक योजनाको पूर्वी खण्डका विभिन्न ८ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेका छन्। यो सडकको केही दक्षिणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको नजिकैबाट समानान्तर भएर अघि बढेको छ।
सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आगामी २०७९ सालको साउन २२ गतेसम्ममा सडक निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। तर यो मितिभित्र निर्माण सकिने सम्भावना छैन।
दुवै खण्डका योजना प्रमुखहरूकाअनुसार निर्माण कम्पनीले समयमै सडक निर्माणको काम नसकिने जानकारी गराएर कन्सल्ट्यान्टलाई म्याद थप्न पत्र पठाएको छ।
‘निर्माण कम्पनीले सम्झौतामा भएको प्रावधानअनुसार म्याद थप गर्नुपर्ने कारणसहितको कागजात पेस गरिसकेको छ। अहिले कन्सल्ट्यान्टले उनीहरूले गरेको काम र अब काम सक्न लाग्ने समयको विषयमा मूल्यांकन गरिरहेको छ,’ दिष्टीले भने, ‘कन्सल्ट्यान्टले मूल्यांकनपछि हामीलाई जानकारी गराउँछ। त्यहीअनुसार म्याद थपको निर्णय हुन्छ।’
उनले अहिलेको गतिमा काम भए अबको २ वर्षमा यो सडक तयार भइसक्ने बताए।
‘विगतमा विभिन्न कारणले काममा ढिलाइ भए पनि पछिल्ला महिना कामको गति बढिरहेको छ,’ उनले भने, ‘यही गतिमा काम भयो भने निर्माणको काम २ वर्षमा त जसरी पनि सकिन्छ।’
उनले विगतमा चार महिनामा एक प्रतिशत काम सकिने गरेकोमा अहिले एकै महिनामा १ दशमलव ७ प्रतिशतसम्म प्रगति भइरहेको बताए। पश्चिम खण्डको प्रगति भने मासिक २ प्रतिशत रहेको प्रमुख शाक्यले बताए।
‘अब बढीमा २ वर्षमा काम सकिन्छ,’ उनले भने, ‘अहिले सडक विस्तारकाक्रममा कहीँ पनि विवाद बाँकी छैन। धमाधम काम भइरहेको छ।’
सम्झौतामा निर्माण सकेर सरकारलाई हस्तान्तरण गरेको एक वर्षभित्रमा सडक बिग्रिएमा निर्माण कम्पनीले बनाउनुपर्ने उल्लेख छ।
त्यस्तै, एक वर्षपछि थप चार वर्षसम्म सडक बिग्रिएको अवस्थामा परफमेन्स बेस मेन्टिनेन्स (काम गरेको आधारमा सम्भार करार) को आधारमा सडक निर्माण गर्नुपर्ने भनिएको छ।
विस्तारको काम सुरू हुनुअघि सामान्य अवस्थामा तीन घण्टा लाग्ने यो सडकको यात्रावधि विस्तारको काम सकिएपछि एक घण्टा ५० मिनेटमा छोटिने दाबी गरिएको छ। तर अहिले यो सडकमा यात्रा गर्न कम्तीमा ५ घण्टा समय लाग्ने गरेको यात्रुहरू बताउँछन्।
यो सडक विस्तारमा अहिले दैनिक एक हजार भन्दा बढीले काम गरिरहेका छन्।
किन भयो ढिलाइ?
नारायणगढ–बुटवल सडक विस्तारका लागि डिपिआर बनेको केही वर्षपछि मात्रै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको हो। त्यसअघि पनि एक कम्पनीसँग सम्झौता भएर रद्द भएको थियो। पछिल्लो सम्झौतापछि पनि तुरून्तै काम सुरू हुन सकेन।
योजनाका प्रमुख रमेशकुमार दिष्टीकाअनुसार चाइनाको कम्पनीसँग सम्झौता भएपछि पनि राजमार्ग क्षेत्रमा रहेको वनका कारण पूर्णरूपमा काम सुरू गर्नै ११ महिना लागेको थियो।
डिपिआर बन्दा सुरूआती चरणमा वातावरणीय प्रभाव मूल्यांकनबाट ९ हजार वटा रूख काट्नुपर्ने देखिएको थियो। तर सडक निर्माणको सम्झौतापछि सो क्षेत्रमा काट्नुपर्ने रूखको संख्या अत्यधिक बढी देखियो।
‘यो मानवीय त्रुटीका कारण भयो कि अन्य कुनै कारण भन्ने ठ्याक्कै त भन्न सकिएन तर डिपिआर गर्दा र सम्झौता गर्दाको बीचमा साना बोटहरू बढेर ठूला भएका कारण समस्या देखियो कि भन्ने लाग्छ,’ दिष्टीले भने, ‘धेरै रूख काट्नुपर्ने भएपछि प्रक्रिया मिलाउँदा झण्डै एक वर्ष लाग्यो।’
उनकाअनुसार गोलाई ३० सेन्टिमिटर भन्दा कम भएकालाई रूख नमान्ने गरिएको छ।
‘३-४ वर्षको अवधिमा साना पोथ्रा पनि ३० सेन्टिमिटर भन्दा ठूला भए। ती पनि रूखको मापदण्डमा परेपछि काट्नमा समस्या भयो,’ उनले भने।
राजमार्गको लालपुर्जा सडक विभागको नाममा रहे पनि वनका कारण ढिलाइ भएको उनले बताए।
सडक योजनाले रूख कटानको काम सकेर डिभिजन वन कार्यालयलाई बुझाइसकेको छ। तर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका रूखहरू बुझाउनमा भने बिलम्ब भइरहेको योजना कार्यालयले जनायो।
निकुञ्ज क्षेत्रका करिब ४ हजार रूखहरू काटिएकाले बुझिदिनुहोला भनेर पटक-पटक ताकेता गर्दा पनि निकुञ्जले नबुझेको दिष्टीले बताए।
यसबाहेक कोरोना भाइरसको महामारी र मजदूरहरूले गरेको आन्दोलनका कारण सडक निर्माणको काममा ढिलाइ भएको देखिएको योजनाको कार्यालयले जनायो।
विद्युत पोलले अड्कियो काम
सडक योजनाकाअनुसार कतिपय ठाउँमा सबै काम सकिँदा पनि विद्युत पोल सार्न नसक्दा कालोपत्रे गर्न सकिएको छैन। राजमार्गको भेडाबारी-रजहर खण्डको करिब ११ किलोमिटर सडकमा कालोपत्रे गर्नमात्रै बाँकी रहेको योजना प्रमुख रमेशकुमार दिष्टीले बताए।
तर विद्युत प्राधिकरणसँगको सम्झौताअनुसार पोल सार्न असम्भव देखिएकाले काम रोकिएको उनले बताए।
‘प्राधिकरणले सडकको छेउमा दुई लाइन पोल गाड्ने भनेको थियो। तर यो क्षेत्रमा त्यसरी पोल गाड्दा एउटा पोलले स्थानीयको घर नै छुने देखियो,’ उनले भने, ‘सम्झौताअनुसार काम गर्दा जोखिम हुने भएकाले कि एउटा पोल राख्ने सम्झौता गर्नुपर्ने कि विद्युतीय तार जमिनमुनिबाट लैजानुपर्ने अवस्था देखिएको छ। बीचमै पोल राखेर छाड्न त मिलेन।’
उनले यस विषयमा निर्णय गर्न ढिलो हुँदा उक्त क्षेत्रमा काम रोकिएको बताए। दिष्टीले राजमार्गको छेउमै घरहरू बनेको र कल्भर्ट तथा राजकुलोहरू पुरिएका कारण समस्या देखिएको बताए।
मेलम्ची आयोजनाजस्तै हुन्छ कि भन्ने डर हट्यो
निर्माण कम्पनीसँग सम्झौता भएको लामो समयसम्म पनि काम अघि बढ्न नसक्दा ‘कतै सडक विस्तार अलपत्र पर्ने त होइन’ भन्ने भन्ने डर थियो।
‘हामीलाई त यो योजनाले पनि मेलम्ची खानेपानीकै नियति भोग्नुपर्ने हो कि झैं लाग्थ्यो,’ योजनाका प्रमुख रमेशकुमार दिष्टी भन्छन्, ‘अब यो डर हटेको छ।’
उनले निर्माणको गतिको ग्राफ बढ्दो क्रममा रहेका कारण उक्त डर हट्न थालेको बताए।
‘ठूलै केही हलचल भएछ भने त अलग कुरा भयो तर यही गतिमा काम भयो भने त अब २ वर्षमा सडक बन्छ,’ उनले भने, ‘सबैको नजर पुग्ने योजना हो यो, यस कारण पनि ढिला गर्ने छुट छैन।’
पश्चिम खण्डका योजना प्रमुख प्रदीपराज शाक्यले सडक विस्तारको काम सुस्त भयो, धुलो बढी भयो, यात्रा कष्टकर भयो भनेर धेरै गुनासो आउने गरेको भन्दै अब काम धमाधम अघि बढेकाले केही समय पर्खन आग्रह गरे।
‘धुलो कम उडोस् भनेर बाटोमा पानी हाल्ने काम पनि गर्न भनिरहेका छौं। अन्य काम पनि धमाधम भइरहेको छ,’ उनले भने, ‘हरेक महिना दुई प्रतिशतले प्रगति बढ्दै गएको छ। अन्य काम सक्न समय लाग्ने हो, पिच बनाउन थालेपछि त प्रगति ह्वात्तै बढिहाल्छ।’