आइतबार मध्याह्न १२:३० बजेको थियो।
बनेपा नगरपालिका-१४, आशापुरीस्थित ढुंगाखानीमा चालकहरू खाना खाएर काममा खटिएका थिए। रामेछापको दोरम्बा-४ का ३२ वर्षीय श्याम मगर आफ्नो टिपरमा थिए। उनको टिपरमा एक्स्काभेटरले ढुंगा लोड गर्दै थियो।
पनौती नगरपालिका-१२ का राजु गोले पाँच-सात मिटर पर बसेर यी सबै गतिविधि हेर्दै थिए।
गोले पनि एक्स्काभेटर अपरेटर हुन्। तर उनले चलाउने एक्स्काभेटर त्यहाँ थिएन।
त्यही बेला एकैचोटि गड्याङगुडुङ गर्यो, भीर हल्लियो। भीर हल्लिन थालेपछि गोलेको सातो उड्यो।
'ए.. ए… के भो भनेर भन्न नपाउँदै माथिबाट ठूल्ठूला ढुंगासहित पहरो खसिसकेछ,' गोलेले सेतोपाटीसँग भने, 'श्यामलाई एउटा मिनी ट्रकले किचिहालेछ।'
गोलेका अनुसार टिपरको ढोका खोलेर श्याम भाग्न खोजेका थिए। भाग्न खोज्दाखोज्दै माथिबाट खसेको ठूलो ढुंगाले ट्रक पल्टाइदियो। श्याम ट्रकमुनि किचिए।
बा३ख २३०२ नम्बरको एक्स्काभेटर चलाइरहेका अपरेटर २७ वर्षीय समीर तामाङ र उनका सहयोगी २२ वर्षीय अर्जुन सार्की पनि च्यापिएका थिए। गोले र बाँकी रहेका केही व्यक्तिले एक्स्काभेटरको सिसा फुटाएर समीर र अर्जुनलाई बाहिर निकालेका थिए। उनीहरू होसमा थिएनन्।
आँखैअगाडि यस्तो देखेपछि दुई वर्षदेखि एक्स्काभेटर चलाउने काम गरिरहेका गोलेको हंशले ठाउँ छोडिहाल्यो। अरू को-को पुरिए भन्ने उनले होसै पाएनन्।
'पाँच मिटर फरकले मात्र म बाँच्न सकेँ, नत्र म पनि माथिबाट झरेको ढुंगा र माटोमा पुरिने रहेछु,' गोलेले भने, 'श्याम चाहिँ टिपरबाट निस्केर भाग्न सेकेन्ड बराबरले ढिलो भयो र उसको ज्यान गयो। श्यामजस्तै अलिकति ढिलो भएको भए अरू दुई जनाको पनि ज्यान जाने रहेछ। धन्न उनीहरू समयमै भाग्न भ्याए।'
यो घटनामा पुरिनबाट जोगिएका अन्य दुई जना टिपर चालक जितबहादुर वाइबा र मीनबहादुर खपाङ्गी थिए।
खपाङ्गीका अनुसार सुरूमा भीरबाट हल्का ढुंगा-माटो झर्न थालिसकेको थियो। 'हामीले सुसेलेर इसारा गर्यौं, हामी भागिहाल्यौं, माथिबाट ढुंगा-माटोको ठूलो ढिस्को झरेछ, भाग्दाभाग्दै श्याम च्यापिएर बितिसकेछन्,' खपाङ्गीले भने।
आशापुरी खोलाको नाकमै रहेको ठूलो भीरमा चार वर्षदेखि ढुंगाखानी सञ्चालन गरिएको छ। त्यहाँ चालकहरू ढुंगा ओसार्न टिपर र ट्रक लिएर जाने गरेका छन्। दिनमा सयौं टिपर र ट्रक ढुंगा ओसार्न खानी पुग्ने गरेको वाइबा बताउँछन्।
'आज ठूलो दुर्घटनाबाट जोगियौं,' वाइबाले भने, 'हामी त डरले भागिहाल्यौं, एक जना साथीले ज्यान गुमाएको देख्दा साह्रै दु:ख लागेको छ।'
श्याम भक्तपुरस्थित मध्यपुर ठिमीमा श्रीमती र आमासँग बस्थे। उनी आइतबार बिहान टिपर लिएर ढुंगा ओसार्न पुगेका थिए। प्रहरीका अनुसार भीरबाट ढुंगा-माटोको ढिस्को खस्दा दुई एक्स्काभेटर, तीनवटा टिपर र एउटा ट्रक पुरिएका छन्। ती टिपर र ट्रकमा काम गर्ने चालक तथा कर्मचारी सकुशल रहेको प्रहरीले जनाएको छ।
'एक जनाको मृत्यु, दुई जना घाइतेबाहेक अन्य सबै भागेर ज्यान जोगाउन सफल भएको बुझिएको छ,' घटनास्थलमा पुगेका काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले भने।
जोशीका अनुसार गम्भीर घाइते रहेका दुई जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ। अहिले पुरिएको क्षेत्र उधिन्दा माथिबाट थप ढुंगा-माटो खस्ने जोखिम रहेकाले अरू कोही पुरिएका छन् कि भनेर खोतल्न नमिलेको जोशीले बताए।
'अहिले पनि माथिबाट ढुंगा-माटो अलिअलि खसिरहेको छ, पूरै डाँडो खस्ने जोखिम देखिन्छ, यस्तो अवस्थामा हेभी मेसिन लगाएर पुरिएका एक्स्काभेटर, टिपर र ट्रक निकाल्न नमिल्ने भएकाले हामीले तत्काल यत्तिकै छाडेका छौं,' उनले भने, 'घटनाको मुचुल्का तयार पारेर अनुसन्धान थालेका छौं।'
स्थानीयका अनुसार यो भीरमा आशापुरी रोडा ढुंगा सप्लायर्सले खानी चलाएको छ। आशापुरी सप्लायर्स काठमाडौंको समानान्तर निर्माण सेवाको अर्को कम्पनी हो। उसले समानान्तरले ठेक्का लिएका ठाउँमा ढुंगा पुर्याउँछ।
आशापुरीको भीरमा ६५ रोपनी र ७५ रोपनीका दुई टुक्रा सप्लायर्सले लिएको छ। तीमध्ये अहिले ७५ रोपनीको भीर कोपरिरहेको छ। ६५ रोपनीको टुक्रा कम्पनीकै नाममा छ भने आइतबार खसेको भीरको ७५ रोपनीको टुक्रा स्थानीय पाँच जना व्यक्तिले कम्पनीलाई १० वर्षका लागि लिजमा दिएका हुन्।
कम्पनीलाई लिजमा दिनेमध्येका एक टुल्कु लामा भन्छन्, 'यो ७५ रोपनीको डाँडो हामी पाँच जनाले १० वर्षका लागि कम्पनीलाई लिजमा दिएका हौं, यहाँबाट ढुंगा लगेबापत् कम्पनीले प्रतिटिपर हामीलाई पाँच सय रूपैयाँ दिने सम्झौता गरेको छ।'
आशापुरीको डाँडो, त्यसमुनि आशापुरी खोलो र त्यसको एक क्षेत्रमा बस्ती छ। सरकारी अधिकारीहरूका अनुसार त्यो डाँडो चार वर्षदेखि सप्लायर्सले यसरी कोपरेको देखिएको छ, त्यहाँ कुनै ठूलो जोखिम निम्तिने आकलन गर्न सकिन्छ।
घटनास्थलमा पुगेकी काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, 'हेर्दैमा यो भीर यसरी कोपरिएको छ, यहाँ ठूलो विपद हुने सम्भावना देखिन्छ। वर्षायाम भएको भए ठूलै घटना हुन्थ्यो। हिउँदको मौसम भएकाले धन्न ठूलो घटना हुन पाएन।'
पाण्डेका अनुसार यो भीर उत्खनन् गर्न बनेपा नगरपालिकाले ठेक्का प्रक्रियाबाटै आशापुरी सप्लायर्सलाई दिएको बुझिएको छ।
'यो भीर खोतल्दा वातावरण प्रभाव मूल्यांकन (इआइए) वा वातावरणीय अध्ययन प्रतिवेदन (आइइई) भएको छ कि छैन भन्ने हामी बुझ्दै छौं,' उनले भनिन्, 'भीर खोतल्ने कार्यमा लगाइएका कर्मचारीका लागि सुरक्षा विधि अपनाइने कार्य भएका छन् कि छैनन् भन्ने अनुसन्धान गरिने छ।'
'तत्कालका लागि भीर खोतल्दा ठूलो जोखिम हुने देखिएकाले मैले फिल्डबाटै खानी बन्द गर्न निर्देशन दिइसकेकी छु, बाँकी कुरा प्रहरी र प्रशासनले अनुसन्धान गर्ने छ,' पाण्डेले भनिन्।
आशापुरी भक्तपुर जिल्लाको सीमा क्षेत्र हो। भक्तपुर बजारबाट त्यहाँसम्मको दुरी यातायातको हिसाबले करिब ४० मिनेट टाढा हो।