अबिच्युरी
वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा निधन भएको छ। बुधबार राति भक्तपुरस्थित आफ्नो निवास नजिकै आफ्नै कारबाट ओर्लिने क्रममा अल्झिएर लड्दा उनको निधन भएको हो।
जयनन्द नेपाली दर्शकमाझ चर्चित कलाकार हुन्। उनले गायक र अभिनेता दुवै भूमिकामा आफूलाई अब्बल सावित गरे। र, दुवै कामबाट टन्न प्रशंसक कमाए।
करिब आधा शताब्दी कला क्षेत्रमा सक्रिय जयनन्दको करिअरको औपचारिक सुरूआत बिक्रम सम्वत् बीस दशकको मध्यबाट सुरू भएको थियो।
२०२६ सालतिर तत्कालीन राजा महेन्द्रको जन्मोत्सव तथा राष्ट्रिय दिवसहरूमा सभा तथा कार्यक्रम गरिन्थ्यो। त्यसमा प्रस्तुति दिन देशैभरिबाट कलाकार छान्ने चलन थियो। यसरी कलाकार छान्न थुप्रै व्यक्तिहरू जिल्ला-जिल्ला चहार्थे।
यिनैमध्ये एक थिए वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा। कलाकार खोज्दै जाने क्रममा उनी सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका थिए। त्यहीँ उनले जयनन्दका बारेमा थाहा पाए। उनको स्वर सुने।
भैरवले जयनन्दलाई काठमाडौं बोलाएर रेडियो नेपालमा गीत गाउन लगाए। यसपछि जयनन्द सिन्धुपाल्चोक फर्केनन्। उनले दरबारमै बसेर संगीत सिकाए, स्नातक पढे। त्यो समयमा उनले युवराज दीपेन्द्र र अरू राजपरिवारका सदस्यलाई संगीत सिकाएको कुरा उनीसँगै काम गरेकी गायिका सुनिता दुलाल बताउँछिन्।
पछि उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिरे भए। त्यहाँको स्थायी जागिरे भएपछि उनलाई प्रतिष्ठानले अध्ययनका निम्ति भारतमा पठायो। भारतमा संगीत पढेर फर्केपछि उनी नेपाली संगीत क्षेत्रमा सक्रिय रहे। सँगै अभिनयमा पनि उनले बलियो छाप छाड्न सफल भए।
उनका 'कलकत्ते काइँयो, पानी पर्यो बलेसी, हेलम्बू डाँडापारि, चुइँ चुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पातजस्ता दर्जनौं गीत लोकप्रिय छन्। एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले २०३० सालमा 'मनको बाँध' बाट अभिनय सुरू गरेका थिए।
नेपाली कला क्षेत्रलाई जयनन्दले दिएको योगदान अतुलनीय भएको गायिका सुनिता बताउँछिन्।
'उहाँ नेपाली संगीतको खम्बा नै हो। उहाँ त संगीतको भण्डारजस्तै हुनुहुन्थ्यो। उहाँको जस्तो ज्ञान भएको र उहाँको स्तरको कलाकार कोही थिएन भन्दा हुन्छ,' जयनन्दसँगै लोकस्टार रियालिटी शोमा काम गरेकी सुनिताले भनिन्।
जयनन्द भक्तपुर बस्थे। सुनिता उनकी छिमेकी पनि हुन्। जयनन्द आफ्नो परिवारको सदस्यजत्तिकै रहेको उनले बताइन्।
'उहाँले मलाई सधैं गीत गाउन प्रोत्साहन गर्नुहुन्थ्यो। आफैं कुनै गीत पठाएर यो गीत तलाईं ठीक हुन्छ कि भनेर सोध्नुहुन्थ्यो। कहिले आफ्नै गीत रिमेक गर्न उक्साउनु हुन्थ्यो,' उनले भनिन्।
सुनिताका अनुसार जयनन्दको चर्चित गीत 'कलकत्ते काइँयो' उनलाई रिमेक गर्न मन थियो। धेरैपटक सुनितालाई यसबारे सुनाएका पनि थिए।
'कलकत्ते काइँयो रिमेक गर्ने कुरा भएको थियो। तर यो सपना पूरा हुन नपाउँदै उहाँ बित्नुभयो,' उनले भावुक हुँदै सुनाइन्।
जयनन्द सधैं हँसिला देखिन्थे। साथीसंगीहरूले उनलाई रसिला पनि भन्थे। सामान्य जीवनमा मात्र होइन, फिल्म र टिभीका पर्दामा समेत उनलाई प्रायः हँसिलो पात्रमै देखिन्थ्यो। उनी दर्शक हँसाउने काम गर्थे।
उनको स्वभावबारे सुनिता भन्छिन्, 'दाइको म पहिल्यैदेखि शुभचिन्तक थिएँ। उहाँसँग काम गर्दा नजिक हुने मौका मिल्यो। उहाँ हँसाउन एकदम माहिर हुनुहुन्थ्यो। उहाँको कला एकदमै स्तरीय थियो।'
सुनिता जयनन्दलाई अद्भूत मान्छे मान्छिन्, आँखामा हाले पनि नबिझाउने, सबैको भलो चिताउने।
जयनन्द अभिनेता तथा गायक मात्र थिएनन्, गीत-संगीत संकलक पनि थिए। उनले नेपालका धेरै ठाउँ पुगेर लोकधून संकलन गरे। तिनको संरक्षणमा पहल गरे।
उनले संगीतबारे किताबसमेत लेखेका छन्। नेपाली संगीत वर्णमाला, तामाङ संगीत अनुसन्धान र संगीत सिद्धान्त नामका किताबहरू महत्वपूर्ण भएको सुनिताको भनाइ छ। उनी जयनन्दलाई एक कलाकार मात्र मान्दिनन्, अथाह कुरा सिक्न पाइने पाठशाला मान्छिन्।
जयनन्दको निधनले संगीत क्षेत्रमा ठूलो क्षति भएको बताउँदै उनले भनिन्, 'जयनन्द दाइ यति छिटो जानु हुँदैन थियो। उहाँसग भएका असीमित ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्न बाँकी नै थियो।'
उनका र उनका गीतका अर्का प्रशंसक हुन् गायक प्रकाश सपुत। आफू सानैदेखि उनको गीत सुनेर हुर्केको उनी बताउँछन्।
प्रकाशका अनुसार उनले गाउँमा मेला-महोत्सव हुँदा 'चुइँ चुइँ चुइँकने जुत्ता' गीत सुन्थे। मेलामा को-को व्यक्तिले गाउँथे। कसको गीत हो भन्ने थाहा भएन, तर मनपरेको थियो।
धेरैपछि उनलाई थाहा भयो यो गीत जयनन्दको हो।
प्रकाशले जयनन्दका गीत दोहोरी साँझमा गाउने बेलाको समय सम्झिँदै भने, 'हामी कलकत्ते काइँयो गीत दोहोरी साँझमा खुब गाउँथ्यौं। यो मैले धेरै गाएको र सुनेको गीत हो।'
प्रकाशका अनुसार जयनन्दसँग उनको प्रत्यक्ष सम्बन्ध थिएन। अन्तर्वार्ता क्रममा भेटेका थिए। जयनन्दलाई उनी संगीतका सबै आयाम, सूत्र र प्रकृतिहरू थाहा पाएका मान्छे मान्छन्, 'उहाँ धेरै सरल, अरूको अस्तित्व स्वीकार्ने, अरूलाई समान व्यवहार गर्ने र हँसिमजाक गर्ने मान्छे हुनु हुन्थ्यो।'
जयनन्दसँग व्यक्तिगत रूपमा नजिक नभए पनि उनीसँग सिक्न सक्ने धेरै कुरा अधुरै रहेको उनी बताउँछन्। प्रकाशले लोकसंगीत सम्बन्धी केही जिज्ञासा भए भेट्छु पनि भनेका रहेछन्। तर उनले सोध्नै नपाइ जयनन्द बिते।
जयनन्दले थुप्रै फिल्ममा अभिनय गरे। उनको पछिल्लो फिल्म 'छक्का पन्जा' हो। तर यो फिल्ममा अभिनय गराउन उनलाई मनाउन परेको दीपकराज गिरी बताउँछन्।
दीपकका अनुसार उनले जयनन्दलाई फिल्ममा खेल्न प्रस्ताव गरेका थिए।
तर उनले भनिदिएछन्- भाइ अभिनयले खान दिँदैन। त्यसैले म स्कुलमा पढाउँछु। यो काम गर्दिनँ।
'मैले उहाँलाई धेरै नै जोड गरेँ। अनि बल्ल स्कुल बिदा हुँदा हप्तामा दुई दिन सुटिङ गर्ने गरी मान्नुभयो।'
जयनन्दलाई पछिल्लो समय अभिनयले तान्न नसक्नुको कारण उनी निराश भएको दीपक बताउँछन्। जयनन्द केही समय अमेरिका गएर बसे। फर्केपछि उनले फिल्म निर्माणमा हात हाले। तर सफल भएनन्।
'यसपछि दाइ निराश भएर स्कुलमा संगीत शिक्षकका रूपमा काम गर्न थाल्नुभयो,' दीपकले भने।
त्यसैले उनलाई चलचित्रमा फर्किन मन थिएन। तर छक्का पन्जामा उनको भूमिका चर्चित भयो। उनको अभिनय दर्शकले मनपराए।
अनि जब दीपकले छक्का पन्जाको अर्को भागमा खेल्ने प्रस्ताव गरे तब उनी निकै खुसी भए।
'उहाँ धेरै खुसी हुनुभयो। मलाई एकदम माया गरेर अँगालो मार्नुभयो,' दीपकले सुनाए, 'अभिनयलाई पाँच दिन र स्कुललाई दुई दिन दिने भन्नुभयो। सुटिङमा उहाँ आएपछि रमाइलो माहोल हुन्थ्यो। उहाँ एकदम भर्साटाइल कलाकार हुनुहुन्थ्यो।'
उनले थपे, 'मैले अब छक्का पन्जामा उहाँको भूमिकामा अरूलाई खेलाउन सक्दिनँ।'
यो पनि पढ्नुहोस्ः आफ्नै कारमा खुट्टा अल्झेर लड्दा कलाकार लामाको मृत्यु भएको प्रहरीको भनाइ