दोलखाको भिमेश्वर भीमेश्वर मन्दिरमा भीमा एकादशी मेला लागेको छ।
एघार लघुरूद्री, होम यज्ञ र रातभर बत्ती बालेर भीमेश्वर मन्दिरमा भीमा एकादशी पर्व मनाइएको हो।
मेलाका लागि भीमेश्वर मन्दिरलाई फूल तथा बत्तीले सजाइएको थियो। भक्तजनहरू आफ्नो मनोकामना पूरा गर्न, आ-आफ्ना ब्यवसाय, बालीनाली फस्टाओस् भनेर भीमेश्वरमा बत्ती बालेर र भजनकीर्तन गरी जाग्राम बसेका थिए।
द्वादशीका दिन बिहान पूजा व्यवस्थापन समितिको तर्फबाट भीमेश्वरलाई बली चढाई प्रसाद ग्रहण गरेपछि पूजा समापन भएको थियो।
महाभारत कालदेखि भीमा एकादशीको महत्व विलक्षण रूपमा लिएको पाइन्छ। कुन्तीपुत्र भीमले यो एकादशीमा व्रत बसेका थिए। गरूढ पुराणअनुरूप भीम अत्यन्त खन्चुवा, मोटा र बलवान थिए। उनी व्रत बस्न सक्लान् भन्ने कमैलाई मात्र लागेको थियो।
तर भीमले दोलखाको कैलाश पर्वत अर्थात गौरीशंकर हिमालको नजिकमा रहेको हालको भीमेश्वर मन्दिर रहेकै स्थानमा बहुतै त्याग र समर्पणका साथ यो एकादशीको व्रत बसेका थिए।
त्यसपछि माघ शुक्ल एकादशीको नाम नै भीमा एकादशी रहन गयो। भीमले एकादशीको व्रत बसेका कारण सबै पित्रृ ऋणहरुबाट मुक्त भएको गरुण पुराणमा उल्लेख छ।
भीमा एकादशीको व्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरुभन्दा ठूलो मानिन्छ। यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमा एकादशीको ब्रतको महात्म ठूलो मानिएको छ ।
भीमा एकादशी माघ शुक्ल पक्षमा पर्छ। अन्य एकादशीझैं भीमा एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्वपूर्ण एकादशी मानिन्छ।
भीमा एकादशीको व्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास छ। भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले मेलाको लागि भव्य तयारी गरे पनि भक्तजनको संख्या भने निकै घटेको छ।
कोरोना महामारीका कारण बत्ती बाल्न आउने भक्तजनको संख्या निकै घटेको थियो।
हेर्नुहोस् तस्बिरमा