ललितपुर, सुनाकोठीमा शुक्रबार बिहानैदेखि चहलपहल थियो। बाजागाजाको तालमा स्थानीयहरू कुनै उत्सव मनाइरहेझैं देखिन्थे।
यो सुनाकोठीको जात्राको याम होइन। तर स्थानीयको मुड जात्राको भन्दा कम पनि थिएन।
सुनाकोठीमा उत्सवको रौनक ल्याउने काम बालकुमारीले गरेकी थिइन्। आजभन्दा बीस दिनअघि, माघ ९ गते, सुनाकोठीको बालकुमारी मन्दिरबाट अन्दाजी तीन सय वर्ष पुरानो मूर्ति चोरिएको थियो।
आफूले नित्य पूजा गर्दै आएको भगवान हराएपछि स्थानीय बेचैन थिए। कतिले रातको निद्राधरि गुमाए।
यसैबीच शुक्रबार घामको किरणसँगै बीस दिनदेखि हराइरहेका भगवान फेला परे। ललितपुर महानगर-१५, हात्तीवनमा बालकुमारीको मूर्ति भेटियो।
फेला पार्नेलाई पाँच लाख रूपैयाँ इनाम दिने घोषणा गरिएको यो मूर्ति कसरी फेला पर्यो त?
ग्वार्को बस्ने सुरेश महर्जन शुक्रबार आफ्ना दुई जना साथीसँग मर्निङ वाकमा निस्केका थिए। हिँड्दा हिँड्दै उनी हात्तीवन गैरीगाउँको करूणा मन्दिरतिर पुगे। सुरेश ललितपुर महानगर-२६ का वडाध्यक्षसमेत हुन्।
करूणा मन्दिरमा एक जना बूढी आमासँग उनीहरूको जम्काभेट भयो। मन्दिरको पेटीमा एउटा बोरा लडिरहेको थियो।
ती आमैले उनीहरूलाई देख्नेबित्तिकै कहाँबाट आएको भनेर प्रश्न गरिन् र भनिन्, 'म बिहान पूजा गर्न आउँदैदेखि यो बोरा यहाँ लडिरहेको छ। के हो थाहा छैन। कसले ल्याएको हो थाहा छैन। एकचोटि खोलेर हेरिदिनुहुन्छ?'
आमैले यसो भनेपछि सुरेश र उनका साथीहरूले बोरा खोलेर हेरे।
जसै उनीहरूले बाँधबुँध पारेर राखिएको बोरा खोले, उनीहरूका आँखा खुलेका खुल्यै भए। सबैका अनुहारमा हर्षको लहर नाच्न थाल्यो।
बोराभित्र उही बीस दिनदेखि हराइरहेको बालकुमारीको मूर्ति थियो।
सुरेशले मूर्ति देख्नेबित्तिकै वडा नम्बर २७ का अध्यक्ष बाबुराज महर्जनलाई फोन गरे। बालकुमारी मन्दिर उनकै वडामा पर्छ।
बाबुराज खबर पाउनेबित्तिकै हाँपदाँप गर्दै करूणा मन्दिर पुगे।
'सुरेशजीले मूर्ति भेटिएको छ, छिट्टै आउनुपर्यो भनेर फोन गर्नुभएपछि म तुरून्तै हेर्न गएँ,' बाबुराजले सेतोपाटीसँग भने, 'मैले देख्नेबित्तिकै यो हाम्रै बालकुमारी माईको मूर्ति हो भनेर ठोकुवा गरेँ।'
त्यसपछि वडाध्यक्षद्वयले ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेललाई फोन गरे। अरू प्रहरी तथा स्थानीयलाई पनि खबर गरे।
मूर्ति भेटिएको ठाउँमा चोरको सुराक हुन सक्ने आकलन गरेर उनीहरूले त्यहाँ डोरी बाँधेर घेरा लगाइदिए। प्रहरी नआउञ्जेल त्यो ठाउँ सुरक्षित रहोस् भनेर त्यसो गरेको बाबुराज बताउँछन्।
उता बालकुमारी माईको मूर्ति भेटियो भनेर सुनाकोठीमा खबर फैलिइसकेको थियो।
बालकुमारी मन्दिरनजिकै आफ्नै घरमा चिया पसल चलाउँदै आएकी ६० वर्षीया तुलसीमाया महर्जनले पनि यो खबर सुनेकी थिइन्।
'बिहान म चिया पसलमै बसिरहेकी थिएँ,' उनले भनिन्, 'पसलमा आएका मान्छेहरूले माँ भेटियो रे भनेर सुनाए।'
खबर सुनेपछि उनी केही बोल्नै सकिनन्। आँखाभरि खुसीको आँशु भरियो। उनी हत्तपत्त आफ्ना छोरालाई 'माँ' भेटियो भनेर सुनाउन गइन्।
'मलाई पनि भेटिएको ठाउँसम्मै गएर माँलाई लिन जान मन थियो। तर मेरो खुट्टा दुखेको छ। जान नपाएकोमा थकथकी छ। बिहान माँ भेटियो भनेर सुन्नेबित्तिकै खुसीले आँशु थाम्नै सकेकी थिइनँ। जिउ नै कामेजस्तो कस्तो-कस्तो भयो। मुटु नै काम्यो। हराएको दिनमा पनि यस्तै भएको थियो,' उनले भनिन्।
तुलसीमाया आफैं 'माँ' लाई लिन जान नसके पनि सुनाकोठीका थुप्रै स्थानीय गएका थिए।
त्यो भीडमा बाबुराज पनि उभिइरहेका थिए। उनलाई अचानक रिंगटा लागेजस्तो भयो। उनी त्यहीँ ढले।
'हामीले सम्मान गरिराखेको माईलाई आज बोरामा लावारिस देखेपछि मैले आफूलाई थाम्नै सकिनँ। मलाई अलिअलि रिंगटा लाग्यो,' उनले भने, 'मेरो आँखाले बिस्तारै देख्नै छाड्यो। म भीडबाट निस्केर बस्ने ठाउँ खोजिरहेको थिएँ, अचानक लडेँ। एउटा साथीले देखेर च्याप्पै समातेछ।'
त्यसपछि उनलाई त्यहाँबाट सुमेरू अस्पताल लगियो। झन्डै दुई घन्टा अस्पतालमा राखेपछि उनी डिस्चार्ज भए।
बालकुमारी माई हराएकै दिनदेखि आफूलाई निद्रा लाग्न छाडेको बाबुराज बताउँछन्। उनको घर मन्दिरनजिकै छ। दिनहुँ मन्दिर अगाडिको बाटो हिँड्छन्। बालकुमारी माईको मूर्ति चोरी भएदेखि कहिले भेटिन्छ भन्ने चिन्ता लाग्ने गरेको उनले बताए।
'जाँदा-आउँदा माईको यादले मलाई टर्चरजस्तै भइसकेको थियो,' उनले भने, 'म सुत्नै सक्दिन थिएँ। सानैदेखि उहाँको आस्था गर्दै आएकाले होला उहाँ हराएपछि निद्रा पनि हरायो। बिहान मूर्ति देखेपछि यति खुसी भएँ, त्यही खुसीले होला म त आफूलाई सम्हाल्नै नसकेर ढलेछु।'
उपचारमा संलग्न चिकित्सकहरूले पनि अनिद्राकै कारण त्यस्तो भएको बताएका छन्।
यसबीच घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएर बालकुमारीको मूर्ति महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेल ल्याएको थियो। त्यहाँ कानुनी प्रक्रिया पूरा भएपछि पत्रकार सम्मेलन गरिएको थियो जसमा ऊर्जामन्त्री पम्फा भुसाल, ललितपुरका मेयर चिरिबाबु महर्जन, बालकुमारी गुठीका जेष्ठ सदस्यहरू तथा स्थानीय भेला भएका थिए।
प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले सम्मेलनमै उक्त मूर्ति गुठियारलाई हस्तान्तरण गरे। गुठियारका जेष्ठ सदस्यले पूजा गरेर मूर्ति ग्रहण गरेका थिए।
उनले मूर्ति ग्रहण गर्नेबित्तिकै एकैछिनमा त्यहाँको माहौल जात्रामय भयो।
स्थानीयले बाजागाजासहित जावलाखेलबाट सुनाकोठीसम्म पैदलयात्रा गरेर बालकुमारी मूर्तिलाई मन्दिरसम्म ल्याइपुर्याए र पूजा गरेर प्रतिस्थापन गरे।
यहाँ जुन दिन मूर्ति चोरियो, त्यही दिनदेखि मूर्तिको सट्टा मुकुट राखिएको थियो। स्थानीयले मुकुटलाई नै बालकुमारी माईको सम्झनामा पूजा गरिरहेका थिए। अब फेरि मूर्तिलाई नै पूजा गर्न पाउने भएपछि स्थानीयको खुसीको सीमा छैन।
वडाध्यक्ष बाबुराजका अनुसार मूर्ति चोरी भएपछि मन्दिर परिसरमा सिसिटिभी जडान गरिएको छ। पन्ध्र लाख रूपैयाँ बजेट तय गरी सुनाकोठीका प्रमुख ठाउँहरूमा पनि सिसिटिभी जडान गरिएको उनले जानकारी दिए।
'हामीकहाँ भएका अन्य मूर्ति पनि चोरी नहोस् भनेर सिसिटभी जडान गरिसकेका छौं। यसअघि पनि सिसिटिभी राख्ने योजनामै थियौं तर कोरोनाले ढिलाइ भयो,' उनले भने, 'प्रहरी, प्रशासन र स्थानीयको मिहिनेतले दबाव सिर्जना भएर मूर्ति फिर्ता आएको छ। खुसी छु।'
प्रहरीले भने अनुसन्धान बाँकी रहेको बताएको छ। मूर्ति भेटिए पनि चोर फेला नपरेसम्म अनुसन्धान नसकिने प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले बताए।
'जबसम्म चोर फेला पार्दैनौं, हाम्रो अनुसन्धान सकिँदैन। यो त एउटा प्रेसर भएर, प्रहरी नजिक पुग्यो भन्ने भएर मूर्ति फिर्ता गर्यो होला,' उनले भने, 'चोर फेला नपरेसम्म हामी शान्तिले बस्दैनौं।'
माघ ८ गते मध्यरात मन्दिरका चारवटा ढोकाका ताल्चा फोडेर बालकुमारीको मूर्ति चोरी भएको थियो। चोरले फोडेको ताल्चासमेत लगेको थियो।
भोलिपल्ट बिहान ४ बजेतिर गुठियार प्राणनाथ महर्जन मन्दिर सफा गर्न पुगेका थिए। उनले प्रवेशद्वारदेखि माथिल्लो तलासम्मै ढोका खुल्लै देखेका थिए।
मूर्ति चोरी भएको थाहा पाएपछि वडाध्यक्ष बाबुराजले नै प्रहरीलाई खबर गरेका थिए। यो घटनामा अनुसन्धान गर्न प्रहरी परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोली खटिएको थियो।
स्थानीयले पनि शंकास्पद ठाउँहरूमा गएर आफैंले खोजी गरेका थिए।
मूर्ति चोर खोज्न विभिन्न विधिबाट अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। मूर्ति चोरीमा पेशेवरहरू नै लागेको हुनुपर्ने प्रहरीको अनुमान छ।
'पेशेवरहरू नै लागेको हुनुपर्छ। अहिले मूर्ति फेला परेपछि जनता खुसी त भए तर फेरि चोरी हुनसक्छ। त्यसैले चोर पत्ता लगाउनु जरूरी छ,' पोखरेलले भने।
सबै तस्बिर: निशा भण्डारी