ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी मन्दिरको मूर्ति २० दिनपछि फेला परेको छ।
शुक्रबार बिहान पौने ८ बजे ललितपुर महानगरपालिका-१५ स्थित हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर पेटीमा उक्त मूर्ति फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले सेतोपाटीलाई जानकारी दिए।
शाहका अनुसार बिहान मन्दिर अगाडि बोरा फेला परेको थियो। स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर हेर्दा सुनाकोठीबाट हराएको मूर्ति फेला परेको हो।
‘बोराभित्र राखेर राति नै छोडिएको छ। बिहान फेला पर्यो,’ प्रहरी उपरीक्षक शाहले भने,‘भेरिफाइ गर्दैछौं।’
गत माघ ९ गते ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो।
यसको अनुसन्धान गर्न ललितपुर परिसर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो। मूर्ति चोरीको विषयमा हालसम्म कसैलाई पक्राउ नगरेको प्रहरीले जनाएको छ।
‘हामीले मान्छेहरू ल्याएर सोधपुछ गर्ने काम गरिरहेका थियौं,' शाहले भने, 'दबाब सिर्जना भएपछि छोडेर गएको जस्तो देखिन्छ।'