चिसो मौसममा झरी पर्नेबित्तिकै काठमाडौं उपत्यका वरिपरिका डाँडामा हिउँ पर्छ। हिउँ परेपछि नरमाउनु पनि कसरी!
न्यानो कपडा, बाक्लो जुत्ता र पञ्जा लगाएर नजिकैको कुनै गन्तव्यमा हिउँ खेल्न जानेको लर्को नै लाग्छ। अचेल यसरी हिउँ खेल्न चाहनेहरू कि त फुल्चोकी जान्छन् कि चन्द्रागिरि। अलि टाढा पुग्नुपरे नगरकोटसम्म पुग्छन्।
कतिपय आफ्नो सवारीसाधन लिएर जान्छन्, कतिपय हिँडेरै ‘हाइकिङ’ जान्छन्।
चन्द्रागिरि नगरपालिका-६, महादेवस्थान बस्ने प्रकाश गुरूङका छोराछोरी पनि शुक्रबार र शनिबार चन्द्रागिरिमा हिउँ परेपछि आइतबार हाइकिङ गएका थिए।
प्रकाशका ठूला छोराछोरी पहिले पनि हाइकिङ गइरहन्थे। चन्द्रागिरिबाट हिँडेर फर्पिङ निस्किने गर्थे। त्यसैको सिको गर्दै परिवारका अरू केटाकेटी त्यस दिन हाइकिङमा निस्किए।
चन्द्रागिरि हाइकिङ जाने टोलीमा २२ वर्षीया रिता गुरूङ, १५ वर्षीया सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविन थिए। उनीहरू आइतबार दिउँसो करिब १२ बजेतिर केबुलकारमुनि भएको सिँढी चढ्न थाले।
‘हिउँ मात्रै खेल्न जाने हो भने त केबुलकारबाट पनि पठाउन सकिन्थ्यो तर उनीहरू हिउँ सँगसँगै हाइकिङ गर्न चाहन्थे,' प्रकाशले भने, 'सुरूमा त हामीले नजानू नै भनेका थियौं। हाम्रा केटाकेटी पहिले पहिले पनि हाइकिङ गइरहेकाले छिट्टै घर फर्किन्छन् भन्ने लागेको थियो। हिँडेरै माथिसम्म पुग्छन् भन्ने त सोचेकै थिएनौं।'
दिउँसो पनि फोन गरेर छिट्टै फर्किनू भनेको प्रकाशले बताए।
‘हामी ३ बजेदेखि नै उनीहरूको सम्पर्कमा थियौं। हामीले फर्किएर आउनू, त्यहाँ बाघ-भालू आउँछ भनेर भनेका पनि थियौं,’ प्रकाशले भने।
यसरी साथीभाइसँग हिउँ खेल्न वा हाइकिङ जाँदा रमाइलो त हुन्छ, तर त्यसबीच बाटोमा कतिपय हराउँछन् पनि। पहिले पहिले फुल्चोकीमा हिउँ खेल्न जाँदा मानिस हराएको भन्ने सुनिन्थ्यो। फुल्चोकीले त कतिको ज्यानै लिएको छ।
अहिले चन्द्रागिरिमा पनि हराएका र चिसोले कठ्याङ्ग्रिएर ज्यान गएका खबर आउन थालेका छन्।
त्यस्तै घटना आइतबार भयो।
चन्द्रागिरि हाइकिङ गर्न गएका ती केटाकेटी बाटोमै हराए।
बाटो हराए पनि मोबाइल सम्पर्क भइरहेकाले उनीहरूको आवाज अभिभावकसम्म पुगिरहेको थियो। तर त्यो घना जंगलमा उनीहरू कता छन् अत्तोपत्तो थिएन।
अपराह्न ३ बजे टेलिफोन सम्पर्क हुँदा 'अब हामी फर्कियौं' भनेका केटाकेटी अबेरसम्म घर नआइपुगेपछि घरपरिवार तथा छरछिमेक गरी १५-१८ जनाको टोली राति नै खोज्न हिँडेको प्रकाशले बताए।
'हाइकिङ गएका केटाकेटीले फोनमा भनेअनुसार उनीहरू गएकै बाटो फर्किन खोजेका थिए तर कुन ठाउँमा पुगेर बाटो बिराए पत्तो पाएनन्,' प्रकाशले भने, 'यस्तो अवस्थामा हामीलाई पनि कहाँ खोज्न जाने अलमल भयो। त्यसपछि हामीले राति साढे ८ बजेतिर प्रहरीलाई खबर गर्यौं।'
प्रहरीलाई भनिएको थियो, ‘पाँच जना बच्चाहरू चन्द्रागिरिको जंगलमा हराएका छन्। उनीहरू सबै जना सम्पर्कमै छन् तर कहाँ छन् फेला पार्न सकिएको छैन।’
त्यसपछि घटनास्थल नजिकै थानकोटको प्रहरी टोली खटियो। प्रहरीले पनि हराएका केटाकेटीसँग सम्पर्क गरिरहेको थियो। तर उनीहरूले आफू कहाँ छन् भन्ने यकिन जानकारी प्रहरीलाई दिन सकेनन्।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय पनि हराएकाहरूको खोजीमा मिसिए।
उनीहरूको लोकेशन थाहा पाउन प्रहरीले विभिन्न तरिका अपनायो। पाण्डेयले बालबालिकाहरूलाई चिच्याउन भने। प्रहरीले तलबाट साइरन बजाएर उनीहरूलाई त्यसको आवाज सुने/नसुनेको पनि सोधे।
उनीहरूले आवाज सुनेको जवाफ दिए।
यति गरेपछि उनीहरू कहाँ छन् भन्ने अनुमान प्रहरीले गर्यो। त्यसबीच उनीहरूको फोन घरि लाग्ने घरि नलाग्ने भइरहेको थियो।
‘स्थानीयको टोली पनि गएको थियो। तर उहाँहरू आवाजकै भरमा जानुभयो। बत्ती लग्नुभएको थिएन,’ प्रहरी नायब उपरीक्षक पाण्डेयले भने, ‘खोज्न गएका आफन्तहरू कोही फर्किए, कोही त्यहीँ अड्किए।’
यसबीच फुल्चोकीमा हुने घटना नदोहोरियोस् भनेर महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी र प्रहरी उपरीक्षक दिनेशराज मैनालीको समन्वयमा विपद् व्यवस्थापन टोलीसँग सम्पर्क गरियो।
‘फुल्चोकीमा पनि मानिसहरू हराएर दुर्घटना भएका घटना छन्। त्यस्तै नदोहोरियोस् भनेर विपद्को टोलीसँग पनि समन्वय गर्यौं,’ प्रहरी उपरीक्षक मैनालीले भने, ‘बच्चाहरू सँगै छन् वा छैनन् भन्ने कुरा महत्वपूर्ण थियो। धन्न उनीहरू सबै सँगै थिए।’
परिसरले सामाखुसीस्थित विपद् व्यवस्थापन गुल्मको टोली बोलायो। प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली खटिएको थियो। त्यो टोली दुईवटा जेनेरेटर, डोरी, ठूला लाइटहरू बोकेर घटनास्थल पुगेको थियो।
यति बेलासम्म प्रहरीको मात्रै ३७ जनाको टोली चन्द्रागिरिमा खटिसकेको थियो। उता परिवारबाट पनि १५-१८ जनाको टोली खटिएको थियो।
प्रहरीको एउटा टोली पैदल हिँड्यो। अर्को दुइटा टोली केबुलकारमाथि चढेर हेर्न हिँड्यो।
‘हामी माथि जाँदा २०-२५ मिनेट लगाएर हेर्यौं। फर्किने क्रममा चार नम्बर टावरमा आएर रोकियौं,’ पाण्डेयले भने, ‘त्यहाँ रोकिँदा तल जंगलको पूर्वी क्षेत्रमा चिच्याइरहेको सुन्यौं। मोबाइलका केही स-साना लाइटहरू पनि देखिए।’
केबलकार चढेर हेर्दा बालबालिकाहरू भएको क्षेत्र पत्ता लाग्यो।
ठाउँ यकिन भएपछि टोली तल फर्कियो।
सुरूमा प्रहरी निरीक्षकसहित गएको टोली अर्कै बाटो हिँडेको थियो। फेरि प्रहरी नायब उपरीक्षक पाण्डेयसहितको टोली अर्कै बाटो हुँदै त्यहाँ गयो।
बालबालिकाहरू पनि आफ्नो उद्धार छिट्टै होस् भनेर चिच्याइरहेका थिए।
‘उनीहरू एकसाथ एक, दुई, तीन भन्दै चिच्याउँदै थिए,’ प्रकाशले भने।
यसरी बालबालिकालाई भएको ठाउँ पत्ता लगाउँदासम्म मध्यरात भइसकेको थियो। स्थानीयसहित गएको टोली पनि नजिकै पुगिसकेको थियो।
‘प्रहरीले माथि केबलकारबाट हेरिरहेको थियो। त्यतिबेलासम्म हाम्रा भाइहरूले पनि उनीहरूलाई भेटाइसकेका थिए,’ प्रकाशले भने, ‘तर उनीहरूलाई त्यो बाटोबाट ल्याउन भने निकै गाह्रो भयो। सकेनन्।’
यता प्रहरीको टोली विपद् व्यवस्थापनमा प्रयोग हुने सबै सामग्रीसहित हिँडेको थियो। त्यो टोलीले बालबालिकाहरूलाई राति करिब सवा १ बजे फेला पार्यो।
‘बच्चाहरू एकदमै अप्ठेरो ठाउँमा फसेका थिए। तलबाट गएका स्थानीयले पनि फेला पार्न त पारिसकेका थिए तर एकदमै अप्ठेरो ठाउँ,’ प्रहरी नायब उपरीक्षक पाण्डेयले भने, ‘बाटो बिराए। बाटोको ट्र्याक छोड्यो भने अन्त सबै भिर नै थियो।’
चिसोका कारण केही समस्या आउन सक्छ भनेर प्रहरीले एउटा एम्बुलेन्स पनि तैनाथ राखेको थियो। तत्कालै उनीहरूको उद्धार गरी बलम्बुस्थित ओम समाज अस्पताल लगियो।
त्यहाँ जाँच गर्दा बालबालिकाको अवस्था सामान्य थियो। त्यसपछि उनीहरूलाई प्रहरी वृत्तमा ल्याइयो।
बालबालिकाले निरन्तर चिच्याउँदा र उनीहरूको मोबाइल फोनको ब्याट्री नसकिनाले पनि धेरै सहयोग भएको प्रहरीले जनाएको छ। प्रहरीले झन्डै पाँच घन्टा खटिएर उद्धार गरेको परिसरले जनाएको छ।
सबै परिवार र प्रहरीहरू फर्किंदा बिहान ३ बजेको थियो।
आफ्ना बालबालिका बाटोको ट्र्याक स्पष्ट नहुनाले पनि हराएको प्रकाश गुरूङ बताउँछन्।
‘प्रहरी र स्थानीय भाइहरू सबै मिलेर फेला पार्नुभयो। धेरै धन्यवाद छ,’ उनले भने, ‘तर त्यहाँका ट्र्याक स्पष्ट भएनन्। त्यसलाई पनि व्यवस्थित बनाउनुपर्यो।’
उद्धार गरेर ल्याइसकेपछि केटाकेटीले आफूहरू कसरी हराए भनेर परिवारलाई बताएका छन्। उनीहरूको चहाना चन्द्रागिरि मन्दिरमा पुगेर हिउँ खेल्ने थियो। तर उनीहरू त्यहाँसम्म पुग्न पाएनन्। समय अभावले बीचबाटै फर्किए तर आउँदा आउँदै बाटो बिराए।
परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक मैनाली यो घटनाबाट पाठ सिकेर कसैलाई पनि लहैलहैमा नलाग्न अनुरोध गर्छन्।
‘हामी प्राय: लहैलहैमा लागिरहन्छौं। कतै जानैपर्ने भए एउटा राम्रो योजना बनाएर जाँदा राम्रो हुन्छ। समयमै पुग्ने र समयमै फर्किने गरी गयो भने राम्रो,' उनले भने, 'अभिभावकसँग पनि आफ्ना बालबलिकालाई आँखाअगाडि नै राख्न विनम्र अनुरोध गर्न चाहन्छु।’
त्यस्तै प्रहरीका चेतनामूलक अनुरोध मात्रै पालना गरे पनि दुर्घटनाबाट जोगिन सक्ने उनको भनाइ छ।
‘कोही व्यक्ति हराएकै छ भने हामीलाई जतिसक्दो छिटो खबर गरेको राम्रो। हामी छिटोभन्दा छिटो रेस्क्यू गर्न खटिन्छौं। हिजोको घटनामा परिवारले थाहा पाउनबित्तिकै हामीलाई खबर गरेको भए छिटो उद्धार हुन्थ्यो,' उनले थपे, 'प्रहरी अधिकारीहरूको राम्रो टिम वर्कले धन्न सकुशल उद्धार भयो।’