माघ १३ गते मोरङको धनपालथान गाउँपालिका-७ बोर्डिङ टोलस्थित उखुबारीमा किसानले खाल्डा देखे। उखु काट्न गएका किसानले खाल्डा देखेपछि प्रहरीलाई खबर गरे।
खनेर हेर्दा त्यहाँ एक जना पुरूषको शव भेटियो। भोलिपल्ट ३० मिटर पर अर्को खाल्डो देखियो। त्यो खाल्डोमा पनि अर्का पुरूषको शव गाडिएको थियो।
खाल्डामा गाडिएकाहरू सुनसरीको धरान उपमहानगरपालिका-३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भु चौधरी हुन्।
उनीहरूको पहिचान सुरूमा खुलेको थिएन। राजेन्द्रकुमारको शव फेला परेपछि उनको साथबाट पर्स पनि फेला परेको थियो।
पर्समा भएको स्मार्ट लाइसेन्सले उनको पहिचान खुल्यो। शम्भुको भने कपडा र हातमा राखी लगाइएको थियो। त्यसैबाट मृतककी श्रीमतीले उनको पहिचान गरिन्।
शंकाष्पद रूपमा शव फेला परेपछि अनुसन्धान गर्न मोरङबाट प्रहरीको टोली काठमाडौं आयो। टोलीले महानगरीय अपराध महाशाखासँग मिलेर अनुसन्धान गर्दै थियो।
त्यसैबीच सिरहाको सिरहा नगरपालिका घर भई बल्खु बस्दै आएका अनिलकुमार मण्डल पक्राउ परे। उता मोरङको जहदा गाउँपालिका-४ बस्ने दिनानाथ सोनार र धनपालथान गाउँपालिका बस्ने नजिर आलम पनि पक्राउ परे।
घटनामा अहिलेसम्म तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।
उनीहरूलाई मोरङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
उनीहरूसँग प्रहरीले सोधपुछ गर्दै जाँदा अर्का एक व्यक्ति समेतको हत्या भएको खुल्यो। उनी केही समयदेखि हराइरहेका थिए।
ती थिए तेह्रथुम घर भई काठमाडौंको गोठाटार बस्ने ६२ वर्षीय मोहनप्रसाद लिम्बू। शव कहाँ छ भनेर सोध्दा उनले ललितपुरको गोदावरी नगरपालिका-१२ मा स्थित एक घरपछाडि गाडिएको बताए।
ठेचोंको त्यो घर प्रदीपकुमार थापा मगरको हो।
मण्डलले गोदाम चलाउने भन्दै प्रदीपको घर भाडामा लिएका थिए। उनले त्यो घर केही महिनाअघि मात्रै भाडामा लिएका थिए।
शव त्यहाँ छ भन्ने जानकारी पाएपछि प्रहरीको टोली घटनास्थल पुग्यो। घर पछाडि झन्डै पाँच फिट खनेर शव गाडिएको भेटियो।
गाडिएको शवलाई छिटो गलाउन नुनको प्रयोग गरिएको थियो भने माथिबाट ढलान गरिएको प्रहरीले जनाएको छ।
मण्डललाई सोधपुछ गरेका एक प्रहरी अधिकारीका अनुसार उनले सुरूमा घरभित्रै शव गाड्न खोजेका थिए। तर भित्रको ढलान फोड्न नसकेपछि उनले घर पछाडि गाडेका हुन्।
प्रहरी उपरीक्षक जिसीका अनुसार तीन जना मृतक र मण्डल व्यापारिक पार्टनर हुन्।
‘यस विषयमा धेरै कुराहरू छन्। तीन जना नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘पैसाकै लागि हत्या भएको देखिन्छ। आर्थिक कारोबार र पैसा बाँडफाँटमा कुरा नमिलेको हो।’
लिम्बूको शव सबैभन्दा अन्तिममा फेला परेको हो। तर उनको हत्या सबैभन्दा सुरूमा भएको थियो।
उनको हत्या मंसिर २८ गते भएको जिसीले बताए। मण्डललगायतले मिलेर सुरूमा घाँटी कसेर हत्या गरेको खुलेको छ।
उनीहरूले त्यसरी हत्या गरेपछि घर पछाडि गाडेको उनले बताए।
‘समूह नै छ। मान्छे बोलाएर हत्या गरेको देखिन्छ,’ उनले भने,‘उनीहरूले जग्गादेखि विभिन्न आर्थिक कारोबार गर्ने गरेको देखिन्छ। उनीहरूले विभिन्न कम्पनी खोलेर काम गरेको देखिन्छ। सोधपुछ गर्दा कोही भर्खर-भर्खर जोडिएको कोहीचाहिँ लामै समयदेखि सँगै काम गरेको देखिन्छ।’
प्रहरीले सोधपुछ गर्दा पनि मण्डलले पैसाको कुरा नमिलेकै कारणले हत्या भएको बताएका छन्। यसमा थप अनुसन्धान गर्दा खुल्ने कार्यालयले जनाएको छ।
सुरूमा मण्डलको समूहले लिम्बूको हत्या गरेपछि मंसिर २९ गते नै राजेन्द्रप्रसाद र शम्भुसहित मोरङ पुगेको देखिन्छ।
मोरङमा पुगेर उनीहरूले राजेन्द्रको पुस ५ गते र शम्भुको ७ गते हत्या गरेको प्रहरी उपरीक्षक जिसीले बताए।
‘हत्या गर्दा उनीहरूले योजनाबद्ध रूपमै गरेको देखिन्छ। पहिले उनीहरूले हत्या गर्नुपूर्व नै कहाँ गाड्ने भनेर योजना बनाए,’ उनले भने, ‘त्यसपछि घाँटीमा कसेर हत्या गरेको भनेका छन्। गाड्नको लागि खाल्डो र मान्छेहरू तयार बसिरहेका थिए। अरू कसरी हत्या गरेको रिपोर्ट आएपछि अरू कुरा थाहा छ।’
प्रहरी स्रोतका अनुसार उनीहरूले झापामा ५० करोडमा जग्गा बैना गरेको देखिएको छ। त्यसबापत उनीहरूलाई ३ प्रतिशत कमिसन पनि आउने कुरा थियो।
त्यो पैसा बाँडफाँट गर्नुभन्दा उनीहरूलाई सिध्याइदिए आफैंलाई फाइदा हुने सोचले हत्या गरेको प्रारम्भिक सोधपुछका क्रममा बताएका छन्।
‘आर्थिक कारोबारकै विषय हो। उनीहरूले पार्टनरसिपमा झापामा ५० करोडमा जग्गा बैना गरेको देखिन्छ। त्यसको ३ प्रतिशत कमिसन पनि आउने र पार्टनरसिपमा अरूलाई बाँड्नुभन्दा सिध्याउनु राम्रो भन्ने सोच एउटा छ,’ महाशाखा स्रोतले भन्यो, ‘अर्को हाइड्रोपावरलगायत विभिन्न ठाउँमा लगानी गर्ने कागजात पनि फेला परेका छन्। सक्कली हो वा नक्कली भन्ने अनुसन्धानबाट खुल्छ तर मुख्य कारण आफूलाई फाइदा गर्न पार्टनरलाई सिध्याएको देखिन्छ।’
ती प्रहरीका अनुसार मण्डलको केही आपराधिक व्यक्तिहरूसँग पनि सम्बन्ध रहेको देखिन्छ।
अरू धेरै जना संलग्न छन् भन्ने प्रहरीको भनाइ छ। उनीहरूको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार मण्डलले हत्या गर्न भारतबाट केही व्यक्तिलाई पनि बोलाएका थिए। त्यसको लागि उनले २० लाखसम्म खर्चिएको बताएका छन्।
लिम्बूको शव ललितपुरमा फेला परेको हुँदा महानगरीय प्रहरी परिसर ललितपुरले पनि छुट्टै अनुसन्धान गर्ने प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए।
‘अहिले मोरङले अनुसन्धान गरिरहेको छ। त्यहाँ सकेपछि हामी यता ल्याएर पनि थप अनुसन्धान गर्छौं,’ उनले भने।
यो पनि: 'व्यवहार मिलाउन' भन्दै घरबाट हिँडेका साथीहरूको शव उखुबारीमा भेटिएपछि
मोरङको उखुबारीमा शव फेला घटना: ललितपुरको ठेंचोमा फेला पर्यो अर्को शव