चार सेन्टिमिटरका स-साना चार वटा क्युब गत बुधबार अमेरिकाबाट काठमाडौं आइपुगे। ती क्युबलाई अहिले बत्तीसपुतलीस्थित नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)को कार्यालयमा राखिएको छ।
सोसाइटीका लागि ती साना क्युब कुनै ऐतिहासिक वस्तुभन्दा कम छैनन्। किनकी ती क्युब अन्तरिक्ष पुगेर काठमाडौं आइपुगेका हुन्। यति मात्रै होइन, यी क्युब ११ देखि २० वर्ष उमेर समूहका नेपाली विद्यार्थीले बनाएका हुन्।
सोसाइटीले गत अप्रिल १० देखि ‘क्युब्स इन स्पेस’को कार्यक्रम सञ्चालन गरेको थियो। अमेरिकी संस्था आइडिओओडिएलइडियु इन्कसँग सहकार्य गरी ‘क्युब्स इन स्पेस’ कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा देशभरिबाट ५५ जना विद्यार्थीले सहभागिता जनाएका थिए। नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण अनलाइनबाटै सञ्चालन भयो।
विद्यार्थीहरूको लागि स्पेसमा परीक्षण गर्न डिजाइन कसरी गर्ने भन्ने प्रक्रिया सिकाउन यो कार्यक्रम सञ्चालन गरिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
'यो स्पेस एक्स्पेरिमेन्टको डिजाइनको प्रक्रिया, डिजाइन गर्दा के-के कुरामा ध्यान दिनुपर्छ भन्ने सिकाउन कार्यक्रम सञ्चालन गरेका हौं,' उनले भने।
कार्यक्रमका लागि नासोले ५५ जना विद्यार्थी छानेर उमेरअनुसार १५ समूहमा विभाजन गरेको थियो। तालिकाअनुसार पाँच हप्ताको कार्यक्रम भए पनि थप दुई हप्ता लम्बिएको थियो।
'सुरूमा कसरी स्पेसमा परीक्षण हुन्छ। के-कस्तो प्लेटफर्म हुन्छ भन्ने जानकारी दियौं,' अध्यक्ष भट्टराईले भने, 'विशेषगरी हामीले दुईटा साधनबारे चर्चा गर्यौं।'
विभाजन गरिएका आधा समूहले साउन्डिङ रकेटको लागि क्युब्स बनाएका थिए भने आधाले रिसर्च बलुनको लागि बनाएका थिए।
भट्टराईका अनुसार साउन्डिङ रकेट र रिसर्च बलुन क्युब्सलाई अन्तरिक्षसम्म पुर्याउने दुई साधन हुन्। कार्यक्रममा अध्यक्षसहित सहभागी भएका शिक्षकले सल्लाह-सुझाव दिँदै गएपछि विद्यार्थीहरू आफैंले डिजाइन बनाए।
१५ वटा समूहले नै डिजाइन बनाएका थिए। डिजाइन गरेपछि उनीहरूले आफ्नो डिजाइनबारे प्रस्तुति दिए। त्यसरी प्रस्तुति दिएपछि दुई वटा समूहले बनाएका परियोजना स्पेसमा पठाउन छानिएको थिए।
त्यो छान्न एउटा निर्णायक मण्डलको प्यानल पनि बनेको थियो। जसमा क्युब्स इन स्पेस, नासा र नासोका ६ जना प्रतिनिधि सहभागी थिए।
'समीक्षा गर्न एउटा प्यानल बनाएका थियौं। ६ जनाको प्यानलले समीक्षा गरेर दुई वटा प्रोजेक्ट छानेका हौं,' भट्टराईले भने, 'एउटा बलुन र अर्को रकेटको लागि छानेका थियौं। त्यसपछि नासाको वालोप्स फ्लाइट फ्यासिलिटी सेन्टरमार्फत् उडाएर अन्तरिक्ष पुर्याइ अहिले यहाँ काठमाडौं आइपुगेको हो।'
यसरी स्पेसमा क्युब्स पठाउनुभन्दा पनि आफूहरूको उद्देश्य विद्यार्थीहरूलाई स्पेस डिजाइनिङको परीक्षण कसरी हुन्छ, प्रारम्भिक डिजाइन समीक्षा भनेको के हो, आलोचनात्मक डिजाइन भनेको के हो भन्नेबारे सिकाउनु भएको अध्यक्ष भट्टराईले बताए।
यसरी नेपालका विद्यार्थीहरूले पहिलो पटक यसबारे सिकेको उनले बताए।
'भोलि मानौं कुनै विद्यार्थीले एउटा स्याटलाइट बनायो। अहिले त हामीले क्युब्स मात्रै बनाएका हौं। पछि गएर कुनै विद्यार्थीले स्याटलाइट बनायो भने बनाएर उडाउने बेलासम्मको सबै प्रक्रिया के हो भन्ने कुरा अहिले नेपालका ५५ जना विद्यार्थीले सिकेका हुन्,' उनले भने, 'यो नेपालको पहिलो ब्याच हो। हाम्रो उद्देश्य विद्यार्थीलाई प्रक्रिया सिकाउने हो।'
विद्यार्थीले स्पेसमा के पठाउन हुन्छ र के पठाउन हुन्न भन्नेबारे पनि सिकेको उनले बताए।
छनोट भएका विद्यार्थीले सानो क्युबमा के राखेर पठाएका थिए?
कार्यक्रममा सहभागी श्रेया पाण्डेका अनुसार आफूहरूले पृथ्वीमा प्रयोग हुने ग्लुले अन्तरिक्षमा काम गर्छ कि गर्दैन भन्ने जान्न खोजेको बताइन्। उनको समूहमा उनीसँगै रोमी अधिकारी, सन्ध्या शर्मा र कल्पना यादव थिए।
'हाम्रो समूहमा चार जना थियौं। उताबाट हामीलाई काम दिइएको थियो। क्युब्स इन स्पेस नासाका एडुकेटरहरूले सञ्चालन गरेको एउटा कार्यक्रम हो,' उनले भनिन्, 'अनि हामीलाई त्यहाँ परीक्षणका प्रक्रियाहरू सिकाइएको थियो। त्यसअनुसार पछि हामीले सानो क्युबमा अट्ने एउटा एक्सपेरिमेन्ट बनाउनुपर्ने थियो। त्योसँगै हामीले त्यस परीक्षणको नतिजा के आउँछ त भनेर पनि अनुमान गर्नुपर्ने थियो।'
उनीहरूको समूहले बनाएको क्युब रिसर्च बलुनमार्फत् अन्तरिक्षमा पुगेको हो। आफूहरूले प्रस्तुति दिएपछि छनोटमा परेको उनले बताइन्।
'हामीले प्रस्तुति यो कारणले गर्दा यो परीक्षण गर्ने सोच्यौं भनेर भन्यौं। अनि निर्णायक मण्डलले हामीलाई छनोट गर्नुभयो,' उनले भनिन्, ‘सामान्य जीवनमा प्रयोग गर्ने ग्लु स्पेसमा प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने हाम्रो जिज्ञासा थियो। यदि पठाउन मिल्छ भने किन यसको प्रयोग हुँदैन त? स्पेसमा छुट्टै खालको ग्लु प्रयोग हुँदो रहेछ। त्यसैले यहाँको ग्लु किन प्रयोग हुँदैन र प्रयोग गर्यो भनेचाहिँ के हुन्छ त भन्ने जान्नु थियो।'
उनीहरूले स्पेसमा पठाएपछि त्यो ग्लु के हुन्छ त भनेर पनि अनुमान लगाएका थिए। यहाँ प्रयोग हुने ग्लुमा पानी हुन्छ र यस्तो खालको ग्लु स्पेसमा प्रयोग गर्यो भने त्यसमा हुने पानी सुकेर फुट्न थाल्छ भन्ने अनुमान गरेको उनले बताइन्।
पाण्डेले नेपालमा क्युब्स इन स्पेसको कार्यक्रम हुँदैछ भन्ने जानकारी एउटा विज्ञापनबाट थाहा पाएकी थिइन्। त्यतिबेला उनी भर्खरै कक्षा १२ सकेर बसिरहेकी थिइन्।
उनले काठमाडौं मोडल कलेज (केएमसी)बाट विज्ञान संकायमा कक्षा १२ सकाएकी हुन्। फेसबुकमा उनले नासोको विज्ञापन देखेपछि सम्पर्क गरेकी थिइन्।
'मलाई खगोल विज्ञानमा पहिले देखि नै रूची थियो। अनि आफूले परीक्षण गरेको क्युब्सहरू स्पेसमा जान्छ भनेपछि म उत्साहित भएकी थिएँ,' उनले भनिन्, 'अहिले क्युब्स आइसकेको भन्ने जानकारीचाहिँ पाएँ। तर त्यसबारे थप अध्ययन गरिसकेका छैनौं।'
अर्को समूहले भने क्युबमा 'ओब्लिक' राखेर रकेटमार्फत् पठाएको समूहका ओशन शर्मा कट्टेलले बताए।
'हामीले मकैको पिठो र पानीको (कर्न स्टार्च) एउटा सोलुसन जसलाई ओब्लिक भनिन्छ त्यो पठाएका हौं। तरल पदार्थ हो तर सामान्य खालको तरल पदार्थ होइन। के हुन्छ भने यदि हामीले त्यसमा प्रेसर दियौं भने ठोस पदार्थ हुन्छ र अरूबेला सामान्य तरल पदार्थ हुन्छ,' उनले भने, 'अनि स्पेसको वातावरणमा यसलाई सुरक्षाकवचको रूपमा प्रयोग गर्न सक्छौं भनेर र कत्तिको काम गर्छ भनेर सानो नमूना क्युबमा राखेर स्पेसमा पठाएका थियौं।'
उनको समूहमा सौगात केसी, धर्मनाथ साह र शाश्वत सेढाईं सहभागी थिए। आफूहरूले पनि क्युब्सहरू फर्किएको जानकारी पाए पनि थप अध्ययन गरिनसकेको बताए।
विराटनगरका कट्टेल पनि कक्षा १२ सकेर बसिरहेका थिए। त्यसैबीच उनले यसबारे थाहा पाएपछि कार्यक्रममा सहभागी भएका थिए।
'मैले यहाँ धेरै कुरा सिकेँ। सानो उमेरमै हामीले यस्तो गर्न सक्यौं। नेपालमा अवसर छैन भन्ने गर्छन् तर अवसरहरू आउँछन् खोज्यौं भने पाउँछौं,' उनले भने।
यस कार्यक्रममा सामुदायिक विद्यालयबाट १६ वर्षीया दुर्गा गुरूङ पनि सहभागी भएकी थिइन्। यो कार्यक्रम हुँदा उनी ९ कक्षा पढ्दै थिइन्।
हाल उनी काठमाडौंको छाउनीस्थित श्री पञ्चकन्या माध्यामिक विद्यालयमा अध्ययनरत छन्।
'पहिले विद्यालयमा कार्यक्रम गर्न नासोका सरहरू आउनुभएको थियो। त्यसैबेला चिनेको हो। क्युब्स इन स्पेसको कार्यक्रम छ भन्ने थाहा पाएपछि प्रिन्सिपल मिसले मलाई भन्नुभयो र म सहभागी भएकी हुँ,' उनले भनिन्, 'सुरूमा केही थाहा थिएन। अनि पछि त्यहाँ गएर धेरै सिकेँ। मलाई यस्तो विषयमा धेरै रूची पनि छ।'