केही दिनदेखि कोरोना खोप लगाउन चाहिने सिरिन्जको अभाव हुन थालेपछि खोप कार्यक्रम प्रभावित भएको छ।
सरकारले सबै खोप केन्द्रहरूमा खोप पठाए पनि त्यसका लागि चाहिने आवश्यक सिरिन्ज नपठाउँदा खोप कार्यक्रम प्रभावित बनेको हो।
ललितपुरमा मात्र १० देखि १५ हजार वटा सिरिन्जको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सतिस विष्टले जानकारी दिए।
'झन्डै १० देखि १५ हजार सिरिन्जको अभाव भएको हो। केन्द्रमा कुराकानी गर्दा व्यवस्थापन गर्दैछौं भन्नुहुन्छ। सायद केन्द्रमै अभाव भएको होला,' उनले भने।
उनले सिरिन्जको अभावलाई मध्यनजर गर्दै सबै खोप केन्द्रहरूलाई दक्ष जनशक्ति राखेर सकेसम्म सिरिन्ज खेर जान नदिन भनिएको बताए।
हिजै मात्र सबै खोप केन्द्रहरूको निरीक्षण गरेको उल्लेख गर्दै उनले भने, 'खोप केन्द्रहरूलाई एउटा खोपका लागि एउटा सिरिन्ज वितरण गरिएको छ। त्यसैले सकेसम्म खेर जान नदिनुस् भनेर भनेका छौं।'
ललितपुरमा सरकारी अस्पतालसँगै आठ वटा निजी अस्पतालहरूलाई खोप केन्द्र तोकिएको छ। जसमा सर्वाङ्ग, स्टार, सुमेरू सिटी, अल्का, निदान, बिएण्डबी, मेडिसिटी र सुमेरू अस्पताल छन्। तर यी निजी अस्पतालहरूमा पनि सिरिन्जको अभाव भएको छ।
अल्का अस्पतालका सञ्चालक कुमार थापा झन्डै आधा मात्र सिरिन्ज उपलब्ध गराइएको बताउँछन्।
'एक हजार वटा खोप आयो भने ६ सय वटा मात्र सिरिन्ज आएको छ। माग गर्दा पनि सिरिन्ज नै छैन भन्नुहुन्छ।'
सरकारले सिरिन्ज उपलब्ध नगराउँदा अल्का अस्पतालले खोप लगाउन आउने व्यक्तिलाई नै सिरिन्ज किन्न लगाएर खोप लगाइदिएको छ।
थापाले भने, 'पुग्ने जतिलाई सरकारले दिएकै सिरिन्जबाट खोप लगाउने र नपुग्नेलाई किनाउने गरेका छौं।'
सबै खोप केन्द्रहरूमा माग भए अनुसार सिरिन्जको व्यवस्थापन गर्न नसक्दा धेरै मानिसहरू घण्टौ लाइन बस्दा पनि खोप लगाउन पाएका छैनन्।
सीमित खोप केन्द्रहरूमा मात्र सिरिन्जको माग पुर्याउन सक्दा ती केन्द्रहरूमा मानिसहरूको अत्यधिक भिड हुने गरेको छ। टेकु अस्पतालमा हिजो धेरै मानिसहरूले खोप लगाउन नपाएपछि झपड नै भएको थियो।
अस्पतालका प्रशासन प्रमुख नवराज गौतमले भने, 'धेरै जना अरू अस्पतालहरूमा लाइन बस्दा पनि नपाउनु भएपछि टेकु अस्पताल आउनुभयो। तर हामीकहाँ पनि थिएन। पछि त्यही कारणले झडपको स्थिति बन्न पुग्यो।'
सरकारले भोलिबाट सार्वजनिक स्थान वा सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेसँगै पछिल्लो एक सातायता खोप लगाउन जाने मानिसहरूको संख्या ह्वात्तै बढेको छ। तर यसरी सिरिन्जको व्यवस्थापन हुन नसक्दा मानिसहरूले सास्ती झेलिरहेका छन्।
झिसमिसेमै खोप केन्द्रहरूमा लाम लाग्न गएकाहरू घण्टौ लाइनमा बस्दा पनि खोप लगाउन पाएका छैनन्।
सरकारले सिरिन्जको व्यवस्थापन गर्न नसकेको यो पहिलोपटक होइन। गत पुस १२ गते पनि सिरिन्जको अभाव हुँदा १२ देखि १७ वर्षका बालबालिकाका लगाइने भनिएको खोप एक साता धकेलिएको थियो।