सरकारले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा व्यहोरेको क्षतिलाई मध्यनजर गर्दै देशभर ८ हजार क्षमताका होल्डिङ सेन्टर बनाउने भन्यो। तर अहिलेसम्म ती होल्डिङ सेन्टर तयार भएका छैनन्।
गत जेठमै सरकारले हरेक प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो। सेनाले बोलपत्र आह्वान गर्दा ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी २ अर्ब २० करोडमा हनुमान कन्स्ट्रकसनले ठेक्का पाएको थियो। तर पुस मसान्तभित्र निर्माण सम्पन्न हुनुपर्नेमा कुनै पनि ठाउँमा शतप्रतिशत काम सकिएको छैन।
नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले सेतोपाटीसँग भने, ‘हामीले ८ वटा होल्डिङ सेन्टर बनाउने ठाउँमा सात वटा ठाउँमा मात्र निर्माणाधीन छन्। रुपन्देहीको वेलहियामा जग्गा उपलब्ध नभएकाले निर्माण हुन सकेको छैन। बाँकी सात वटा सबैको भौतिक प्रगति ७५ प्रतिशतभन्दा माथि छ।’
अहिले झापाको काकँडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, कपिलवस्तुको कृष्णनगर, बाँकेको नेपालगन्ज, कैलालीको गौरीफन्टा र कञ्चरपुरको गड्डाचौकीमा होल्डिङ सेन्टर निर्माणाधीन छ।
सरकारले कुनै पनि बेला जोखिम आउनसक्ने कुरालाई ध्यानमा राख्दै बाहिरबाट आउने मानिसहरूलाई राख्ने गरि होल्डिङ सेन्टर बनाउने भनेको हो। अहिले ओमिक्रोन संक्रमण फैलिन सुरू गर्दा पनि होल्डिङ सेन्टर तयार भएका छैनन्। जसले गर्दा भारतबाट आउने मानिसहरूलाई होल्डिङ सेन्टरमा राख्न सकिएको छैन।
यसअघिका लहरहरूमा भारतबाट फर्किने नेपालीहरूबाट संक्रमण फैलिएपछि सरकारले भारतीय सीमा नाकानजिक होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो। समयमै निर्माण सम्पन्न नहुँदा अहिले भारतबाट फर्किने मानिसहरू सिधै आ-आफ्ना घर जाने गरेका छन्। जबकी ती मानिस संक्रमणको उच्च जोखिममा छन्।
पछिल्लो समय भारतमा दैनिक लाखौं संक्रमित भेटिन थालेपछि स्वदेश फर्किने नेपालीहरूको संख्या बढेको छ। त्यसरी फर्किनेमध्ये केहीलाई मात्र एन्टिजेन परीक्षण गरेर बाँकी सबैलाई सिधै घर पठाइँदै आइएको छ।
होल्डिङ सेन्टरको निर्माण सम्पन्न नभए पनि केही संख्यामा मानिसहरूलाई व्यवस्थापन गर्ने गरी अहिले पनि पूर्वाधार तयार भएको सैनिक प्रवक्ता पौडेल बताउँछन्।
‘अहिले पनि निश्चित संख्यामा केही मानिसहरूलाई व्यवस्थापन गर्न सकिने गरी पूर्वाधार तयार छ। झापा र मोरङको कुरा गर्दा तीन सय जनालाई व्यवस्थापन गर्न सकिन्छ। त्यस्तै कुनै ठाउँमा दुई सय, कुनैमा डेढ सय र कुनै ठाउँमा सय जना लाई व्यवस्थापन गर्ने गरी अहिले नै पूर्वाधार तयार भइसकेको छ,’ उनले भने।
हालसम्म कुनै पनि होल्डिङ सेन्टरमा भारतबाट आउनेहरूलाई राख्न सुरू गरिएको छ।
सैनिक प्रवक्ता पौडेलले समयमा बजेट निकासा नहुँदा निर्माण कार्यमा ढिलाइ भएको जनाए।
‘सुरूमा २९ करोड भन्दा बढी रकम खर्च हुन सकेन। त्यसपछि नयाँ निकासा आउन समय लाग्यो। पछि नयाँ निकासा पनि जम्मा ७० करोड आयो,’ पौडेलले भने, ‘अहिले थप एक अर्ब बढी बजेट माग गरेका छौं। स्वीकृत हुने प्रक्रियामा छ भन्ने जानकारी पाएका छौं।’
अहिले पनि होल्डिङ सेन्टर निर्माणको काम चलिरहे पनि कहिले सम्पन्न हुन्छ भन्नेमा अन्यौल छ।
प्रवक्ता पौडेल भन्छन्, ‘ठ्याक्कै भन्न सकिँदैन तर छिटो सक्ने लक्ष्य छ।’