सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर चोकदेखि कालुङचोक जोड्ने सडकको बीच भागको तल्लो छेउमा संग्रहालय छ। बाटैमा भएको प्रदेशस्तरीय संग्रहालयमा त्यति छिटो आँखा भने धेरैको लाग्दैन।
पछिल्लो समय युट्युबलगायतका अनलाइन माध्यम वा सामाजिक सञ्जालमा स्टोर गरिएका र प्रत्यक्ष प्रस्तुत गरिएका सामग्रीले प्रदर्शनीमा राखिएका हेर्नैपर्ने वस्तुहरू ओझेलमा पर्ने क्रम चलिरहेको छ। तिनैमध्येमा स्रग्रहालयका ग्यालरीहरूमा राखिएका वस्तुहरू पनि पर्दछन्।
सुर्खेतको कर्णाली प्रदेश स्रग्रहालयमा दुई वटा ग्यालरी छन्। यी ग्यालरीमा पृथ्वीनारायण शाहको पालामा प्रचलित ‘मुद्रा’देखि कर्णाली प्रदेशभित्रका ऐतिहासिक सभ्यताको पहिचान झल्काउने वस्तुहरू राखिएका छन्।
कर्णाली प्रदेश संग्रहालय मात्र ‘संग्रहालय’ मात्र नभई ‘अभिलेखालय’ पनि हो। जसमा कर्णाली प्रदेश सरकारले गरेको निर्णयहरुमध्ये महत्वपूर्ण निर्णयहरू अभिलेखीकरण गरी राख्ने योजना छ। अहिलेसम्म कुनै निर्णय राखिसकिएको भने छैन।
संग्रहित वस्तुको ग्यालरीका अलावा कर्णाली प्रदेश स्रग्रहालयमा पुस्तकालयमा पनि बनाइएको छ। जहाँ बसेर विभिन्न विधाका पुस्तकहरू पढ्न सकिन्छ।
कर्णाली प्रदेश स्रग्रहालय २०५७ साउन २ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। तत्कालीन समयमा मध्यपश्चिमाञ्चल क्षेत्रीय संग्रहालयका रूपमा स्थापना भएको थियो।
संघीयतापछि २०७५ असोज ५ गतेदेखि प्रदेश स्रग्रहालयका रूपमा रुपान्तरण गरिएको छ। अब यो स्रग्रहालय प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत आएको छ।
के हुन् हेर्न पाइने वस्तु?
प्रदेश संग्रहालयको पहिलो ग्यालरी बायाँतर्फ छ। जहाँ पृथ्वीनारायण शाहको पालामा चल्तीमा रहेको मुद्रादेखि परम्परागत लोकबाजाहरूसम्म हेर्न पाइन्छ।
काठको लहरू-गाडा, मगर संस्कृति, परम्परागत भेषभूषामा सजिएका राउटे तथा थारू डायरोमा, काँक्रेबिहार उत्खनन् गर्दा भेटिएका तामाका सिक्काहरू, कुम्हाल जातिको परम्परागत पेशा झल्किने वस्तुहरू यो ग्यालरीमा छन्।
महत्वपूर्ण गरगहना, परम्परागत भाँडावर्तन, महत्वपूर्ण परम्परागत हातहतियार, परम्परागत नापतौलका एकाइगत सामग्रीहरू, विभिन्न मूल्यक्रम तथा तिथिक्रमका मुद्रा, परम्परागत डुंगाहरू पनि यो ग्यालरीमा पुगेर हेर्न सकिन्छ।
दोस्रो ग्यालरी दायाँतर्फ छ। यो ग्यालरीमा विशेषगरी कर्णाली प्रदेशभित्रका संस्कृति झल्काउने वस्तुहरू राखिएको छ।
सुल्पा, मादल बनाउने सामग्रीहरू, काँक्रेबिहारबाट प्राप्त फलामका हुकहरू, कलात्मक प्रस्तर मूर्तिका अवशेषहरू, जुम्लाको कनकासुन्दरी मन्दिर तथा लामा गुफाबाट प्राप्त अभिलेखसहितको ‘चःचहरू’, लामा जातिका परम्परागत भेषभूषा, प्राचीन थाङ्का, जुम्लामा पाइएको काष्ठ मूर्तिहरू, प्रस्तर शिवलिङ्ग यो ग्यालरीमा हेर्न पाइन्छ।
यसका अलावा प्राचीन माटाका भाँडाका टुक्राहरू, तोरी पेल्ने काठको कोल, काठको मदुस, ढिकी, जाँतो, प्राचीन पानी घडी, माझी जातिसँग सम्बन्धित माछा मार्ने जाल, सुन चाल्न प्रयोग हुने काठका सामग्री पनि यो ग्यालरीमा हेर्न सकिन्छ।
यस्तै, पुस्तकालय माथिल्लो तलामा रहेको छ। पुस्तकालयलाई पूर्णता दिन भने केही समय लाग्ने प्रदेश स्रग्रहालय तथा अभिलेखालयका प्रमुख अर्जुनबहादुर शाहीले बताए। अहिले पुस्तकालयमा फर्निचर, कुर्ची तथा किताब व्यवस्थापनको कार्य भइरहेको छ।
‘अहिले पनि केही पुस्तकहरू त आएर पढ्न सकिन्छ, तर पूर्णता दिने कार्यमा हामी लागिरहेको छौं,’ उनले भने।
प्रमुख शाहीका अनुसार संग्रहालयको बाँकी जमिनमा पर्यटकको आकर्षणका लागि अरू संरचना बनाउने काम पनि भइरहेको छ।
संग्रहालयको आन्तरिक आम्दानी भने अत्यन्तै न्यून रहेको छ। यसको आम्दानी बढाउन प्रचारप्रसारसँगै प्रवेश शुल्कमा पनि हेरफेर गर्न कर्णाली प्रदेश सरकारसँग आग्रह गरिने उनले बताए।
‘अध्ययन-अनुसन्धानका लागि महत्वपूर्ण संग्रहालयको प्रवेश शुल्क नै धेरै न्यून छ, यसलाई थोरै भएपनि बढाउनुपर्छ। यसका लागि प्रदेश सरकारले केही निर्णय गर्ला,’ शाहीले भने।
संग्रहालयमा आउने मानिसको संख्या पनि न्यून छ। संग्रहालयका सूचना अधिकारी डबलप्रसाद शर्माका अनुसार कोभिड महामारीका कारण यो आर्थिक वर्षको असोजदेखि मात्र मानिसहरू संग्रहालयमा हेर्न आएका छन्।
असोजमा १४ जना विद्यार्थी १५१ जना सर्वसाधारण, कात्तिकमा विद्यार्थी २२ जना, सर्वसाधारण १४६ जना, मंसिरमा विद्यार्थी ३६५ जना र सर्वसाधारण ३९९ जना आएको उनले जानकारी दिए।
हाल कर्णाली प्रदेश संग्रहालय तथा अभिलेखालयमा प्रवेश गर्न विद्यार्थीलाई ५, सर्वसाधारणलाई १०, क्यामरा लिएर जान २०, सार्क राष्ट्रका नागरिकको लागि ५० र सार्कभन्दा बाहिरका नागरिकलाई १०० रुपैयाँ लाग्छ।
कोभिड सुरू हुनुअघिका वर्षमा भने संग्रहालयमा वार्षिक १० हजारसम्म मानिसले अवलोकन गरेको रेकर्ड पाइएको प्रमुख शाहीले बताए।