हुम्लाका चन्द्रबहादुर कामी र मुगुकी रमिला मल्ललाई अभिभावकको जिम्मा लगाईएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा दुवै पक्षलाई अभिभावकसहित राखेर सोधपुछ गरेपछि अभिभावकलाई जिम्मा लगाईएको हो।
चन्द्रबहादुरको घरमा बसिरहेकी रमिलालाई उनको गाउँका मानिस आएर लगेपछि चन्द्रबहादुर रहस्यमय तरिकारले सम्पर्कविहिन भएका थिए।
मंसिर २९ गतेदेखि सम्पर्कविहिन भएका उनी पुस ७ गते खार्पुनाथ गाउँपालिकामा पर्ने याङ्चु बजारमा भेटिएका थिए।
सोही दिन उनलाई जिल्ला प्रहरी कार्यालयमा लगेर सोधपुछ गरिएको थियो। प्रहरीसँग उनले आफू डरले भागेर जंगलतिर गएको बताएका थिए। पाँच दिनसम्म जंगलका गोठमा बसेको उनले प्रहरीसमक्ष बयान दिएका थिए।
उनी फेला परेपछि मुगुबाट रमिलालाई पनि ८ गते जिल्ला प्रहरी कार्यालय हुम्ला झिकाइएको थियो।
रमिला र चन्द्रबहादुरका अभिभावकलाई बोलाएर सोधपुछ गरिएको हुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए। ‘दुवै पक्षलाई राखेर छलफल भयो, उहाँहरु दुवै पक्षले कानुनी प्रक्रियामा नजाने भन्नुभयो,’ डिएसपी शर्माले भने, ‘विवाह गर्ने उमेर नपुगेका भएर दुवै जनालाई आ–आफ्नो अभिभावकको जिम्मा लगाएर पठाएका छौं।’
दुवै पक्षलाई सँगै राखेर सोधपुछ गर्दा प्रचारप्रसार भएजस्तो कुनै विषय नभेटिएको उनले बताए।
चन्द्रबहादुर सम्पर्कविहिन हुँदा उनको परिवारले रमिलालाई लिन आएका मानिसले सँगै अपहरण गरी लगेको आरोप लगाएका थिए। पछि चन्द्रबहादुरले भने प्रहरीसँग आफू स्वयम् डरले भागेर जंगलतिर गएको बताएका थिए।
मंसिर ५ गते १८ वर्षीया रमिलालाई १९ वर्षीय चन्द्रबहादुरले आफ्नो घरमा ल्याएका थिए। त्यसपछि मंसिर २९ गते रमिलाको गाउँका मानिसले उनलाई चन्द्रबहादुरको घरबाट खोसेर लगेका थिए।
रमिला मुगुको सोरू गाउँपालिका-४ की हुन् भने चन्द्रबहादुर हुम्लाको सर्केगाड गाउँपालिका-१ का हुन्। यी दुई गाउँपालिका सिमाना जोडिएका दुई जिल्लाका स्थानीय तह हुन्।
त्यसै दिनदेखि सम्पर्कविहिन भएका चन्द्रबहादुरलाई खोज्न डिएसपीको नेतृत्वमा ३५ जना प्रहरी परिचालित थिए।