मंसिर २९ देखि सम्पर्कविहीन भएका हुम्लाका चन्द्रबहादुर कामी बुधबार खार्पुनाथ गाउँपालिकामा भेटिए। उनले प्रहरीसँगको बयानमा आफू पाँच दिन जंगलका गोठहरूमा लुकेर बसेका बताएका छन्।
मल्ल थरकी युवती भगाएका चन्द्रबहादुर माइती पक्षले युवती फिर्ता लगेदेखि सम्पर्कविहीन थिए। उनीहरूले चन्द्रबहादुरलाई पनि अपहरण गरेर लगेको आरोप उनको परिवारले लगाएको थियो। प्रहरीको सोधपुछमा भने उनले आफूलाई अपहरण नगरिएको तर डरले जंगलको गोठमा लुकेर बसेको बताए।
हाल जिल्ला प्रहरी कार्यालय हुम्लामा रहेका उनले प्रहरीलाई दिएको बयानअनुसार केटी पक्षले उनलाई घरबाट सय मिटरजति पर लगेर छाडेको थियो।
‘उनीहरूको उद्देश्य केटीलाई मात्र लैजाने रहेछ, सँगै बसेको भएर चन्द्रबहादुरलाई पनि केही परसम्म लगेछन्,’ प्रहरी निरीक्षक दानसिंह भण्डारीले भने, ‘त्यसपछि उनी केटी पक्षका मानिस फर्केर आउँछन् कि भनेर जंगलतिर गएका रहेछन्।’
चन्द्रबहादुर सामान्य अवस्थामा भेटिएको र अहिले पनि उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भण्डारीले बताए।
उनका अनुसार चन्द्रबहादुरको शरीरमा चोटपटक देखिएको छैन। चन्द्रबहादुरले पनि आफूलाई कुटपिट नगरिएको बयान दिएका छन्।
राति जंगल छिरेका चन्द्रबहादुरले आफू हुम्लाको सर्केगाडमै पर्ने ठान्ना र गुसा भन्ने लेकमा बसेको बताएका छन्। ठान्ना र गुसा भन्ने ठाउँमा गोठहरू प्रशस्तै छन्।
‘तीन दिन जंगलमा भोकै बसेँ, गोठमा आगो तापेर बसेँ भनेका छन्,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘तर शारीरिक अवस्था हेर्दा त्यस्तो देखिँदैन।’
चन्द्रबहादुरले पुस ६ गते गुसाबाट खार्पुनाथ गाउँपालिकामा पर्ने सुनखाडा भन्ने बजार आएर त्यहाँको होटलमा बसेको प्रहरीलाई बताएका छन्। उनी सुनखाडाबाट हिँडेर आउँदै गरेका बेला प्रहरी टोलीले खार्पुनाथ गाउँपालिका–५ मा पर्ने याङ्चु बजारमा भेटेको थियो।
भण्डारीका अनुसार चन्द्रबहादुरसँग अहिले मोबाइल फोन छैन। आफूसँग भएको मोबाइल केटी पक्षका मानिसले मंसिर २९ गते नै खोसेर लगेको उनले प्रहरीलाई बताएका छन्।
हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरका चन्द्रबहादुरले मंसिर ५ गते मुगुको सोरू गाउँपालिका–४ की युवती भगाएर लगेका थिए। त्यसको २४ दिनपछि एक समूह आएर युवतीलाई फिर्ता लगेको थियो। त्यसै दिनदेखि चन्द्रबहादुर पनि सम्पर्कविहीन भएका थिए। उनलाई खोज्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो।
मुगुको सोरू गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिका सीमा जोडिएका दुई जिल्लाका स्थानीय तह हुन्। एउटा गाउँपालिकाको केन्द्रबाट अर्को गाउँपालिकाको केन्द्र पुग्न चार घन्टाको बाटो रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोसी धामीले बताए।
चन्द्रबहादुर बुधबार फेला परेसँगै डिएसपी शर्मासहितको प्रहरी टोली लिन गएको छ।
बिहीबारसम्म उनीहरू हुम्ला आइपुग्ने प्रहरी निरीक्षक भण्डारीले बताए। ‘आज बीच बाटोमा पुग्नुभएको छ, भोलि यहाँ पुग्नुहुन्छ,’ भण्डारीले भने, ‘यहाँ आइसकेपछि दुवै पक्षलाई राखेर सोधपुछ हुन्छ, त्यसबाट निस्किएको निष्कर्षअनुसार अरू प्रक्रिया अगाडि बढ्छ।’