गएको मंसिर ५ गते हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रे कामीले मुगुकी रमिला मल्ललाई भगाएर घरमा ल्याए। रमिला र चन्द्रे मंसिर २९ गतेसम्म घरमा बसे। मंसिर २९ गते राति भने रमिलालाई उनका गाउँका मानिस आएर खोसेर लगे।
माइती गाउँका मानिसले खोसेर लगेकी गैरदलित समुदायकी युवती रमिला अहिले प्रहरी नियन्त्रणमा छिन्। उनलाई भगाएका दलित समुदायका चन्द्रे भने सम्पर्कविहीन छन्। मंसिर २९ गतेदेखि नै उनी कसैको सम्पर्कमा आएका छैनन्।
दलित समुदायको युवासँग विवाह गर्न लागेको थाहा पाएपछि परिवारले रमिलालाई फिर्ता लिएका हुन्। त्यसै बेलादेखि चन्द्रे कामी सम्पर्कविहीन भएपछि घटना 'रहस्यमय' बनेको छ।
चन्द्रेको परिवारले युवतीका आफन्तले युवतीसँगै उनलाई लिएर गएको दाबी गर्दै आएका छन्। उनले भगाएकी रमिलाका माइती पक्षले भने चन्द्रेलाई घरमै छोडेर युवतीलाई मात्र लिएर गएको बताउने गरेका छन्।
रमिला स्वयंले पनि माइती गाउँबाट आएका मानिसले आफूलाई मात्र लिएर गएको प्रहरीसँग बताएकी छन्।
रमिला मुगुको सोरु गाउँपालिका–४ की हुन्। २९ गते मध्यरातमा मुगुबाट १२ जनाको समूह आएर घरबाट १८ वर्षीया रमिला र १९ वर्षीय चन्द्रेलाई लिएको युवकको परिवारले बताएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले सेतोपाटीलाई बताए।
मुगुको सोरु गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिका सीमाना जोडिएको दुई जिल्लाका स्थानीय तह हुन्। एउटा गाउँपालिकाको स्थानीय तहको केन्द्रबाट अर्को गाउँपालिकाको केन्द्र पुग्न चार घण्टा लाग्छ।
‘घटना अन्तरजातीय विवाहको विषयमा भएकोजस्तो छ, गाउँबाट युवती पक्षका मानिस आएर युवालाई समेत लिएर गएको पीडित पक्षले बताउने गरेका छन्,’ भण्डारीले भने, ‘पीडक भनिएको पक्षले भने युवकलाई लिएको होइन भनेर भन्दै आएका छन्।’
रमिला र उनका बुवा प्रहरीको नियन्त्रणमा रहेको उनले बताए।
उनका अनुसार युवतीलाई खोस्न गएका भनिएका मानिसहरू पनि सम्पर्कमा छैनन्।
सर्केगाड गाउँपालिका–१ का स्थानीय कृष्ण बमका अनुसार युवकको फोनसमेत अफ छ।
‘मेरो गाउँबाट युवकको गाउँ १ घण्टा जतिको दूरीमा पर्छ, गाउँका मान्छेसँग मेरो कुरा भने भएको थियो,’ उनले भने, ‘चन्द्रेसँग भएको फोन पनि अफ छ भनेर उहाँहरूले कुरा गर्नुभएको थियो।’
रीप भन्ने ठाउँमा चन्द्रेकी दिदीबहिनीको घर भएकाले प्रहरी खोजी गर्न त्यतै गएको बमले बताए। रीप गाउँ सर्केगाड गाउँपालिकाकै वडा नम्बर २ मा पर्छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक भण्डारीका अनुसार ३५ जनाको प्रहरी टोली चन्द्रेको खोजी गर्न परिचालन गरिएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षकसहित जिल्लाका विभिन्न प्रहरी चौकीबाट प्रहरी खोजी कार्यमा लागेको उनले बताए।
युवक लामो समयसम्म सम्पर्कविहीन भएपछि शनिबारदेखि जिल्ला प्रहरी प्रमुख नै खोजी गर्ने टोलीमा गएका हुन्।
‘जो केटीलाई खोस्न आएका हुन्, तिनीहरू सम्पर्कमा छैनन्। युवती र उनका बुवा भने प्रहरीको नियन्त्रणमा रहेछन्,’ सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले भने, ‘हिजो त उनी गाउँमै छन् भन्ने हल्ला चलेको थियो, तर सम्पर्कमा आएनन्। हामी जनप्रतिनिधि समेत यो केसमा लागेका छौं।’
जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले माइती पक्षबाट युवतीलाई लिन गएका मानिसहरू खोज्ने कार्य भइरहेको बताए।
‘हुम्ला प्रहरीले पनि आफ्नो तर्फबाट अनुसन्धान गर्दैछ, यो घटना यतातिर पनि जोडिएकाले हामीले पनि आफ्नो तर्फबाट काम गरिरहेका छौं,’ डिएसपी हमालले भने।
युवतीलाई ललाइफकाई, जबर्जस्ती वा प्रेम सम्बन्ध भएर युवकले भगाएर लिएका हुन् भन्ने विषय पनि खुल्न बाँकी रहेको गाउँपालिकाका उपाध्यक्ष धामीले बताए।
सरोकारवाला समूहहरूले यो घटनाको विषयमा ध्यानाकर्षण भएको जनाएका छन्।
चे फोर्स नेपालको कर्णाली प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै युवकको अवस्थाबारे यथाशिघ्र जानकारी गराउन ध्यानाकर्षण गराएको छ।
उसले निकालेको विज्ञप्तिमा मल्ल थरकी ती युवती र कामी थरका युवकबीच चार वर्षदेखि प्रेम सम्बन्ध रहेको उल्लेख गरिएको छ। रमिला आफ्नो इच्छा अनुसार नै युवकको घरमा आएर बसेको विज्ञप्तिमा उल्लेख गरिएको छ।