साक्षीले देखेको अनुहारलाई उनी कापीमा कोर्छन्, अचेल त ट्याबमै पनि।
प्रश्न सोध्दा दिइने उत्तर अनुसार उनी आफ्नो हात घुमाउँछन्। पटकपटक, 'यस्तो हो?' भनेर पनि सोध्छन्।
कतिले अँ हो-हो भन्दै जान्छन्। कतिले त सच्याउँछन् पनि। त्यसरी नै उनी स्केच बनाउँछन्।
दुबै तरिकाले स्केच त तयार हुन्छ। तर सच्याउँदै बनाएको स्केच अझ निखारिने रहेछ।
यदि कोही भागेका अपराधीको स्केच बनाउनु परे, सुरूमै महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) योगेश महर्जनलाई फोन आउँछ। महर्जन साढे तीन वर्षअघि असईबाट सईमा बढुवा भएका थिए।
नेपाल प्रहरीमा अपराधीको स्केच बनाउने उनी मात्रै रहेछन्। उनी फोरेन्सिक आर्टिस्ट हुन्। उनले यस्तो एउटा स्केच ३० देखि ४५ मिनेटभित्र तयार पार्छन्। कसैलाई अगाडि राखेर बनाउनु परे भने अझै समय लगाउँछन्। त्यसरी कोर्दा उनी अनुहारमा देखिने हरेक कुरालाई चित्रमा उतार्ने प्रयास गर्छन्।
‘हेरेर बनाउँदा अनुहारमा धेरै विवरण देखिन्छ त्यसैले धेरै समय लाग्छ। सोधेर बनाउने हो भने चाहिँ हेरेर बनाएको जस्तो हुँदैन किनकी मानिसको दिमागमा अनुहारका धेरै विवरण बस्दैन,’ उनले भने, ‘त्यो व्यक्तिले मलाई कत्तिको बुझाउन सक्छ वा मैले कति कुरा बुझें र मैले कति उतार्न सकें स्केच कस्तो बन्यो भन्ने त्यसमा भर पर्छ।’
उनले कोरेका चित्रकै कारण थुप्रै अपराधी पक्राउ परिसकेका छन्। प्रहरीका लागि मात्र उनले चार सय बढीको स्केच बनाइसकेका छन्।
हालसालै पनि उनले एउटा स्केच बनाए। महर्जनको स्केचले प्रहरी अनुसन्धानमा धेरै सघायो।
काठमाडौंको कालिमाटीस्थित गाईबाच्छापाटीको एक घरमा मंसिर ७ गते एक पुरुषको शव फेला पर्यो।
शव भेटिएको खबर पाएपछि महाशाखाको सोको (सिन अफ क्राइम अफिसर) शाखाको टोली घटनास्थल पुग्यो। काठमाडौं उपत्यकामा हुने हत्यासम्बन्धी घटनामा यही टोली पुग्छ। प्रमाण संकलन गर्नेदेखि तस्बिर यही टोलीले खिच्छ।
गाईबाच्छापाटी घटनामा फेला परेको शव जलिसकेको थियो। अनुहार चिन्न सकिने अवस्था थिएन, सनाखत हुने केही कागजात पनि थिएन। निकै विभत्स देखिन्थ्यो।
झट्ट हेर्दा मरेका व्यक्ति युवाजस्ता थिए। सानो शरिर, सानो टाउको र खैरो कपाल। सुरूमा प्रहरीले उनी भर्खरका केटा हुन् कि भन्ने आशंका गर्यो।
शवको तस्बिर महर्जनले हेरे। त्यो देख्नेबित्तिकै उनलाई लाग्यो, ‘यसमा पक्कै मेरो काम पर्छ।’
उनी त्यसअनुसार तयार नै बसिरहेका थिए। नभन्दै दुई दिनपछि उनलाई अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण चन्दले महाराजगन्जको टिचिङ अस्पतालमा लगे।
महर्जन आफैं पनि घटनास्थलको तस्बिर खिच्छन्। अस्पतालमा गएर बडी ब्यागबाट निकालेदेखि उनले नै तस्बिर खिच्न सुरू गरे।
आफूलाई स्केच बनाउन सहयोग पुर्याउने हिसाबले तस्बिर खिचे। शवको तस्बिर देखाउँदै उनले भने, 'बडी ब्यागबाट शव निकाल्दा त भर्खरैको केटाको जस्तो देखिएको थियो।'
उनलाई शव १६-१७ वर्षका युवाको जस्तै लागेको रहेछ। तस्बिर खिचेर सकेपछि कार्यालयमा आएर महर्जनले स्केच बनाए।
सुरूमा त भर्खरको केटा जस्तै खैरो रंगको हुनेगरी स्केच बन्यो। पोष्टमार्टम गरेका डाक्टरले शव केटाको नभई अलि बुढो मान्छेको भएको बताए। उनको कपाल बाहिरी भागमा खैरो भए पनि भित्रभित्र सेतो थियो।
त्यसैलाई आधार मानेर उनले अर्को चित्र बनाए। जसले अनुसन्धानमा सघाएको थियो।
अनुसन्धानमा खटिएका अरू प्रहरीलाई पनि सुरूमा त शव वस्यक पुरुषकै हुनुपर्ने अनुमान थियो।
किनकी सबैभन्दा पहिला साथीलाई खोज्दै गएका धादिङका मानव अधिकारीले शव देखेका थिए। उनी आफ्ना साथी काठमाडौं महानगर-१३ ताहाचल बस्ने ३३ वर्षीय सुशील शर्मालाई खोज्दै हिँडेका थिए। मानवले शव देखेपछि आफ्नै साथी हो भन्ने ठानेका थिए।
प्रहरीले पनि उनी नै पो हुन् कि भनेर अनुसन्धान गर्दै गयो। तर पछि सुशील जिवित नै भेटिए।
त्यसपछि अनुसन्धान पूर्ण रूपमा शवको सनाखत गराउनेतर्फ मोडियो। यता महर्जनले कपाल सेतो बनाएर स्केच तयार पारिइसकेका थिए। जुन बुढो व्यक्तिको शव जस्तै बन्यो।
स्केच बनिसके पनि शव सनाखत हुन सकेन। अनुसन्धान गर्दै जाँदा कालीमाटी क्षेत्रमा मागेर हिँड्ने एक वृद्ध हराइरहेको भन्ने सूचना प्रहरीले पायो। अनुसन्धान गर्दा मागेर हिँड्ने व्यक्ति काभ्रे तिमाल गाउँपालिका वडा नम्बर ८ का ७६ वर्षीय हर्कबहादुर बानियाँ भएको खुल्यो। अझै पनि ७ गते भेटिएको शव उनकै हो भन्ने यकिन भएको थिएन।
त्यसैबीच बानियाँ भतिज प्रहरीको सम्पर्कमा आए। उनलाई प्रहरीले स्केच देखायो। जसलाई उनले हेर्नेबित्तिकै आफ्ना काका हुन् भनेर चिने।
त्यसलाई थप पुष्टि गर्न उनले केही दिन अघिमात्रै एउटा भिडिओ पनि खिचेका रहेछन्। त्यसैको आधारमा उनी बानियाँ नै थिए भन्ने पुष्टि भयो। त्यो भिडिओमा सुशील पनि देखिएका थिए। उनी नै आरोपित हत्यारा निस्किएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
यसरी स्केच बनाउँदा अरू व्यक्तिसँग मिल्न जाने सम्भावना पनि हुने महर्जन बताउँछन्।
‘अर्कै व्यक्तिसँग स्केच मिल्न जाने सम्भावना धेरै हुन्छ। त्यसकारण यो औंठाछापजस्तो हुँदैन। एउटा कुरा भनिन्छ नि, अनुसन्धान मेसिनले गर्ने चिज होइन, विवेकले गर्ने कुरा हो। स्केचमा त्यही कुरा लागू हुन्छ,’ उनले भने।
कीर्तिपुरमा हुर्किएका योगेश सानैदेखि चित्र त कोर्थे। तर प्रहरी संगठनमा लागेर फोरेन्सिक आर्टिस्ट बन्छु भन्ने उनले सोचेका थिएनन्। टिभीमा आउने सिरियलहरूमा फोरेन्सिक आर्टिस्टलाई देख्दा आफू पनि त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने रहर उनको मनमा पलाउँथ्यो।
चित्रकलाप्रतिको रूचीले गर्दा एसएलसी पास भएपछि उनले ललितकला क्याम्पसमा चित्रकला पढेका थिए।
महर्जनलाई प्रहरीमा भर्ना हुन दाइले भनेका हुन्। उनका दाइ सशस्त्र प्रहरीमा निरीक्षक छन्।
स्नातक सकेर बसिरहेका बेला नेपाल प्रहरीमा भर्ना खुलेपछि महर्जनले पनि आवेदन दिए। त्यत्तिबेला उनी मिदास भन्ने संस्थाका लागि काम गर्दै थिए। मिदासमा पनि उनको काम मानिसहरूको चित्र कोर्नु नै थियो।
असईमा उनको नाम निस्कियो। जागिर र चित्र कोर्ने कलम छाडेर उनी २०६७ वैशाखमा तालिम लिन महाराजगन्जस्थित पुलिस एकेडेमी छिरे।
त्यहाँ गएपछि त स्केच कोर्ने काम चटक्कै छुट्यो। तालिममा हुँदा राति १० बजेपछि अनिवार्य सुत्नै पर्थ्यो।
निन्द्रा नलागेपछि भने उनी कल्पना गरेर चित्र कोर्थे।
'त्यहाँ छिरेपछि कलम चटक्कै छुट्यो। त्यसपछि धेरै नै गाह्रो भयो। तैपनि राति-राति सुत्न अगाडि चित्र कोर्थें,' महर्जनले भने, 'त्यत्तिबेला पिटी खेलेको र उडुसले खाएको जस्तो कार्टुनी शैलीको चित्र बनाएर बस्थें।'
उनी आफूले कोरेका चित्र सूचनापाटीमा टाँस्थे। तीमध्ये एक ठूलो उडुसले स्ट्र राखेर तालिमेलाई उल्टो पारी रगत चुसिरहेको रोचक र व्यंग्यात्मक चित्र टाँसेका थिए।
त्यो चित्र प्रहरी नायब उपरीक्षक हृदय थापाको नजरमा पर्यो।
महर्जनका अनुसार त्यतिबेला एकेडेमीमा खुबै उडुस आउँथ्यो। उडुसले राति सुत्ने बेलामा टोकेर हैरान पार्थ्यो। त्यही कुरालाई उनले कार्टुनी शैलीमा चित्र कोरेका थिए।
'उडुसले स्ट्र राखेर मानिसको रगत खाइरहेको चित्र कोरेको थिएँ। डाबरै-डाबर आउने गरी रगत खान्थ्यो। त्यो पीडालाई हामीलाई उडुसले खाइरहेको चित्र बनाएँ,' उनले भने, 'त्यो चित्र मैले सूचनापाटीमा लगेर टासेको थिएँ। हृदयसाबले देखेपछि रानीबारी हत्याकाण्डको एउटा स्केच देखाएर सोध्नुभयो यस्तो चित्र कोर्छौ?'
उनले जवाफ फर्काए, 'मैले चित्र कोर्ने नै यस्तै हो सर।'
त्यो प्रश्न सोधेपछि केही काम नदिई थापा गए। केही महिनापछि केन्द्रीय कारागारमा रहेका युनुस अन्सारीलाई गोली हानियो। २०६७ साल फागुनमा कारागारभित्रै अन्सारीलाई गोली हानिएको थियो। गोली कुममा लागेकोले उनी बचेका थिए।
गोली हानेको आरोपमा प्रहरीले मञ्जित सिंहलाई नियन्त्रणमा लिइएको थियो। गोली हान्न निर्देशन दिने व्यक्ति को थिए त भन्ने पाटोबाट पनि अनुसन्धान भइरहेको थियो।
महर्जनको तालिम पनि सकिइसकेको थिएन।
'अर्को व्यक्तिले आफूलाई लिड गरेको भनेपछि मलाई बोलाइएको थियो। म तालिममै थिएँ,' उनले भने।
त्यही घटनामा उनलाई पहिलो पटक स्केच बनाउन बोलाइएको थियो। त्यसरी बोलाएपछि डरसँगै उनको मनमा अनेक कुराहरू खेले,‘कस्तो हुने हो। काम गरेको जस पाइन्छ कि पाइन्न। मैले बनाउन सक्छु वा सक्दिनँ भन्ने खालका कुराहरू मनमा खेल्न थालेका थिए।’
डरका बाबजुद पनि उनले गएर मञ्जित सिंहको भनाइअनुसार नै चित्र कोरेका थिए। चित्र बनाएपछि सिंहले पनि यही हो भनेर स्वीकार गरे। उनले त्यत्तिबेला राम सिंहको स्केच बनाएका थिए।
'चित्र बनाएर सकेपछि हो उसले यस्तै हो भन्यो। त्यसपछि म यो काम गर्न सक्ने भएँ। मलाई यस्तो काम गर्ने मान्छे भनेर सर्टिफाईचाहिँ एउटा अपराधीले गर्यो,' उनले भने।
तालिम सकेर प्रहरीमातहत कार्यालयले आफूलाई चाहिने जनस्रोतअनुसार प्रहरी छानेर लैजाने गर्छ। त्यसको छनोट प्रहरीको उचाइ, अंक, लाइसेन्सलगायत विभिन्न आधार मानेर आफूलाई चाहिने जनशक्ति छानेर लगिन्थ्यो।
त्यसैक्रममा महर्जनलाई भने स्कर्टिङ गर्ने कामको लागि छानिएको थियो। तर उनलाई आफू त्यसमा छानिएको कुरा थाहा थिएन। उनको पदस्थापन महानगरीय अपराध महाशाखाको हनुमानढोकामा भएको थियो।
उनको त्यहाँ पदस्थापन हुँदा धेरै हत्याका घटनाहरू पनि भएका थिए। जसमा उनको काम पनि धेरै नै भयो। हप्ताकै तीन-चार वटा स्केच बनाउनु परेको उनले बताए।
'०७८ सालमा त धेरै नै स्केच बनाउनुपर्यो। चोरीदेखि हत्या सम्मको स्केच हप्ताकै तीन-चार वटा बनाएँ,' महर्जनले भने।
सुरूमा त उनलाई आइटी शाखामा राखिएको थियो। पछि उनलाई सोको शाखामा राखिएको हो।
कामकै दौरान उनले फोटोग्राफीको पनि तालिम लिएका छन्। अहिले स्केच बनाएसँगै फोटो खिच्ने पनि काम गर्छन्।
'नेपाल प्रहरीमा यसरी फोरेन्सिक आर्ट गर्ने व्यक्ति ममात्रै हो। जहाँ काम आउँछ म त्यही जाने गर्छु,' उनले भने।
महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुँवेर खापुङका अनुसार प्रहरीमा फोरेन्सिक आर्टिस्टकै लागि भनेर दरबन्दी छैन।
‘नेपाल प्रहरीमा फोरेन्सिक आर्टिस्ट भनेर उहाँमात्रै हो। नेपाल प्रहरीमा छुट्टै दरबन्दी पनि छैन,’ उनले भने, ‘उहाँ पनि सोको शाखामा बस्नुहुन्छ। अरू छैनन्।’
महर्जन आफ्नो सीपलाई अझ त निखार्न चाहान्छन्। त्यसको लागि विभिन्न कोर्सहरू गर्न पनि पाइन्छ तर विभिन्न परिस्थितिका कारण भने गर्न पाएका छैनन्।
उनका अनुसार अहिलेको समयमा स्केच बनाउने काम कमै आउने गर्छ। मोबाइल फोन, सिसिटिभी, तथा अरू विभिन्न प्रविधिका कारण उनको काम घटेको उनी बताउँछन्।