पेड्रो नाम ग्रिकबाट आएको ल्याटिन शब्द 'पेट्रा' बाट बनेको हो। यसको अर्थ हुन्छ 'चट्टान'।
पोचुर्गलका ४३ वर्षीय पेड्रो बेन्टोको कथा पढिसकेपछि तपाईंलाई पनि लाग्न सक्छ, 'यो मान्छे नामजस्तै छ– बलियो र साहसी।'
सन् २०१६ मा पेड्रो पहिलोपटक नेपाल आएका थिए, 'याक अट्याक' नामक माउन्टेन बाइक रेसका लागि।
त्यो दौडमा उनले समुद्र सतहबाट ५४१६ मिटर माथिसम्म यात्रा त गरे नै, सन् २०१५ मा नेपालमा गएको भूकम्पमा पीडित भएकालाई सहयोग पनि गरे।
यहाँ आउनुभन्दा अगाडि नै उनले सहयोगका लागि पैसा उठाएका थिए। भूकम्प पीडितहरूको शिविर 'क्याम्प होप' मा उनले त्यो पैसा बुझाए। केही समय शिविरमै बिताएका उनले त्यस क्रममा नेपाल र यहाँका मान्छेसँग निकट सम्बन्ध विस्तार गरे। यहाँका मान्छेले विदेशीलाई आफ्नैसरह व्यवहार गर्दा उनी प्रभावित भएका थिए।
त्यो माया र सम्मान बोकेर पोचुर्गल फर्किएको अर्को वर्ष नै पेड्रोको ठूलो दुर्घटना भयो। त्यस समय उनी पोर्चुगलमै माउन्टेन बाइक र मोटरसाइकलका रेसहरू गर्थे, गराउँथे। उनी आफैं एक मोटरबाइक रेसमा सहभागी हुन अभ्यास गरिरहेका थिए। तर उनको बाइकको गति बिग्रियो, नराम्ररी लडे। मेरुदण्डका नौ वटा करङ र हात भाँच्चिए।
डाक्टरले उनलाई भनेका थिए, 'अब तिमी जिन्दगीभर कुनै पनि खेलकुद गतिविधिमा सहभागी हुन सक्दैनौ। अब फेरि हिँड्न पनि सक्दैनौ।'
यो खबरले पेड्रो डराएका थिए, तर आत्तिएका थिएनन्। किनभने उनले जीवनको शब्दकोषबाट 'हार मान्नु' भन्ने शब्दलाई टाढै राखेका थिए।
सधैं गतिवान पेड्रोलाई त्यस दुर्घटनाले ह्विलचेयरमा थन्क्यायो। त्यस समयमा उनको दिमागमा धेरै कुरा खेल्न थाले। उनले महसुस गरे, 'समस्याका अगाडि हामी कोही होइन रहेछौं। त्यस्तो अवस्थामा हामीलाई कसैको सहयोग चाहिन्छ।'
अनि उनले अठोट पनि गरे, 'यदि म निको भएँ भने म खाँचो परेका धेरैभन्दा धेरै मानिसलाई सहयोग गर्छु।'
त्यही अठोटले ऐठन पार्न थालेपछि उनले दुई साताको ह्विलचेयर बसाइलाई विश्राम दिने निर्णय गरे। तर डाक्टरहरूले उनलाई भनिरहे, 'तिमी निको हुन सक्दैनौ।'
पेड्रोसँग विद्युतीय खाट थियो जसको सहारामा उनी उठ्ने–बस्ने आफैं गर्न सक्थे। डाक्टरहरूको चेतावनीका बाबजुद उनी राती सबै निदाएपछि खाटबाट उठ्ने प्रयास गर्थे। उठ्ने मात्र होइन, व्यायाम पनि गर्थे सकिनसकी भए पनि साइकल चलाउन खोज्थे। लड्थे, फेरि उठ्थे।
लगातारको अभ्यासपछि उनी तीन महिनामा फेरि साइकल चलाउन सक्ने भए। डाक्टरहरू चित खाए।
उनको ढाडमा दुइटा स्टिलका 'रड' र टाँकाहरू थिए। निको भएको ७–८ महिनापछि उनलाई त्यो त्यहाँबाट निकाल्नुपर्छ भन्ने सोच आयो। डाक्टरहरूले फेरि भने, 'त्यो निकाल्यो भने तिमीलाई नराम्रो हुन्छ।'
यसपालि फेरि पेड्रो जिद्दी भए। दुर्घटनाको नौ महिनामा उनले त्यसलाई निकालेरै छाडे। उक्त शल्यक्रियापछि उनको घाउ र हाड निको हुन छ महिना लाग्यो।
निको हुन पाएको छैन, उनी माउन्टेन बाइक रेसमा निस्किए।
डाक्टरहरू उनलाई देखेर फेरि चित खाए।
'मेरो सन्दर्भमा अहिलेसम्म त डाक्टरहरू गलत भएका छन्,' काठमाडौं गेस्ट हाउसमा अघिल्लो साता भेटिएका उनले भने, 'म यति छिटो निको हुनुको कारण अस्पतालमा मैले लिएको अठोट हुनुपर्छ। त्यो अठोटलाई मैले सन् २०१९ मा पूरा पनि गरेँ।'
सन् २०१९ मा ७२ दिन लगाएर पेड्रो माउन्टेन बाइकमा पोर्चुगलदेखि नेपालसम्म आएका थिए। अप्रिल १, २०१९ मा उनले पोर्चुगलबाट साइकल चलाउन थाले। त्यहाँबाट स्पेन, फ्रान्स, इट्ली, स्लोभेनिया, क्रोएसिया, बोजनिया, मोन्टिनेग्रो, मोन्टेकार्लो, अलबानिया, टर्की, इरान लगायत १५ देश छिचोल्दै उनी नेपाल आइपुगेका थिए। सुरक्षाका कारण आफूलाई पाकिस्तान र अफगानिस्तान जान भने डर लागेकाले सिधै तेहरानबाट उनले भारतको जहाज पक्डिए।
यात्राभरमा उनले आराम लिएको पनि त्यही तेहरानमा थियो, जम्मा एक दिन।
'एकदम हतारको तालिका थियो मेरो,' उनले भने, 'पोर्चुगलमा म शारीरिक शिक्षा शिक्षकका रूपमा काम गर्थेँ। आफू बिरामी हुँदा पनि काम गरेर मैले यो यात्राका लागि छुट्टी जोगाएको थिएँ। त्यहाँका हाकिमले मलाई ८१ दिन बिदा दिएका थिए। त्यही भएर समयमै यात्रा सक्न हतारिएको थिएँ। तर मैले समयावधि अगाडि नै यात्रा पूरा गर्न सकेँ।'
पोर्चुगलदेखि नेपालसम्मको दस हजार किलोमिटर यात्रामा उनको साइकलसँगै आवश्यक सामग्री पनि बोकेका थिए। कहिले ६० किलोमिटर त कहिले दुई सय ५५ किलोमिटरसम्म साइकल कुदाए। कहिले साइकल बोक्नुपर्थ्यो, कहिले गुडाउनु, कहिले बनाउनु त कहिले आफूसँगै प्लेनमा उडानुपर्थ्यो।
उक्त चुनौतीपूर्ण एवं रोचक यात्रामार्फत उनले १२ हजार युरो संकलन गर्ने अठोट राखेका थिए। जुन उनी नेपालका केटाकेटी र समस्यामा परेका मान्छेलाई सहयोग गर्न चाहन्थे।
'ड्रिम्स अफ प्रोजेक्ट' मार्फत उनले क्याम्प होपमा चिनेका दुई केटाकेटी, मिङ्मार शेर्पा र तेन्जिङ शेर्पालाई पढाउन सहयोग गरे। हाल उनीहरू माउन्ट कैलाश स्कुलमा पढिरहेका छन्। रेन्बो भोलेन्टियर क्लबमा पनि उनी उठाएको रकममार्फत सहयोग पुर्याउँछन्।
पोर्चुगलदेखि नेपालको यात्रापछि धेरैले पेड्रोलाई उक्त यात्राबारे सुनाउन आग्रह गर्थे। सुनाउनु पनि कति जनालाई? के मात्र? त्यसैले उनले किताबै लेखे, 'टेन थाउजेन्ड किलोमिटर्स– सेभेन्टी टु डेज अन बाइक'।
'किताबको नाम खासै गतिलो त होइन तर मान्छेहरूले मन पराइदिनुभयो,' उनले हाँस्दै भने, 'किताबबाट आम्दानी भएको केही प्रतिशत पैसा पनि नेपालका केटाकेटीलाई सहयोग जान्छ।'
पेड्रोको साहसिक यात्रा र नेपालीका लागि सहयोग यति मै सीमित छैन। कहिलेकाहीँ उनी पोर्चुगलमै केही रेस गर्छन् वा कहिले कापीहरू बेचेर नेपालमा पैसा पठाउँदा रहेछन्। यही मंसिरमा पनि उनी नेपाल आए। मंसिर ६ गतेदेखि काठमाडौं गेष्ट हाउसबाट उनले माउन्टेन बाइकमा सगरमाथा बेस-क्याम्पसम्म पुग्ने लक्ष्य राखेका थिए।
सहयोग रकम मान्छेहरूसँग उठाउने भएकाले पेड्रोलाई केही रोचक र मान्छेको ध्यान आकर्षित गर्ने काम गर्न मन लाग्छ। यसपटक उनलाई दस हजार नेपालका केटाकेटीलाई खुवाउन तीन हजार युरो संकलन गर्नु थियो। त्यसमाथि अहिलेसम्म पोर्चुगलका नागरिक आधार शिविरमा साइकलमा पुगेको उनले सुनेका थिएनन्। त्यही भएर पहिलो बन्ने चाहना पनि थियो।
आधार शिविरसम्म पुग्न उनलाई ११ दिन लाग्यो। यात्रा क्रममा पाँच हजार मिटर माथिको गोरकसेप पुगेको अन्तिम रात उनलाई लेक लाग्यो। पोर्चुगलमा हिमाल भन्नु नै जम्मा २ हजार ३ सय ५१ मिटर अग्लोसम्म छ। उक्त वातावरणमा हुर्किएका उनलाई यहाँको उचाइ भारी पर्यो।
पेड्रो एकदम कमजोर भएका थिए। खान पनि नसक्ने उनको अक्सिजन घटेर ६१ प्रतिशत पुगेको थियो। यस्तो अवस्थामा माथि चढ्नुभन्दा तल झर्नु नै बुद्धिमानी हो। तर पेड्रो परे जिद्दी।
भोलिपल्ट उठ्दा अलि सन्चो भएको थियो उनलाई। के चाहियो? लसुनको सुप र तातो पानी पिए अनि खल्तीमा बोकेका चक्लेट चुस्दै लागे उकालो।
'एकदम गाह्रो भएको थियो। तर त्यसरी जानु अर्थपूर्ण नै रह्यो,' उनी मुस्कुराए।
डाक्टरले भनेको नमान्ने र आफ्नै शारीरिक कमजोरीलाई पनि जितेर हिँड्ने पेड्रो साहसिकसँगै ज्याद्रो मान्छे जस्ता लाग्छन्।
'तपाईंलाई यस्तो कहिल्यै लागेन?'
यो प्रश्न सोध्दा उनी निकैबेर हाँसे। अनि रोकिए। फेरि मुसुक्क हाँस्दै भने, 'मैले यसबारे कहिल्यै सोचेको थिइनँ। म त केवल आफ्ना चाहना पछ्याउँछु। यदि म कसैलाई सहयोग गर्न सक्छु भने आफू र आफ्नो शरीरले भ्याएसम्म प्रयास गर्छु। त्यसले मलाई आत्मसन्तुष्टि दिन्छ।'
सुरूमा फुटबल खेल्ने पेड्रोले १८ वर्षको उमेरमा फुटबल छाडेर माउन्टेन बाइक र मोटरसाइकल रेस गर्न थालेका थिए। उनी संसारकै दस वटा गाह्रा माउन्टेन बाइक रेसमा हुँइकिन चाहन्छन्। सात देशको त खेलिसके– कोस्टारिका, चिली, क्यानडा, इट्ली, अस्ट्रेलिया, मंगोलिया र नेपालको।
माउन्टेन बाइक र मोटरसाइकलमा आकर्षित हुनुको कारणबारे उनी भन्छन्, 'तपाईं बाइकमा एउटै ठाउँमा हरेक दिन आउन सक्नुहुन्छ तर सधैं फरक पाउनुहुन्छ। कहिले ढुंगा हुन्छ, कहिले खाल्डाखुल्डी। कहिले पानी परिरहेको त कहिले घाम लागेको हुन्छ। त्यही कुराले मलाई लोभ्याएको हो। त्यसबाहेक हामी माउन्टेन बाइकमा जहाँ पनि जान सक्छौं। मैले बाइकमै नेपाल र संसार घुमेको छु जुन एकदम फरक अनुभव हो।'
तीनपटक नेपाल आएका पेड्रो आफ्नो माउन्टेन बाइकमै चितवन, पोखरा, थोराङ्ला पास लगायत ठाउँ पुगेका छन्। गत बुधबार नेपालबाट पोर्चुगल फर्किएका उनलाई फेरिफेरि नेपाल आउन मन छ।
'मलाई नेपालको सँस्कृति एकदम राम्रो लाग्छ। यहाँ राम्रो भू–दृश्य छ। हिमाल, जंगल, समथर भूभाग, नदी सबै छ। र सबभन्दा राम्रा त यहाँका मान्छे छन्, माया र आफ्नोपन देखाउँछन्। त्यही कारण पनि मलाई नेपाल मन पर्छ,' उनले भने।
सबै तस्बिर सौजन्यः पेड्रो बेन्टो