गत मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नम्बर १३ बाफल गाईबाच्छा पाटीमा एक पुरुषको शव फेला पर्यो।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार अच्युतराज पाण्डेको घरमा पहिचान नखुलेका पुरुषको शव जलेको अवस्थामा फेला परेको थियो।
घटना शंकास्पद भएपछि वृत्त, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर टेकु अनुसन्धानमा जुटे। अनुसन्धान गर्दा प्रहरीलाई मृतकको पहिचान खुलाउनै समस्या परेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनी बताउँछन्।
'मृतकको पहिचान नै खुलाउन समस्या भयो। हामीले अनुसन्धान गर्दै जाँदा अहिले ब्रेक थ्रु भएको छ,' उनले भने।
महाशाखाबाट प्रहरी नायब उपरीक्षक कृष्ण चन्दको टोलीले अनुसन्धान गरेको थियो। शवको अनुहार समेत जलेको हुँदा अनुसन्धान गर्न जटिल भएको थियो। शरीरका अन्य भाग पनि जलेको अवस्थामा फेला परेको थियो।
शव फेला परेको खबर धादिङ घर भएका मानव अधिकारीले दिएका थिए। उनी मंसिर ७ गते राति आफ्ना साथीलाई खोज्दै थिए। उनी काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्दै आएका ३३ वर्षीय सुशील शर्मालाई खोज्न हिँडेका थिए। उनीहरू दुबै जना रंगरोगनको काम गर्थे।
उनी बेलाबेला बाफलमा बस्ने गरेको हुँदा मानव सुशीललाई खोज्न त्यहाँ पनि पुगे। खोज्दै जाँदा उनी भित्र गएका थिए। त्यहाँ बाथरूमसम्म पुगेर बत्ती बाल्दा एक जना पुरुषको शव जलेको अवस्थामा फेला परेको हो।
त्यसपछि घटना बाहिर आएको हो। आफ्नो साथीलाई खोज्दै गएका उनले शव सुशीलकै हुनुपर्ने आशंका गरे। उनको भनाइको आधारमा प्रहरीले पनि अनुसन्धान अघि बढायो।
शव पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगियो। प्रारम्भिक अनुसन्धानमा सुशीलको हत्या भएको भन्दै अनुसन्धान अघि बढाए पनि त्यसको भोलिपल्टै उनी ज्युँदै भेटिए।
'हामीले उनी मृतक हुन् भनेर अनुसन्धान अघि बढाएका थियौं। खोज्दै जाँदा ती मान्छे ज्युँदै भेटिए,' प्रहरी उपरीक्षक पंगेनीले भने।
अब प्रश्न उठ्छ त्यसो भने ती शव भेटिएका मान्छे को हुन्?
यसमा चिकित्सककै सहयोगबाटै केही खुल्न सक्छ कि भनेर अनुसन्धान टोली पोष्टमार्टम रूममै पुगेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए। अनुसन्धान गर्न प्रहरीले स्केच बनाउने प्रहरीलाई समेत लिएर पुगेको थियो।
पोष्टमार्टमको क्रममा प्रहरीले मृत्यु कहिले भयो, मृत्युको कारण के हो र मर्ने मान्छेको पहिचान हुन्छ कि भन्ने प्रश्नको जवाफ खोजेका थिए।
घटनास्थलबाट प्रहरीले लुगाका केही भाग, चप्पल बरामद गरेको थियो। ती कपडामा भएको मार्कको पनि प्रहरीले स्केच तयार पारेको थियो।
पोष्टमार्टमबाट ती पुरूषको मृत्यु आगोले जलेर मृत्यु भएको देखिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। सुरूमा बेहोस भएका ती व्यक्तिको पछि जलेर मृत्यु भएको पाइएको उनले बताए।
अनुसन्धानकै क्रममा प्रहरीले त्यहाँका स्थानीयहरूसँग पनि सोधपुछ गर्न थालेको थियो। त्यसैक्रममा एक जना माग्ने बृद्ध केही दिनदेखि देखा नपरेको खुल्यो।
उनी काभ्रे तिमाल गाउँपालिका वडा नम्बर ८ का ७६ वर्षीय हर्कबहादुर बानिया थिए।
'लास देखिएको चार-पाँच दिन अगाडिदेखि नै त्यसक्षेत्रमा देखा परेको छैन भन्ने कुरा आयो। त्यसपछि कतै गएको हो कि भनेर हामीले बुझ्दै थियौं। त्यसक्रममा उनले वृद्धभत्ता पाउँथ्यो भन्ने कुरा आयो,' ती प्रहरी अधिकारीले भने, 'उनको वृद्धभत्ता श्रीमतीले आएर बुझ्ने गर्थिन्। त्यसबाटै हामीले उनको नम्बर पनि पायौं।'
नम्बर पाए पनि दुई-तीन महिनादेखि फोन बन्द थियो। श्रीमती भारतमा रहेको खुल्यो। पछि प्रहरीले फेसबुकमार्फत् उनकी छोरीलाई सम्पर्क गर्यो।
उनले आमा बिरामी भएर भारत आएको र बुवा नेपालमै भएको जानकारी दिइन्।
राष्ट्रिय पञ्जीकरण कार्यालयबाट पनि प्रहरीले उनको पहिचान गराउने प्रयास गरेको थियो। छोरीले सहजीकरण गरिदिएपछि बाफल क्षेत्रमा मागेर हिँड्ने व्यक्ति उनी नै भएको खुल्यो। तर शव उनै व्यक्तिको हो वा होइन भन्ने पुष्टि भइसकेको थिएन।
पहिचान खुलाउने क्रममा हर्कबहादुरका भतिज दीपक बानिया प्रहरीको सम्पर्कमा आएका थिए। उनी केही महिना अघिमात्रै मलेसियाबाट नेपाल आएका थिए।
गत मंसिर १ गतेमात्रै उनले आफ्ना काका हर्कबहादुरलाई बाफलमा भेटेका थिए। भेट सुशीलले नै गराइदिएको प्रहरीले जनाएको छ।
भेट्दा भतिज दीपकले भिडिओ पनि खिचेका थिए। त्यत्तिबेला उनले काकालाई केही पैसा पनि दिएका थिए।
भतिजले काकालाई धेरै पैसा दिएको हुनुपर्छ भन्ने सुशील शर्माले सोचेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। पैसाको लोभ भएपछि सुशिलले हर्कबहादुरलाई मंसिर ३ गते बाफल लग्छन्। उनीहरूले जाँड पनि खाएको प्रहरीको भनाइ छ।
राति हर्कबहादुर सुतेपछि सुशीलले खल्तीबाट पैसा निकाल्न खोजेका थिए। तर उनले थाहा पाए।
त्यही विषयमा उनीहरूबीच विवाद सुरू भयो। सुशीलले हर्कबहादुरलाई हिर्काउँदा उनी बेहोस भए।
'विवाद हुँदा सुशीलले हिर्काउँदा हर्कबहादुर बेहोस भए। पछि आगो लगाएर सुशील त्यहाँबाट भागे छन्,' पंगेनीले भने।
प्रहरीले अनुसन्धानको क्रममा भतिजबाट भिडिओ पाएपछि उनको सनाखत भएको हो। पक्राउ परेका सुशील घटनापछि त्यहाँ फर्किएका थिएनन्। उनी आफ्ना विभिन्न साथीहरूसँग बस्दै हिँडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
उनले घटना स्वीकारिसकेको पनि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।
यसमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।