उनले काखमा बच्चा च्यापेकी थिइन्। छेउमै एक जना पुरुष पलेँटी कसेर बसेका थिए। उनीहरू कसैलाई पर्खिरहेजस्ता देखिन्थे।
सोधीखोजी गर्दा थाहा भयो, २८ वर्षकी सरिता चौधरी र ५५ वर्षीय बजारू चौधरी ससुरा बुहारी रहेछन्। दाङको दंगीशरण गाउँपालिका-६ पर्सडुवाबाट केही दिनअघिमात्रै तुलसीपुर बजार आएका।
सरिताका श्रीमान्, बजारूका छोरा सीताराम चौधरी अहिले काठमाडौंमा प्रहरीको हिरासतमा छन्। मंसिर ३ गते दुबईबाट फर्किएका सीतारामलाई त्रिभुवन विमानस्थलमै प्रहरीले पक्राउ गरेको थियो। उनले लगाएको अन्डरवेयरभित्र एक किलोग्राम सुन भेटिएपछि प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो। उनीसँगै सिरहाका सरोज सहनी पनि अवैध सुन ओसारेको आरोपमा पक्राउ परेका छन्।
दुबईमा अलपत्र परेका सीतारामसँग घर फर्किने पैसा पनि थिएन। मंसिर १ गते उनले श्रीमती सरितालाई फोन गरेर टिकटको व्यवस्था भइसक्यो, अब म नेपाल आउँछु भनेका थिए। सरिता श्रीमान आउने बाटो हेरिरहेकी थिइन्।
बल्लबल्ल टिकट जोहो गरेका श्रीमानसँग त्यति धेरै सुन किन्ने पैसा थियो भन्ने सरितालई पटक्कै विश्वास छैन। उनले जानीजानी तस्करीको सुन बोके होलान् भन्ने पनि सरितालाई लाग्दैन।
उनको मनले ‘निर्दोष र सोझो’ ठानेका सीतारामलाई छुटाउन सकिन्छ कि भनेर अहिले उनी दूधे बालक बोकेर तुलसीपुर पुगेकी हुन्।
हामीले भेट्दा उनका ससुरा-बुहारी लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई भेट्ने आशमा कुरिरहेका थिए।
३० वर्षीय सीताराम गाउँमा अटोरिक्सा चलाएर जिविका चलाइरहेका थिए। परिवारका एक्ला छोरा उनले सहकारीबाट ऋण तानेर अटो किनेका थिए।
केही समयअघि दंगीशरण-७ सिमठानका अनुपविक्रम क्षेत्रीले सीतारामलाई लाखौं कमाइ हुने भन्दै विदेशको सपना देखाए। सीतारामले अनुपविक्रमको कुरा पत्याए। सरिताका अनुसार अटोरिक्सा बेचेर उनी विदेश जान राजी भए।
विदेशको कमाइले ऋण तिरौंला र जग्गा जमिन पनि थपौंला भनेर घर सल्लाह गरी सीताराम गत असोज ५ गते दुबई जान हिँडे।
अनुपविक्रमले नै भिजिट भिसामा उनलाई दुबई पठाए। खर्च दुई लाख लाग्यो। अटो बेचेको पैसा सकियो। यताबाट जाने बेला फुड प्याकिङको काम हो भनिएको थियो।
सीतारामले सरितालाई भनेका थिए- यहाँ त अरू नै काम गर भन्छन् त्यो पनि आज-भोलि भन्दाभन्दै महिना दिन हुन लाग्यो। खाना पनि एक छाकमात्रै दिन्छन्।
सीतारामलाई दुबईमा चित्त बुझेन। घरमा मेहनत गरे खान-लाउन समस्या थिएन। दुबई गएको दुई महिना नपुग्दै उनले सरितालाई आफू घर फर्किन लागेको बताए।
उनी नेपाल त आए तर घर जान पाएन।
‘हामी गाउँघरमा बस्ने, आफ्नो श्रम गरेर खानेहरू कसैलाई फसाउने, दुई नम्बरी काम गर्ने भन्ने कहिल्यै सोच्ने कुरै आउँदैन। मेरा श्रीमानले पनि त्यस्तो कहिल्यै गरेको थाहाँ थिएन,’ सरिताले सेतोपाटीसँग भनिन्, ‘कट्टुभित्र लुकाएर ल्याएको एक किलो सुन उहाँको साथबाट फेला परेको भन्ने खबरले हामी छाँङ्गाबाट खसेझैं भएका छौं। यो असत्य हो।’
सीताराम सुन तस्करको जालोमा परेको हुन सक्ने उनीभन्दा अघि नेपाल आएका उनका साथीहरूले बताएका छन्।
मंसिर २ गते दुबईबाट नेपाल आएका सल्यानका रामबहादुर बस्नेत र दाङका श्यामबहादुर वली (दुबैका नाम परिवर्तन) पनि संयोगले त्रिभुवन विमानस्थलमा पक्राउ पर्नबाट जोगिएका रहेछन्।
यी दुबै जना पनि दलालको विश्वासमा परी भिजिट भिसामा दुबई गएका र भनेअनुसार काम नदिई तल्लो स्तरको काम गर्न लगाएपछि फर्किएर आएका व्यक्ति हुन। आफूहरूलाई एजेन्टले ड्राइभिङको काम मिल्छ र राम्रै कमाइ हुन्छ भन्ने आश्वासन दिएको भए पनि त्यहाँ पुग्दा फरक काम गर्न भनिएपछि फर्केर आएको रामबहादुरले बताए।
बस्नेत र वलीसँग पनि घर फर्किन पैसा थिएन। अलपत्र परेको अवस्थामा एक जना नेपाली युवतीको सम्पर्कमा उनीहरू पुगे। ती युवतीको धन्दा अप्ठेरोमा परेका नेपाली खोज्ने र उनीहरूलाई उपयोग गर्ने रहेछ।
घर फर्कने टिकटको आश्वासन दिएर उनले भारतीय नागरिक ‘गणी’सँग बस्नेत र वलीलाई भेटाइदिइन्।
गणीले प्लेन टिकटको खर्च आफूले व्यहोर्ने र त्यसको बदलामा आफ्नो सामान नेपालसम्म पुर्याइदिन आग्रह गरे। टिकट खर्च नेपाली ३० हजारजति लाग्थ्यो।
कस्तो सामान भनेर बस्नेतले प्रश्न गरे।
गणीले लत्ता-कपडा हो भने। सानो कपडाको झोला पनि उनीहरूलाई दिए।
प्लेन चढ्नुभन्दा पहिला त्यही कपडा लगाउनु पर्छ भन्ने सर्त गणीले राखेका थिए। बस्नेत र वलीले पनि गणीले भनेअनुसार गरिदिए। दुबई विमानस्थलमा उनीहरूले दिएका लुगा लगाए।
उनीहरू चढेको जहाज काठमाडौं आइपुग्यो। त्रिभुवन विमानस्थलमा प्रहरीले रोकेन। उनीहरू फ्रीमा काठमाडौं आउन पाएकोमा दंग परे।
जब उनीहरू विमानस्थलबाट बाहिर निस्किए। हेलमेट र मास्क लगाएका केही युवाहरूले उनीहरूलाई एउटा गाडीमा हाले।
बस्नेतका अनुसार अज्ञात स्थलामा पुर्याएर उनीहरूले बस्नेत र वलीका कपडा खोल्न लगाए। अन्डरवेयर पनि लगेर गए।
बस्नेतले उनीहरूलाई किन अन्डरवेयर पनि खोल्न लगाएको भनेर सोधेछन्।
जवाफमा ती अपरिचित युवाले योभित्र सिलाएको अवस्थामा एक किलो सुन छ भनेर जवाफ दिए।
‘त्यसपछि म झसंग भएँ,’ बस्नेतले भने,‘हामी दुबैको अन्डरवेयरभित्र सिलाएर फिट गरेको अवस्थामा दुई किलो सुन तस्करले पठाएका रहेछन्। त्यो हामीलाई थाहा थिएन।’
अप्ठेरोमा पर्दा तस्करले आफ्नो विवशताको फाइदा उठाएको उनले बताए। आफूहरू भाग्यवस जोगिएको भए पनि सीताराम र सरोज प्रहरीको फन्दामा परेको बस्नेतको ठहर छ।
प्रहरी भने सीताराम र सरोजले थाहै नपाई सुन ल्याए कि तस्करीलाई सहयोग गर्न सुन बोके भन्ने टुंगोमा पुगिसकेको छैन।
‘हामी र भन्सार विभागले अनुसन्धान गरिरहेका छौं,’ विमानस्थलका प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले भने,‘अन्डरवेयरमा एक किलो सुन राखेको कुरा लगाउने मानिसलाई कसरी थाहा हुँदैन?’
उनीहरूमाथि अनुसन्धान भइरहेको र भन्सार ऐनअनुसार कारबाही हुने बास्तोलाले बताए।
त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार सीताराम र सरोजको पहिलो चरणको बयान सकिएको छ।
‘हिजो पहिलो चरणको बयान सकिएर उनीहरूलाई कारागार पठाइएको छ,’ भट्टराईले भने,‘हामी थप अनुसन्धान गरिरहेका छौं।’
पछिल्लो समय दुबईमा सुनका तस्करहरूले दु:ख पाएका नेपालीहरूलाई प्रयोग गर्ने गरेको ‘ट्रेन्ड’ देखिएको भट्टराईले बताए।
पक्राउ परेकाहरूसँग लिएको बयानमा आधारमा यस्तो देखिएको हो। सुन तस्करीको यो जालोमा कति तह छन् भन्ने खुल्न बाँकी रहेको भट्टराईले बताए।
‘सुरूमा यहाँका मध्यस्तकर्ताले भिजिट भिसामा जाऊ, उता गएपछि राम्रो काम गर्न मिलिहाल्छ भनेर पठाउने रहेछन्,’ भट्टराईले भने, ‘उता गएपछि भने उनीहरू काम पाउँदैनन्। बिहान-बेलुका खाना नपाएपछि उनीहरू पार्कतिर दु:खी भएर झोक्राएर बस्छन्।’
त्यसरी दु:ख पाएका नेपालीलाई तस्कर एजेन्टले निशाना बनाउँछन्।
‘दु:ख पाएकाहरूसँग उनीहरू फलानो संस्था वा व्यक्तिले तिमीहरूलाई सहयोग गर्छन् भनेर आश्वान दिन्छन्। यहाँ बसेर काम छैन तिमीहरू अब नेपाल फर्केऊ भन्छन्,’ अभियुक्तहरूले दिएको बयान उल्लेख गर्दै भट्टराईले भने,‘टिकटको व्यवस्था हामी गरिदिन्छौं। हाम्रो अलिकति सामान छ। काठमाडौंमा पुर्याइदिनु भनेपछि सहयोग पाएकाहरू खुसी-खुसी ल्याइदिन्छन्।’
दुबई विमानस्थलमा सुन तस्करले आफूले दिएको लुगा लगाउन भन्छन्। लुगा लगाएपछि उनीहरूको फोटो खिच्छन्। काठमाडौंमा सामान कसलाई दिने हो भन्ने उनीहरू खुलाउँदैनन्। तिमीलाई विमानस्थलमा, रिङरोड वा होटलमा कसैले भेट्छमात्रै भन्छन्।
मान्छे काठमाडौं आउनुअघि विमानस्थलमा उनीहरूले लगाएको लुगासहितको तस्बिर काठमाडौंका एजेन्टको मोबाइलमा पुगिसक्छ।
यसरी विमानस्थलमै लिन आउने मानिस तस्करीमै संलग्न हुन्छन् कि उनीहरूलाई तस्करले प्रयोगमात्र गर्छन् भन्ने खुलिसकेको छैन।
‘अहिलेसम्म पक्राउ परेकाहरूको बयान सुन्दा दु:ख पाएका नेपालीलाई तस्करले उपयोग गर्ने गरेको दखियो,’ प्रमुख भन्सार प्रशासक भट्टराईले भने,‘कानुनले उनीहरू उपयोग भए कि साँच्चै अपराधमा संलग्न छन् भन्ने जान्दैन। गैरकानुनी तरिकाले सामान ल्याएपछि कानुनअनुसार कारबाही गर्नैपर्छ।’
बुधबारमात्रै दुबईबाट आएका एक नेपाल टर्चभित्र सुन बोकेर ल्याएको अवस्थामा पक्राउ परेका छन्।
पछिल्लो समय नेपालीहरू अरूले दिएका सामान ल्याउँदा पक्राउ परेको देखिएको उल्लेख गर्दै भट्टराईले विदेशबाट आउँदा अरूले दिएका सामान नल्याउन अनुरोध गरे।
‘विदेशबाट आउँदा अपरिचित व्यक्तिले दिएको सामान ल्याउँदै ल्याउनु हुन्न, ल्याउनै परे खोलखाल पारेर पूरै हेरेरमात्र ल्याउनु पर्छ, नेपालमा त्यो सामान कसलाई दिने हो पूरा विवरण मागेर सामान ल्याए तस्करको जालोबाट जोगिन सकिन्छ,’ भट्टराईले भने,‘यो आम नेपालीलाई हाम्रो अनुरोध हो।’