दसैंको रौनक भर्खर सकिँदै थियो। दसैं बिदामा बन्द भएका स्कुल खुलेका थिएनन्।
सल्यानको कुमाख गाउँपालिका-५ तिमिलेका १३ वर्षीय दिलाराम खड्का सामान्य घरायसी कामबाहेकको दैनिकी खेलेरै बिताइरहेका थिए।
कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि स्कुल खुल्ने भएकाले दिलारामले पूर्णिमाको दिन आफ्नो गृहकार्य पूरा भए-नभएको जाँच गर्ने योजना बनाएका थिए।
त्यसको अघिल्लो रात दिलाराम, उनकी बहिनी, आमा र बुवा एकै कोठामा सुते। घरमा भएका उनका अरू दुई भाइ अर्को कोठामा सुते।
त्यसैरात १० बजेतिर दिलारामले आफ्नी आमामाथि भएको अप्रिय घटना प्रत्यक्ष देख्नुपर्यो। उनका बुवाले सुतिरहेकी आमामाथि बसिला प्रहार गरेका थिए।
आमा छट्पटाइरहेको र बुवा कराइरहेको थाहा पाएपछि ब्युँझिएका उनले अत्तालिँदै प्रहरीलाई फोन गरे। नजिकैका फुपाजू नाता पर्ने झुपलाल गिरीलाई पनि उनले बोलाए। सुरूमा गिरी पुगे।
‘आमालाई चोट लागेको थाहा पाएपछि सुरूमा प्रहरीलाई फोन गरें, आफन्तलाई पनि बोलाएँ,’ दिलारामले भने, ‘पहिला फुपाजूहरू आउनुभयो, केही घण्टापछि प्रहरी आयो।’
प्रहरी आइपुग्दासम्म उनकी आमाको मृत्यु भइसकेको थियो।
दिलारामका ४७ वर्षीय कविराजले कात्तिक २ गते आफ्नी श्रीमती ४२ वर्षीया श्रीमती कली खड्काको हत्या गरेका थिए।
त्यस दिन कविराजले मादक पदार्थ सेवन गरेका थिए। उनले आफ्नी श्रीमतिको टाउकोमा बसिला प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको थियो।
आमाको मृत्युपछि दिलारामका बुवा कविराज श्रीमतीको हत्या अभियोगमा प्रहरी हिरासतमा छन्।
घरमा भएका दिलारामसहित चार भाइबहिनीहरुको भने बिचल्ली छ। दिलारामसँग भाइबहिनीहरू १० वर्षीया चन्द्रकला खड्का, ८ वर्षीय रमेश र ४ वर्षीय रिमबहादुर छन्।
दिलारामका जम्मा सात भाइबहिनी हुन्। उनीभन्दा अगाडिका तीन जना दिदीहरू अनिता, गीता र झरनाको विवाह भइसकेको छ। जसमध्ये एक जना दिदीको परिवार नै भारतमा बस्ने गरेको छ।
‘बाबुआमा नभएपछि घरमा भएका बच्चाबच्चीको बिचल्ली छ, हामीले गाउँबाट अन्नपात र खर्च उठाएर उनीहरूको छाक टार्ने व्यवस्था गरिरहेका छौं,’ दिलारामका फुपाजू झुपलालले भने, ‘सुरूमा काजकिरिया खर्च पनि ३५ हजारजति गाउँले मिलेर उठाएका थियौं, अब यसरी कति दिन सकिएला र!’
दिलाराम गाउँको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छन्। उनीभन्दा पछाडिकी बहिनी चन्द्रकला कक्षा ५ मा पढ्छिन्। भाइहरूमध्ये रमेश ३ कक्षामा पढ्छन् भने रिमबहादुर बाल कक्षामा पढ्छन्। उनीहरू बालकल्याण आधारभूत विद्यालयमा पढ्छन्।
सधैं कक्षामा प्रथम हुने दिलारामलाई अब आफू र भाइबहिनीको पढाइ छुट्ने डर छ। ‘पहिला बुवाआमा हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ,’ उनले भने, ‘अहिले पनि कहिलेकाहीँ स्कुल त जान्छौं, पहिलेको जस्तो पढ्न जाँगर नै लाग्दैन।’
दिलाराम मात्र होइन, उनका अरू भाइबहिनी पनि पढाइमा उत्तिकै अगाडि छन्। उनीहरू पनि कक्षामा प्रथम हुने गरेको झुपलालले बताए।
उनीहरूको तीन रोपनी जग्गा र चार कोठा भएको एक घर छ। जग्गाबाट भएको उत्पादनले तीन महिना टार्न पनि मुस्किल हुन्छ।
नाजुक अवस्थाको परिवारमा हुर्किरहेका दिलाराम र भाइबहिनी सहयोगको पर्खाइमा छन्। गाउँलेले पनि उनीहरूलाई आवासीय रूपमा पढाइदिने परोपकारी संस्थाको खोजी गरिरहेका छन्।
‘बिहान–बेलुकाको छाक टार्न हामीले खानेकुरा सहयोग उठाएर पुर्याउने गरेका छौं, कहिलेकाहीँ दिदीभिनाजू आएर पनि उनीहरूलाई भेट्ने गर्छन्,’ दिलारामका छिमेकी चित्रपकाश गिरीले भने, ‘यही अवस्थामा उनीहरू दुखः पाइरहन्छन्, पढाइ पनि हुँदैन। त्यही भएर कोहीले संघ-संस्थाको सहयोग खोजिरहेका छौं।’
उनीहरूलाई आवासीय रुपमा पढाईदिन केही संघ-संस्थालाई आग्रह गरे पनि सफल नभएको अर्का छिमेकी युवराज खड्काले बताए। उनका अनुसार उनीहरूको तत्काल समस्या टार्नका लागि सहयोग रकम पनि संकलन गर्ने काम भइरहेको छ।
उनका अनुसार हालसम्म डेढ लाख रुपैयाँ जति सहयोग जुटेको छ। ‘हामीले गरेको पहल अनुसार केही व्यक्तिहरूले सहयोग रकम दिइरहनुभएको छ,’ खड्काले भने, ‘तर उनीहरुको भविष्यको लागि भने पढाइ नै महत्वपूर्ण भएकाले संघ-संस्थालाई आग्रह गरिरहेका छौं।’
दिलारामका बुवा कविराज घर बनाउने मिस्त्री थिए। घटना हुनुअघिसम्म कविराज र कलीबीच खासै ठूलो झगडा नभएको छिमेकी झुपलाल गिरीले बताए।
प्रहरीका अनुसार भने घटना हुनु केही घण्टाअघि श्रीमान, श्रीमतीबीच समान्य विवाद भएको थियो।
‘उनी रक्सी खान्थे, खाए पनि त्यति उपद्रो गर्थेनन्,’ गिरीले भने, ‘कहिलेकाहीँ बिरामी छु पैसा देऊ भनेर श्रीमतीलाई कचकच भने गर्थे, यस्तो अवस्थामा हामीले नसोचेकै घटना भयो।’
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार कविराज अहिले प्रहरी हिरासतमा छन्। उनको मुद्दाको अनुसन्धान प्रतिवेदन बिहीबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पठाइएको छ।
कविराज घटना भएको भोलिपल्ट कात्तिक ३ गते पक्राउ परेका थिए।