पदाधिकारीलाई कामकाजमा रोक लगाएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका छन्।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतसहित निर्देशक र डीनलाई स्वास्थ्य मन्त्रालयले कामकाजमा रोक लगाएपछि ८८ भन्दा बढी कर्मचारीको हस्ताक्षर गरी विज्ञप्ति जारी गर्दै आन्दोलन सुरू गरेका हुन्।
प्रतिष्ठानमाथि हस्तक्षेप भएको भन्दै कर्मचारीले संघर्षका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिएका छन्।
उपकुलपति, रजिष्ट्रारलगायतका पदाधिकारीलाई कामकाजमा रोक लगाउँदा एमबिबिएस, बिएनएस, बिफार्मालगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा समस्या आउने भन्दै कर्मचारीले मन्त्रालयको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
‘राजनीतिक दाउपेज र राज्यबाट भइरहेको हस्तक्षेप प्रतिष्ठानलाई अगाडि बढ्न नदिन रचिएको सुनियोजित षड्यन्त्रका रुपमा हामीले लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ।’
समयमै माग सम्बोधन नभए प्रतिष्ठानको सम्पूर्ण टिम संघर्षका कार्यक्रमसहित आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।
प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अर्को निर्णय नभएसम्म कामकाजमा रोक लगाएका थिए।
मंगलबार उक्त पत्र प्रतिष्ठानमा पुगेको उपकुलपति रावलले सेतोपाटीलाई बताए।
रावल २०७७ चैत २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका थिए।
त्यसअघि कर्णालीसहित पाटन स्वास्थ्य विज्ञान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्ने प्रक्रिया नमिलेको भन्दै सर्वोच्चमा रिट परेको थियो।
उक्त रिटका आधारमा अदालतले चैत २० गते यी संस्थामा तत्कालका लागि पदाधिकारी नियुक्ति प्रक्रिया रोक्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक पदाधिकारीका अनुसार अदालतको उक्त अन्तरिम आदेशसहितको चिठी चैत २७ गते प्रधानमन्त्री कार्यालयले र ३१ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुझेको थियो।
‘सरकारले हामीलाई अगाडि नै नियुक्त गरिसकेको थियो, हामीले कामकाज पनि सुरु गरिसकेका थियौं,’ ती पदाधिकारीले भने, ‘सरकारले आदेश भएको मितिभन्दा पनि म्याद तामेली भएको मितिलाई हेर्ने हो, अहिले हामीलाई राजनीतिक पूर्वाग्रह साँध्न काम नगर्नू भन्ने पत्र आएको छ।’
पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा तत्कालीन स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति थियो। उक्त समितिले यी तीन प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको हो।