पाटन, मंगलबजारको एउटा घरमा शुक्रबार राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।
शुक्रबार ६ बजेर ४५ मिनेटमा ललितपुर महानगरपालिका-१२ स्थित मंगलबजार चक्रबहिको एउटा घरमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।
साढे तीन तलाको पुरानो घरमा अचानक भएको आगलागी चार जनाको ज्यान गएको महर्जनले बताए। आगलागीको कारण खुलिसकेको छैन।
आगो लागेको घर लक्ष्मीकृष्ण ताम्राकारको हो। मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल रहेको मंगलबजार प्रहरी प्रभागले जनाएको छ। छोरा ४२ वर्षका निरज ताम्राकार र ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार घाइते छन्। सिर्जनाको अवस्था गम्भीर छ।
'आगलागी कसरी भयो भन्ने खुलेको छैन। अहिले मृतक सबैको नाम पनि पाइसकेका छैनौं,' उनले भने।
घटनास्थल पुगेका प्रहरीका अनुसार उक्त घरमा १० जना व्यक्ति थिए। तीमध्ये दुई जना घाइते छन्। उनीहरूलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ।
(थप विवरण आउँदैछ।)