बिहीबार बिहान करिब साढे ४ बजे ललितपुरको प्रहरी प्रभाग बाडेगाउँका प्रहरीले कसैले गुहार मागिरहेको सुने। गुहार माग्ने आवाज एक महिलाको थियो।
चिच्याउँदै आएकी ती महिला उदयपुर घर भई ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १३ झरूवासीमा बस्दै आएकी २७ वर्षीया मुना मगर थिइन्। उनले ब्ल्यांकेट ओढेकी थिइन्।
मुना बचाऊ-बचाऊ भन्दै चिच्याएर प्रहरी प्रभाग अगाडिको बाटोसम्म आइसकेकी थिइन्।
गुहार मागिरहेको आवाज सुनेपछि तत्कालै प्रहरीहरू प्रभागबाट बाहिरिए। प्रभाग प्रमुख प्रहरी निरीक्षक सुजितकुमार ओझा पनि बाहिर निस्के।
ओझाका अनुसार मुनाको चिउँडोदेखि तलको शरिर जलेको देखिएको थियो।
मुनालाई असह्य पीडामा देखिएको उनले बताए। उनी आफूलाई दुख्यो भन्दै कराइरहेकी थिइन्।
'उहाँ बिहान साढे ४-५ बजेतिर बचाऊ-बचाऊ भन्दै चिच्याएर आएको सुन्यौं। तत्कालै बाहिर निस्केर हेर्दा मुखदेखि तल जलेको देखियो,’ उनले भने, 'ब्ल्यांकेटजस्तो कपडा बेरेर आउनुभएको थियो'
उनलाई तत्कालै उनलाई प्रहरीको गाडीमा हालेर अस्पताल पुर्याइयो। सुरूमा मेडिसिटी लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि कीर्तिपुर अस्पताल रिफर गरियो।
त्यतिञ्जेल उनीमाथि कसरी आगो लाग्यो, कसले लगायो भन्ने खुल्न सकेको थिएन।
'पहिला उपचार गराउन गाडीमा राखेर नजिकैको मेडिसिटीमा लग्यौं। त्यहाँ उपचार हुन सकेन,' उनले भने, 'रिफर गरिदिनू भनेपछि कीर्तिपुर अस्पताल पुर्यायौं।'
मुना बोल्न सक्ने अवस्थामै थिइन्। पीडामा रहेकी उनले बोलेका शब्द पनि राम्ररी बुझिन्थेनन्।
अस्पतालमा घटनाबारे प्रहरीले उनलाई सोध्यो।
आफूमाथि श्रीमानले आगो लगाएको मुनाले बताइन्। त्यत्तिञ्जेल महानगरीय प्रहरी परिसर ललितपुर र मातहत कार्यालयलाई खबर भइसकेको थियो। श्रीमानको नाम लिएपछि प्रहरीले श्रीमानको खोजी गरी बिहानै पक्राउ गर्यो।
गोदावरी नगरपालिका वडा ११ चापागाउँ घर भई वडा १३ झरूवासीस्थित बस्ने उनका २८ वर्षीय श्रीमान राजु देसारलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार श्रीमान-श्रीमती दुबै जना इँटा भट्टामा काम गर्थे।
मुना र राजुको विवाह करिब चार वर्षअघि विवाह भएको थियो। उनीहरूकी तीन वर्षकी छोरी पनि छन्।
राजु मादकपदार्थ सेवन गर्ने गर्थे। गएराति पनि उनले रक्सी खाएका थिए।
'श्रीमानले मापसे गरेका थिए। त्यहिबेला श्रीमानले मट्टितेलले आगो लगाएको भनेका छन्,' परिसर प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले भने।
गएराति उनी रक्सी खानकै लागि घरबाट दुई पटक बाहिर गएका थिए। पहिल्यै रक्सी खाएर घर आएका राजुसँग मुनाको विवाद भएको प्रहरी स्रोतले जनायो।
राजुले फेरि रक्सी खाएर आएपछि आफूमाथि मट्टितेल खन्याएर आगो लगाएको मुनाको भनाइ छ। राजुले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेको प्रहरी उपरीक्षक महर्जनले बताए।
'श्रीमतीले श्रीमानले आगो लगाएको भनेकी छन्। श्रीमानले भने श्रीमती आफैंले मट्टितेल खन्याएको भनेका छन्,' उनले भने, 'श्रीमतीले आफैं मट्टितेल खन्याएर जलाएको भए अस्पताल किन नलगेको भनेर पनि सोध्दा उनी बोलेनन्।'
मुना प्रहरी प्रभाग पुग्दा उनको शरिरमा आगो निभिइसकेको थियो। राजुको हातमा पनि केही जलेको देखिएको छ। उनको मेडिकलमा सामान्य उपचार गरिएको छ।
मुनाको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार उनको शरिर ४० प्रतिशत जलेको छ। बोल्न सक्ने भए पनि अवस्था गम्भीर नै रहेको महर्जनले बताए।
'उहाँले बोल्न सके पनि गम्भीर हुनुहुन्छ। भन्न सकिन्नँ,' उनले भने।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। मुनाका परिवार पनि प्रहरीको सम्पर्कमा आइसकेका छन्।