सुर्खेतको वीरेन्द्रनगरमा धेरै उज्यालो शक्ति भएका ‘हाई-मास’ बत्ती जडान गरिएको छ। बजारका १२ ठाउँमा हाई-मास लाइट जडान गरी सञ्चालनमा आइसकेका छन्।
वीरेन्द्रनगर बजार क्षेत्रका वीरेन्द्र चोक, मंगलगढी चोक, एरिचोक, घण्टाघर चोक, कालुङ्गचोक, बसपार्क लगायतका ठाउँहरूमा हाई-मास लाइट जडान गरिएको हो।
१ करोड २० लाख रुपैयाँ लागतमा वीरेन्द्रनगर नगरपालिकाले विभिन्न ठाउँमा १२ वटा यस्ता बत्ती जडान गरेको हो।
बिजुलीबाट चल्ने यो बत्तीहरू बाल्दा लाग्ने विद्युत महसुल र पोलको भाडा वीरेन्द्रनगर नगरपालिकाले नै व्यहोर्ने उपमेयर मोहनमाया ढकालले बताइन्।
उनका अनुसार विद्युत र पोल भाडा गरी एउटा पोलको मासिक १० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। १२ वटा बत्तीको शुल्क मासिक १ लाख २० हजार रुपैयाँ हुनेछ।
नगर उज्यालो कार्यक्रममार्फत जडान गरिएको हाई-मास लाइटहरु उज्यालो र सुरक्षा दुबैलाई मध्यनजर गरी स्थान छनोट गरिएको ढकालले बताइन्।
‘उज्यालो र सुरक्षाको हिसाबले उपयुक्त हुने गरी स्थानीय र प्रशासनको सल्लाहमा स्थान छनोट गरिएको हो। सुब्बाकुनादेखि बांगेसिमलसम्मको मुख्य राजमार्गलाई प्राथमिकतामा राखेर चोकहरूमा लाइट जडान गरिएको हो,’ उनले भनिन्, ‘त्यसपछि बढी मानिसको आवतजावत वा भिडभाड हुने ठाउँ, बजारका ठूला चोकहरूलाई केन्द्रित गरिएको छ।’
बजारमा राखिएका सिसी क्यामराहरूमा भिडियो कैद गर्नका लागि पनि हाई-मास लाइट उपयुक्त भएकाले सुरक्षालाई मध्यनजर गरी विशेष स्थान छनोट गरिएको उनले बताइन्।