ललितपुरको टीकाभैरवमा मृत फेला परेका २९ वर्षीय राजकुमार ब्लोनको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ।
गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित देवीचौर कटुवाल दहचोकस्थित जंगलमा गत सोमबार उनको शव फेला परेको थियो। उनको हत्या आरोपमा प्रहरीले २८ वर्षीया श्रीमती रोजिना भुलुनसहित चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए।
उनीसँगै मृतकका साढुभाइ ३० वर्षीय ज्यानकुमार स्याङ्तान, उनकी श्रीमती २५ वर्षीय सुनिता स्याङ्तान र २४ वर्षीय लक्ष्मी भुलुन पक्राउ परेका छन्।
राजकुमार ब्लोनको शव सोमबार बिहान आठ बजे फेला परेको थियो। स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलबाट सुरूमा शवसँगै प्रहरीले खुकुरीको बिँड फेला पारेको थियो।
राजकुमारको घाँटी र टाउकोमा चोट देखिएको थियो।
मकवानपुरका राजकुमार ललितपुरमा सामान्य ज्याला मजदुरीको काम गर्थे। उनी टीकाभैरवमा साढुभाइसँग बस्थे। उनकी श्रीमती रोजिना पनि ज्याला मजदुरी गर्थिन्। उनीहरूका पाँच जना छोराछोरी छन्।
उनीहरूबीचको सम्बन्ध राम्रो थिएन। रक्सी खाएर राजकुमारले रोजिनामाथि कुटपिट गर्ने गरेको प्रहरीले बताएको छ।
घरेलु हिंसाकै कारण राजकुमारको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
राजकुमारले अत्याधिक रक्सी खाने र श्रीमतीमाथि कुटपिट गर्ने हुँदा रोजिनाले हत्या गर्ने योजना बनाएको परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताइन्।
'मृतक पैसा पायो कि रक्सी खाइहाल्ने खालका रहेछन्। नपाए श्रीमतीको सुन मागेरै भए पनि रक्सी खाने, फेरि आएर श्रीमतीमाथि कुटपिट गर्ने गरेको खुलेको छ,' उनले भनिन्।
कहिले अरू पुरूषसँग बोलेको निहुँमा त कहिले रक्सीको मातमा उनले दिनहुँजसो कुट्ने गरेको प्रहरीले जनाएको छ।
त्यसरी दिनहुँजसो कुटपिट हुन थालेपछि उनले आफ्नो पीडा ज्यानकुमार, सुनिता र लक्ष्मीलाई सुनाएकी थिइन्।
त्यसपछि उनीहरूले राजकुमारको हत्या नै गर्नुपर्ने निष्कर्ष निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
त्यसै क्रममा लक्ष्मीले आफ्नो सम्पर्कमा रहेका मनोज सार्कीको सहयोग लिने बताइन्। मनोज र लक्ष्मी गार्मेट उद्योगमा काम गर्थे। उनीहरू 'लिभिङ टुगेदर'मा बसिरहेको प्रहरीले जनाएको छ।
उनलाई हत्या गर्न लगाउँदा केही दसैं खर्च भनेर पनि दिने कुरा भएको प्रहरी स्रोतले बताएको छ। उनले उक्त रकम भने लिइसकेका छैनन्।
'पैसा दिएको कुरा ठ्याक्कै खुलेन। सुरूमा उनीहरूबीच दसैं खर्च भनेर पाँच हजार र पछि ५० हजार दिने पनि कुरा भएको भनेका छन्,' स्रोतले भन्यो, 'तर दिएको वा लिएको खुलेन।'
प्रहरीले शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा सुरूमा साढुभाइ ज्यानकुमारलाई पक्राउ गर्यो। उनीमाथि सोधपुछ गर्दै जाँदा हत्या गर्ने मुख्य आरोपित उदयपुर घर भएका मनोज सार्की भएको खुल्यो।
आइतबार राति करिब साढे नौ बजेदेखि ११ बजेको बीचमा उनीहरूले हत्या गरेको बयान दिएका छन्।
घटना भएको ठाउँ राजकुमारको घर जाने बाटो पनि पर्थ्यो।
हत्या गर्न लक्ष्मी र मनोज सँगै गएका थिए। त्यस क्रममा लक्ष्मी र रोजिनाबीच बारम्बार कुराकानी भइरहेको देखिएको छ। उनीहरूको फोन डिटेल्सका अनुसार उनीहरूबीच चार बजेदेखि राति नौ बजेसम्म पटक-पटक कुरा भएको देखिएको छ।
लक्ष्मी र मनोज राति बाटोमा ढुकेर बसिरहेका थिए। उनीहरू र राजकुमारबीच भेट भएपछि केहीबेर झगडासमेत भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए।
'भेटेपछि उनीहरूबीच झगडा सुरू हुन्छ। मनोजले खुकुरी लगेको थिए त्यसैले हाने,' उनले भने,' साढु भाइ पनि त्यहाँ आइपुगेका थिए।'
झगडा सुरू भएपछि लक्ष्मी र साढुभाइ ज्यानकुमार पछि हटेको खुलेको छ। मनोजले खुकुरी हानेपछि भने उनीहरू भागेको प्रहरीले जनाएको छ।
प्रहरीले ज्यानकुमार पक्राउ परेको भोलिपल्टै अरू तीन जनालाई पनि पक्राउ गरिसकेको थियो। मनोज फेला परेका थिएनन्।
अनुसन्धानकै क्रममा प्रहरीको टोली घटनास्थलमा प्रमाण खोज्न पुगेको थियो। प्रमाण खोज्न जाँदा प्रहरीले एउटा शव फेला पार्यो। राजकुमारको शव फेला परेको घटनास्थल भन्दा दुई सय मिटर पर अर्को शव भेटियो। त्यो शव आरोपित मनोज सार्कीको थियो।
शव सडकबाट तीनदेखि चार सय फिट तल फेला परेको थियो। प्रहरीले घटनास्थलबाट फोन र खुकुरी पनि फेला पारेको छ।
प्रहरीले सुरूदेखि नै उनलाई मुख्य आरोपित बनाएर अनुसन्धान अघि बढायो। शव फेला परेपछि उनको पनि हत्या भएको हो कि भन्ने आशंका गरेको थियो। तर उनको हत्या भएको जस्तो नदेखिएको एसएसपी बज्राचार्यले बताइन्।
उनको शव पोष्टमार्टमको लागि ललितपुरको पाटन अस्पतालमा पठाइएको थियो। पोष्टमार्टमको रिपोर्ट अनुसार उनको पनि राजकुमारको हत्या भएकै रात मृत्यु भएको खुलेको हो।
'उनीहरूको दुई सय मिटर पर शव फेला परेको थियो। उनीहरूको केही समयको फरकमा मृत्यु भएको देखिन्छ,' अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, 'त्यहाँ उनी नयाँ मान्छे पनि थिए। रातिको समय पनि थियो। त्यसैले हतारमा भाग्दै गर्दा लडेर मृत्यु भएको देखियो।'
प्रहरीले उनको भिसेरा परीक्षण गर्ने तयारी थालेको छ। उनले त्यो बेला मापसे गरे/नगरेकोबारे अनुसन्धान गर्न भिसेरा गराउन लागेको एसएसपी बज्राचार्यले बताइन्।
उनलाई अरूले मार्नु पर्ने कारण पनि नखुलेको हुँदा पनि उनको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने उनले बताइन्।
यो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।